विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।

दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि कार्कीले प्रस्ताव पेस गर्ने कार्यसुची छ ।

प्रदेशसभा सचिवालयले मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम ४ बोजिम प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तथा निर्णयार्थ प्रस्तुत हुने कार्यसूची सार्वजनिक गरेको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बारेको पत्र प्रदेशसभा सचिवालयमा मंगलबार दर्ता गराएका थिए ।

संविधानको धारा १६८ को उपधारा ४ मा उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा कार्की पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । यसरी नियुक्त भएको मुख्यमन्त्रीले नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएपनि कार्कीले एक साता नपुग्दै विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको प्रस्तावमाथि सभाको निणर्य मत विभाजनद्वारा हुने व्यवस्था छ । मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादी पार्टीका १ गरी ६० प्रदेश सांसदको समर्थन रहेकोले उनले सहजै विश्वासको मत प्राप्त गर्नेछन् ।

मुख्यमन्त्री कार्कीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी) सँग पनि विश्वासको मत मागेका छन् ।