विराटनगर । विराटनगरमा तेस्रो नेवाः महोत्सव तथा पर्यटन हाट हुने भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसरभित्र तेस्रो नेवाः महोत्सव हुने भएको हो ।
विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी माघ ६ र ७ गते तेस्रो नेवाः महोत्सव हुने जानकारी गराएको छ । महोत्सव नेवारी खानाका परिवारको साथै अन्य विभिन्न सामुदायहरूको परिवार पनि राखिने कार्यक्रम संयोजक तथा झी पुचः का वरिष्ठ उपाध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा २० वटा खानाको परिकारसहितको स्टल रहनेछ भने साँस्कृतिक कार्यक्रम पनि हुनेछ । ‘खानाको परिकार बाहेक पर्यटक हाट पनि हुनेछ । यहाँ स्वेदशी उत्पादनहरू अलैची, भोजपुरको खुकुरी, छुर्पीलगायतका स्टलहरू पनि हुनेछ,’ उनले भने, ‘हामीले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण गरेका हस्तकलाको सामाग्रीहरूको पनि स्टल राख्ने तयारी गरिएको छ ।’
दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा ५ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखेको झीः पुच का अध्यक्ष हरिबहादुर श्रेष्ठले बताए । महोत्सव सम्पन्न गर्न ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यसअघि पहिलो पटक भव्य रुपमा नेवाः महोत्सव २०६८ सालमा र दोस्रो २०७२ सालमा भएको थियो । कोभिड १९ ले रोकिएको यो महोत्सव अहिले हुन लागेको तेस्रो हो ।
नेपाल सम्वत् ११०१ अर्थात वि.स. २०३८ सालमा झीः पुच विराटनगर स्थापना भएको थियो । संस्थाले नेपाल सम्वत्को नयाँ वर्ष (न्हुँ दः), वेल विवाह, ब्रतबन्ध, गाई जात्रा जस्ता सांस्कृतिक कार्यक्रमहरु सामूहिक रुपमा आयोजना गर्दै आएको छ ।

