विराटनगर । प्रदेश नं. १ सरकारको मन्त्रिमण्डलमा जीवन आचार्यलाई मन्त्री नियुक्त गरिएकोमा सहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेसनले आपत्ती जनाएको छ।

आचार्यलाई मन्त्री नियुक्त गर्दा जनभावना र अहिलेको वस्तुगत आवश्यकतालाई ख्याल नगरेको भन्दै फाउन्डेसनले निर्णय सच्याउन पनि माग गरेको छ ।

जातीय, क्षेत्रीय, वर्गीय तथा योगदान एवम् लाल र निपूण, सबै हिसावले आचार्यभन्दा धेरै योग्य अन्य सांसदलाई पाखा लगाइएको आरोप फाउण्डेशनको छ । फाउन्डेसनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ का ज्वाँई आचार्यलाई मन्त्री नियुक्त गरिनुले नेतृत्वप्रतिको जनविश्वास घटाएको तथा पद र शक्तिको लागि निर्लज्ज निर्णय गर्ने बिकृत अभ्यासलाई प्रेरित गरेको ठहर गरेको छ।

‘यो माओवादी संस्कृती हैन। औपचारिक तर्क गरेर यसको दोष अरू कसैलाई दिन सकिएला । तर, त्यसो गर्नु सर्वथा गलत हुन्छ, औपचारिकता र अमूर्तताको बहसले शुद्धिकरण र रुपान्तरण सम्भव छैन। व्यवहारतः यसको सम्पूर्ण जिम्मेवारी कमरेड प्रचण्डलाई जान्छ र उहाँले नै लिनु पर्छ’, विज्ञप्तिमा भनिएको छ । माओवादी आन्दोलनमा नेतृत्वको योगदान उल्लेख्य रहेको भएपनि आन्दोलन र परिवर्तनको लागि हजारौं सपूतहरूको बलिदान र लाखौंको समर्पण रहेको भुल्न नहुने विज्ञप्तिमा जनाइएको छ ।

इतिहास बदल्न बलिदान दिने सपूतहरुका सन्तती हुनुको नाताले यो फाउण्डेशन र यसका सदस्यहरुले पनि आवश्यक पर्दा इतिहाँसको रक्षार्थ बगेको रगत जस्तै प्रष्ट देखिने र छुइने भाषामा बोल्नुपर्ने फाउण्डेशनले जनाएको छ । लोभी आँखाहरुबाट त्यागी इतिहासको रक्षा हुन नसक्ने भन्दै फाउन्डेसनका महासचिव अटल आचार्यद्वारा जारी विज्ञप्तिमा सिंढी बनाउने हो भने सबैभन्दा पिधलाई प्राथमिकता दिएर पिंधबाट क्रमशः थाल्नुपर्ने र सिंढी सफा गर्न सबैभन्दा माथिबाट थाल्नु पर्ने माओको भनाइ स्मरण गर्नुपर्ने उल्लेख गरिएको छ ।