पोखरा । पोखराको सेती खोंचमा आइतबार बिहान भएको दुर्घटनामा परेको यति एयरलाइन्सको जहाजमा पोखराका पत्रकार त्रिभुवन पौडेल पनि रहेको खुलेको छ ।

दुर्घटनाग्रस्त जहाजमा पत्रकार त्रिभुवन पौडेल पनि रहेको पत्रकार महासंघ कास्की अध्यक्ष विमला पौडेलले जानकारी दिएकी छन् ।

पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्षसमेत हुन् । काठमाडौंमा प्रेस सेन्टरको बैठकमा सहभागी भएर उनी पोखरा फर्कँदैथिए ।

दुई दशकदेखि पत्रकारितामा संलग्नउनले यसअघि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षको जिम्मेवारी पनि पूरा गरिसकेका छन् । दुर्घटनामा परेकाहरुको यात्रुको सूचीमा उनको पनि नाम छ।

जहाजमा रहेको जानकारी आएपछि उनको फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेको छैन । उनको फोन अफ देखिएको छ । यद्यपी उनको अवस्थाबारे आधिकारिक पुष्टि भइसकेको छैन ।