विराटनगर । विराटनगरबाट सञ्चालित नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक २४ वर्षीय शहेन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताब पुर्पक्षको लागि जेल चलान भएका छन् ।

अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अङ्गभङ्ग मुद्दामा पक्राउ परेका खात्ताब मोरङ अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजालशले बिहीबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका हुन् । अदालतको आदेशपछि खत्ताब मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर  बुढाथोकीले जानकारी दिए ।

खत्ताबका कार चालक विराटनगर १५ भट्टा टोल बस्ने २५ वर्षीय अजय भन्ने जय कुमार रामलाई १ लाख धरौटिमा छोडन अदालतले आदेश दिएको उनले बताए ।

विराटनगरका उद्योगपति अरुणकुमार राठीलाई अपहरण गरी कुटपिट गरेको आरोपमा सोमबार खत्ताबविरुद्ध अपहरण तथा शरीर बन्धक र कुटपिट तथा अङ्गभङ्गको मुद्दा दर्ता भएको थियो ।

झन्डै एक महिना लामो अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय मोरङले खत्ताबविरुद्धको प्रतिवेदन शुक्रवार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । मोरङ प्रहरीले सञ्चालक खत्ताबलाई विराटनगर १ बाट मङ्सिर २९ गते पक्राउ गरेको थियो ।

राठीको अपहरण आरोप लागेपछि र जाहेरी प्रहरीमा पुगेपछि खत्ताब दुई साता फरार भएका थिए।

खत्ताबले अन्तर्वार्ताको बहाना बनाएर राठीलाई मङ्सिर १४ गते नेपाल टाइम्सको स्टुडिओमा लगेर शरीर बन्धक बनाई १५ लाख रुपैयाँ असुलेको आरोप छ।

आफूलाई अपहरण गरी शरीर बन्धक बनाएको भन्दै विराटनगर ७ का ५६ वर्षीय राठीले प्रहरीमा जाहेरी दिएका थिए।

खत्ताब विराटनगर ६ मा बस्दै आएका छन्। उनको घर सिरहा नगरपालिका ४ हो।

विगत तीन वर्षदेखि राठीलाई खत्ताबले मिडियामा पार्टनर बनाएका थिए। उक्त मिडियामा राठीको २० प्रतिशत अर्थात् ५ हजार कित्ता सेयर छ।

अपहरणबाट मुक्त गर्दा खत्ताबले उजुरबाजुर गरे ज्यान मारिदिने धम्की दिएका थिए। स्टुडियोमा लगेर खत्ताबले राठीलाई तारले बाँधेर ‘क्यामराको ब्यागमा पेस्तोल रहेको र जिन्दगी एउटा गोली न हो’ भनी धम्की दिएर चेक कटाएको अभियोग पत्रमा उल्लेख छ ।