विराटनगर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले आज यादवलाई नियुक्तको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख मिश्रसमक्ष ६३ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित यादवले बुधबार दिउँसो मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए। उनलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत, राप्रपा, नेपाल संघीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। यस्तै स्वतन्त्र प्रदेशसभा सदस्यहरू सुरिता साह र अनिरूद्द सिंहले समेत उनलाई समर्थन गरेका छन् ।

मधेश प्रदेश सभामा १०७ जना सांसदहरू रहेकोमा सरकार गठनका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ। प्रदेश सभामा नेकपा एमालेका २३, जनमत पार्टीका १३, जसपाका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ सदस्य तथा स्वतन्त्र २ प्रदेशसभा सदस्यहरूसहित कूल ६३ जनाले यादवलाई समर्थन दिएका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते अपरान्ह ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेका थिए।