“राष्ट्रियताका सन्दर्भमा अध्ययन गर्दा नेपालको इतिहासमाथि दृष्टिपात गर्नु आवश्यक हुन्छ । इतिहासले यस सम्बन्धमा के भन्छ ? वर्तमान नेपालको गठन गोर्खाका एउटा राजा पृथ्वीनारायण शाहको विजय–अभियानको सफल परिणाम हो । अठारौँ शताब्दीमा हिन्दुस्तानी भूभागमा मुगल साम्राज्यको अन्त्यपछि उत्पन्न अशान्ति र अस्थिरताको स्थितिको लाभ उठाउँदै अनेकौँ राजा–महाराजा, जागिरदार तथा साहसी सरदारहरू आ–आफ्नो क्षेत्रको विस्तार र नयाँ–नयाँ राज्यको गठनमा तँछाड–मछाड गर्दै लागेका थिए । पृथ्वीनारायण शाह पनि त्यस्तै एउटा राजा हुन् । उनी आफ्ना छिमेकका राजा–रजौटाहरूभन्दा बढ्ता साहसी तथा उनका सेना–सञ्चालकहरू अधिक दक्ष र रणकौशल थिए । पृथ्वीनारायण शाह तथा उनका उत्तराधिकारीको तत्कालीन उद्देश्य गोरखा राज्यको विस्तारभन्दा बढी अरू केही पनि थिएन । त्यसलाई राष्ट्रिय एकताको अभियान थियो भनेर एउटा ऐतिहासिक महत्त्व दिन खोज्नु गलत हुनेछ । त्यस समयामा नेपाली राष्ट्रियता भन्ने भावना वा कल्पनासम्म पनि थिएन । त्यो त पछि उदय भएको एउटा ऐतिहासिक तत्त्व हो ।”

“त्यस समयमै ब्रिटिस–साम्राज्यको जग पनि बस्न थालेको थियो । हिन्दुस्तानी उपमहाद्वीपका राजारजौटाहरूबिच राज्यविस्तारको चलिरहेको तत्कालीन राजनीतिकि परिस्थितिबाट फाइदा उठाएर अङ्ग्रेजले ब्रिटिस साम्राज्यको स्थापना गर्न सफलता पाएका थिए । अङ्ग्रेजहरूले ब्रिटिस साम्राज्यको स्थापनाको प्रक्रियामा आफ्नो बृहत्तर स्वार्थको हितलाई ध्यानमा राखेर हिन्दुस्तानको आर्थिक दृष्टिले लोभलाग्दो अधिकांश भागलाई त आफ्नो कब्जामा पारे, बाँकी रहेका भागका सम्बन्धमा पनि स्थानीय शासकहरूसँग विभिन्न प्रकारका सन्धि गरे । ती सन्धिहरू कुन अर्थमा समेत असमान थिए भने ती सन्धिद्वारा देशी शासकलाई धेरथोर लाभ प्राप्त भएको भए पनि तदनुरूप उनीहरूले टक््रयाउनुपर्ने सम्मान, तोप र सलामीको सङ्ख्या निर्धारित गरिएको थियो । यसरी अङ्ग्रेजले श्रेणीबद्ध ढङ्गले भारतीय भूगोलमा रहेका राज्यमा सम्बन्धको एउटा जाल बुनेर राखेका थिए । उनीहरूले त्यस अवस्थामा नेपाललाई सबैभन्दा ठुलो र सम्मानित स्थान दिएका थिए । अनि क्रमशः निजाम, कश्मीर र बडौदा आदिको स्थान आउँथ्यो । सुगौली सन्धिले गोरखा राज्यविस्तारको अभियान समाप्त पा¥यो । गोरखा राज्यको विस्तार राष्ट्रिय एकताको अभियान थिएन । त्यस समयका शासकहरू न नेपाली राष्ट्रिय भावनाले प्रेरित थिए; न त गोरखा राज्यविस्तारको यन्त्र, गोरखापल्टनका सिपाही वा अफिसरहरू नै राष्ट्रवादी थिए । गोर्खाली राजाहरूले विजय–अभियान प्रारम्भ गरेका थिए र तिनीहरूको चरित्र राष्ट्रिय नेताको होइन, विजेताको थियो । तसर्थ विजित (आफूले जितेका) देशहरूका राजा र प्रदेशहरूसँग कहिल्यै कोमल व्यवहार गरिएन । काठमाडौँका नेवार प्रजाहरूलाई अद्यापि त्यसको गुनासो छ ।”

