विराटनगर । सत्ता साझेदार दलहरुले गरेको सहमति अनुसार नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमत्री बनिसकेका छन् भने आज माओवादी केन्द्रका नेता बाबुराम गौतम सभामुख बन्दैछन् । सभामुखमा एकल उम्मेदवारी परेका कारण गौतम निर्विरोध सभामुख बनिसकेका छन् तर निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने काम बाँकी छ ।

राजनीतिक पार्टीहरुबीच केन्द्रीय तहमा भएको भागबण्डा अनुसार अब उपसभामुखको मात्र टुंगो गर्न बाँकी छ । सत्ता साझेदार दलहरुबीच उपसभामुख पद नेकपा एमालेको भागमा परेको छ । नेकपा एमालेले अहिलेसम्म उपसभामुखको उम्मेदवारहरुको बारेमा चर्चा गरेको छैन । बिहीबार सभामुखको निर्वाचन सम्पन्न भएलगतै ३० गते उपसभामुखको निर्वाचन गर्ने निर्वाचन तालिका सार्वजनिक भइसकेको छ । त्यसका लागि प्रदेशसभा सचिवालयले शुक्रबार उपसभामुख पदको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने गरी तालिका प्रकाशन गर्नेछ ।
संविधानको धारा १८२ को उपधारा ९१० मा प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले प्रदेश सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने व्यवस्था रहेको छ ।

संविधानको धारा १८२ को उपधारा (२) मा उपधारा (१) बमोजिम प्रदेश सभामुख वा प्रदेश उपसभामुखमध्ये एक जना महिला र फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ व्यवस्था छ । सभामुखका लागि पुरुषको उम्मेदवारी परेसँगै उपसभामुखमा महिला उम्मेदवार बनाउनुपर्ने अवस्था छ ।

उपसभामुख पाएको नेकपा एमालेमा उदयपुरकी सिर्जना दनुवार, भोजपुरकी सिर्जना राई, मोरङकी मालती सुब्बा र झापाकी तारा ढकाल प्रमुख दाबेदार रहेको बताइएको छ । उपसभामुखका लागि पार्टीभित्र चार जनाको नाम चर्चामा आएपनि दनुवार र राईमध्ये एक जनालाई पार्टीले अगाडि सार्नसक्ने अनुमान गरिएको छ । उनीहरु चारैजना नेकपा समानुपातिक प्रणाली अन्तरगत निर्वाचित भएका सांसदहरु हुन् ।९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना प्रदेश संसद आवश्यक पर्छन् । हाल कायम रहेको गठबन्धनमा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० जना प्रदेशसभा सदस्य छन् ।