विराटनगर । प्रदेश १ को उपसभामुखको निर्वाचन पुस ३० गते हुने भएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले उपसभामुखको निर्वाचन पुस ३० गते बिहान ११ बजेका लागि तोकेका हुन् ।
सभामुख गौतमले उपभामुखको निर्वाचनको कार्यसुची सार्वजनिक गर्न प्रदेशसभा सचिबलाई निर्देशन दिएका छन् । उपसभामुखको मनोनयन शुक्रबार हुनेछ ।
सत्तारुढ दलको भागबन्डामा प्रदेश १ को उपसभामुख नेकपा एमालेको भागमा परेको छ । एमालेले उपसभामुखमा भोजपुरकी सिर्जना राई वा उदयपुरकी सिर्जना दनुवारलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
सभामुखमा उम्मेदवारी नदिएको नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । तर, त्यसबारे निर्णय हुन बाँकी रहेको संसदीय दलका नेता उद्धब थापाले बताएका छन् ।
संविधानको धारा १८२ को उपधारा (१) मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरूले प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था छ । संविधान अनुसार सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला अनिवार्य तथा फरक दलको हुनुपर्छ ।

