विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा प्रदेश १ सरकार बनेको एक साता पुरा भएको छ । दुई चरणमा ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएकोमा ६ जना नै मन्त्री विनाविभागीय छन् ।
पुस २५ गते मुख्यमन्त्रीसँगै सपथ लिएका एमालेको तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला तथा जसपाकी निर्मला लिम्बूले मन्त्रालयको जिम्मेवारी पाएका छैनन् । यस्तै ३० गते नियुक्त भएका माओवादीका दुर्गाप्रसाद चापागाई, जीवन आचार्य र एमालेका बुद्धिकुमार भण्डारीपनि विनाविभागीय नै छन् ।
कार्की नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले १३ वटा मन्त्रालय घटाएर ९ वटा बनाउने निर्णय गरेको छ । तर, त्यसको लागि मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्नुपर्नेमा त्यो काम हुन सकेको छैन । कुन मन्त्रालय कुनमा गाभ्ने भन्नेबारे निर्णय गर्न कार्यविभाजन नियमावली संशोधन गर्नुपर्नेमा त्यसको होमवर्क अझै नभएको मुख्यमन्त्री कार्यालयका एक उच्च कर्मचारीले बताए । ‘मन्त्रिपरिषदले शैद्धान्तिक निर्णय गरेको हो । तर, त्यसको लागि न कुनै समिति बनेको छ र न होमवर्क नभएको छ’ उनले भने, ‘मन्त्रालय कसरी घटाउने भन्नेबारे सरकारमा सहभागी दलहरुबीच पनि सहमति भएको देखिन्न ।’
पुस ३० गते दोस्रो चरणको मन्त्रिहरुको सपथ कार्यक्रमपछि मुख्यमन्त्री कार्कीले सोमबारसम्म मन्त्रीहरुले जिम्मेवारी पाउने बताएका थिए । तर, अहिलेसम्म त्यसको कुनै छनक देखिएको छैन ।
मन्त्रीहरुले जिम्मेवारी नपाएकोले उनीहरु मुख्यमन्त्री कार्यालयमै पदबहाली गरेका थिए । विभागीय जिम्मा नपाउँदा उनीहरु बेकामे बनेका छन् । विनाविभागीय मन्त्रीहरुको मन्त्रिपरिषद बैठकमा सहभागी हुने बाहेक कुनै काम हुँदैन । तर, उनीहरु विराटनगरमै बस्दा सरकारले होटलको व्यवस्था गर्नुपरेको छ ।
एमालेका मेन्याङ्बो, राप्रपाका सिटौला र जसपाकी लिम्बूलाई मुख्यमन्त्री कार्यालयले विराटनगरको महंगो होटल विगमा राखेको छ । मुख्यमन्त्रीको निजी सचिवालयका कर्मचारी बस्ने कार्यकक्षमा पदबहाली गरेका विनाविभागीय मन्त्रिहरुको खाना र बास भने विग होटलमा छ ।
मुख्यमन्त्री कार्यालयमा यसअघिका मुख्यमन्त्रीको प्रमुख सल्लाकार बस्ने कार्यकक्षमा जसपाकी मन्त्री लिम्बू बसेकी छन् । यस्तै राजनीति सल्लाकारको कार्यकक्षमा राप्रपाका मन्त्री सिटौला बसेका छन् । प्रमुख सचिवको कार्यकक्षमा तिलकुमार र स्वकीय सचिव बस्ने कोठामा बुद्धिकुमार राजभण्डारी बसेका छन् ।
मिनी हलमा माओवादीका चापागाईँ र उपसचिब पुरुषोत्तम ढकालको कार्यकक्षमा जीवन आचार्य बसेका छन् । मन्त्री कार्यकक्षमा राखेपछि उपसचिव ढकाल भने कार्यालयबाहिर नै बस्ने गरेका छन् । मन्त्रीहरूले झण्डावाला गाडी पाए पनि जिम्मेवारी पाएका छैनन् ।
मन्त्रीहरुले विभागीय जिम्मेवारी नपाएकोले उनीहरुको क्वाटर कहाँ रहने भन्ने पनि निश्चित छैन । पछिल्लो चरणमा नियुक्त भएका तीन मन्त्रीहरुमध्ये राजभण्डारी आफन्तको घरमा बसिरहेका छन् भने आचार्य विराटनगरस्थित आफ्नै घरमा बसिरहेका छन् । चापागाईं भने सपथपछि गृहजिल्लातिर लागेका छन् । त्यसो त मुख्यमन्त्री कार्की पनि यसअघि बस्दै आएको निजी घरमै बसिरहेका छन् ।
झापाका सिटौला र ताप्लेजुङका मेन्याङ्बो विराटनगरको विग होटलमा बसिरहेका छन् । ताप्लेजुङकी लिम्बू पनि विगमै बसेकोमा दुई दिनअघि जिल्लातिर लागेकी छन् । विग होटलमा एक मन्त्रीलाई राख्न दैनिक १३ हजार ५०० रुपैयाँको कोठा लिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
मन्त्रीद्वय मेन्याङ्बो र सिटौलाका लागि मुख्यमन्त्री कार्यालयले दुई वटा कोठा लिएको छ । दुई वटा कोठाको मूल्य २७ हजार दैनिक तिर्नुपर्छ । पिएसओ तथा सचिवालयका अन्यलाई सुताउन छुट्टै २ कोठाको व्यवस्था मिलाइएको छ । ती कोठाको ४ हजार ६ सयदेखि ५ हजार ९ सयले करिब १० हजार पर्छ । यसरी एक मन्त्री र उनको सचिबालयको लागि मुख्यमन्त्री कार्यालयले २३ हजार भन्दा बढि होटलमा तिरिरहेको छ ।
प्रदेश १ मा हाल आर्थिक मामिला तथा योजना मन्त्रालय, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय, कृषि मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय, उद्योग, श्रम तथा रोजगार मन्त्रालय र यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय छन् ।

