पथरी । प्रथम हाङ यलम्बरको स्मृतिमा स्थापित यलेदुङ नव वर्ष बनाउने क्रममा किरात राई यायोक्खाका नेताहरुले प्रदेशको नाम किरात राख्न माग गरेका छन् ।

किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङले आइतबार पथरी साकेला थानमा आयोजना गरेको कार्यक्रमका सहभागीले झुटो मुद्दा लगाएर रेशम चौधरीलाई जेलमा राखिएको भन्दै तत्काल रिहा गर्न पनि माग गरे ।

किरात नाम साम्प्रदायिक नभएर कैलाश, कैरात हुँदै किरात भएकोले यो नामले प्रदेशबासीको भावना समेटिने उनीहरुको भनाइ थियो । किरात इतिहास, भूगोल, संस्कृति र सभ्यताको आधारमा प्रस्ताव गरिएको भन्दै १ नं. प्रदेश सभा र सरकार तयार हुनुपर्ने नेताहरुले बताए ।

कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले नेपाल सबै जातजातिको साझा फूलबारी भएकोले एक आपसमा प्रेम भाव र सबैको भावनाको इज्जत, सम्मान गर्नुपर्ने बताए । किरात राई यायोक्खा केन्द्रीय उपमहाचिव अर्जुन जम्नेली राई, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतम, १ नं. वडा अध्यक्ष भीमकुमार राईलगायतले कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रथम हाङ यलम्बरको मूर्तिमा मालाअर्पण, हण्डिफोर, म्युजिकल चेयर्स, बेलुन फुटाइ खेलमा प्रतिस्पर्धा गराउनुको साथै बृद्धाबद्धालाई सम्मान, चियापान र साकेला नृत्य प्रस्तुत भएको थियो । हण्डिफोर खेलमा गजेन्द्र राई, म्युजिकल चेयर्समा कला राई र बेलुन फुटाइ खेलको प्रथमहुने बिकिसा राईलाई पुरस्कार प्रदान गरिएको थियो ।