विराटनगर । नेपाली काँग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले प्रदेशसभा नियमावली विपरीत प्रदेशसभा बैठक सञ्चालन गरिएको भन्दै आपत्ती जनाएका छन् ।

बिहीबारको प्रदेशसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले प्रदेशसभा नियमावलीलाई बेवास्ता गरेर सदन सञ्चालन गरिएको दावी गरे ।

प्रदेशसभामाको बिहीबारको बैठकमा आफूले बोल्नखोज्दा पनि प्रदेशसभा सचिवालयले रोक लगाएको कार्कीको गुनासो छ । प्रदेशसभामा नियमावली विपरीत बैठक सञ्चालन भएको विषयमा आवाज उठाउन खोज्दा बोल्न रोक लगाएको उनले बताए ।

सरकारसँगको सेटिङमा प्रदेशसभा सचिवालयले नियमावली विपरीत सदन सञ्चालन गरेको कार्कीको आरोप छ । प्रदेशसभा नियमावलीको नियम ५ बमोजिम पहिलो बैठकमा दलका प्रतिनिधिहरूले बोल्नुपर्नेमा त्यसको उल्लंघन भएको उनले बताए । दलका नेताहरूलाई दोस्रो बैठकमा बोल्न दिँदाको अवस्थामा नियमावलीको नियम ५ निलम्बन गर्नुपर्नेमा त्यसो नगरिएको उनको भनाइ छ ।

प्रदेशसभा सचिवालका सचिव गोपालप्रसाद पराजुलीले भने सर्वदलीय बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्री नियुक्त भएपछि दलका नेताहरूलाई बोल्ने व्यवस्था गरिएको बताएका छन् । उनले पहिलो बैठकमा नेताहरुले बोल्ने अनिवार्य व्यवस्था नभएको र ‘बोल्नसक्ने’ मात्र उल्लेख भएकोले नियमन निलम्बन नगरिएको दावी गरे ।

बिहीबारको बैठकमा कार्कीले विषेश समय माग गरेको भएपनि प्रदेशसभा नियमावली अनुसार नै उनलाई समय दिन नसकेको पराजुलीको भनाइ छ । विषेश समयको माग दलको नेताले गर्नुपर्नेमा प्रदेशसभा सदस्यको हैसियतमा रहेका कार्कीले माग गर्दा उपलब्ध गराउन नमिल्ने उनले बताए ।