काठमाडौं । सरकारले आज पोखरामा भएको यती एयरको विमान दुर्घटनाको छानबिन तथा जाँच आयोग गठन गरेको छ ।
बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो । आयोगलाई ४५ दिनको समय सीमा उपलब्ध गराइएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार सदस्यहरूमा हवाईविज्ञ अवकाश प्राप्त दीपकप्रकाश बाँस्तोला, हवाईविज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा र सदस्य सचिवमा पर्यटन मन्त्रालयका बुद्धिसागर रहेका छन् । दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने विषयमा सुझावसहितको प्रतिवेदन बुझाउन आयोगलाई म्याण्डेट दिइएको मन्त्री पौडेलले बताए ।
मन्त्रिपरिषद् बैठकले विमान दुर्घटनाको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिएको छ । काठमाडौंबटा पोखरका लागि उडेको यती एयरको जहाज ७२ जना यात्रुसहित दुर्घटनाग्रस्त बनेको थियो ।
जहाज अवतरण गर्ने क्रममा करिब ११ बजे फेवा खोँचमा दुर्घटना भएको हो ।