“राष्ट्रियताका सन्दर्भमा पहिलो र अन्तिम निर्णय गर्ने तत्त्व जनता नै हो । राष्ट्रियता जनताको सामूहिक भावनालाई लक्षित गर्ने शब्द हो । समय–समयमा प्रकट हुने व्यापक समस्याहरूलाई सामूहिक रूपमा समाधान गर्नुपर्दा सहजै उत्पन्न हुने एकताको जनभावना नै राष्ट्रियता हो । राष्ट्रियताको यस परिभाषामा व्यापक समस्या, तिनको समाधानको सामूहिक प्रयत्न र त्यस प्रयत्नबाट सहज किसिमल उत्पन्न हुने भावनात्मक एकता गरी तीन तत्त्व सामेल छन् । अर्को शब्दमा (१) जनता (२) जनताका अगाडि उपस्थित समस्या (३) त्यस समस्यालाई सबैले मिलेर समाधान गर्ने सामूहिक प्रयत्न र (४) त्यस प्रयत्नमा अनुभव भएको एकताको भावना नै राष्ट्रियताका तत्त्वहरू हुन् । राष्ट्रियतालाई यसरी विचार गर्दा भूगोलको भूमिका गौण भएर जान्छ ।”

“कुनै पनि विजेताले देशहरूमाथि विजय हासिल गरिसकेपछि आफ्नो लक्षण र गुण कायम राख्तै विजित (जितिएका) देशहरू वा भूभागहरूमाथि आफ्नो प्रशासन–यन्त्र कायम गर्नुपर्छ । शाह शासकहरूले पनि त्यही काम गरे । तिनीहरूले विजित नेपाली भूभागमा आफ्नो प्रशासन कायम गरे, तर विजेताको आफ्नो लक्षण र गुण–दोषलाई कायमै राखे । २०० वर्षपछि आजसम्म पनि नेपालका राजाले विजेताको आफ्नो स्वरूप छाड्न सकेका छैनन् । र, जनता पक्षकाले प्रजाको अधिकारको चर्चा गर्दा वा अधिकारका लागि आवाज उठाउँदा राजा र प्रजाका प्रतिनिधिहरू एउटै थलोमा उभिने कुरा गर्दा उनीहरू दमनको सिकार हुनुपर्छ । कतिपय दरबारियाहरूले राजाले जनतालाई दमन गर्ने अभियानमा पल्टनको प्रयोग गर्दा राजाको साहसी कदम र राजमुकुटलाई दाउमा राखेको कुरा पनि गर्नसक्छन् । मानौँ, देश नेपालीहरूको नभएर राजाको पैतृक सम्पत्ति हो । ‘राजमुकुट’ राष्ट्रिय प्रतीक नभएर राजाको व्यक्तिगत शिरशोभा हो । यो बहुमूल्य भएकाले उनलाई हारजितका दाउमा राख्ने अधिकारप्राप्त छ ।”

“गोर्खालीहरूको विजय–अभियानमा अप्रत्यासित रूपले एउटा ठुलो ऐतिहासिक कार्यका रूपमा नेपालको वर्तमान विस्तार गरेपछि गोरखा–पल्टन र त्यसका नेतागण अरू कुनै ऐतिहासिक जिम्मेवारीका अभावमा दरबारको षड्यन्त्रको हत्कन्डा वा हतियार बन्न पुगेको पाइन्छ । राष्ट्रिय भावनाको सृजना नभएकाले तिनीहरू राष्ट्रिय सेनामा परिणत हुन सकेनन् ।”

शासक (शाहवंशीय) र उनका अनुयायीले देशमा राष्ट्रियताको निर्माणका लागि आफ्नो सक्रियता देखाएनन् भन्ने मात्र मेरो उद्देश्य हो । उनीहरूबाट विभिन्न जाति र धर्मावलम्बीको ठुलो नेपाली जमातलाई राष्ट्रका रूपमा गठन गर्ने प्रयास भएन । नेपालका शासक (शाहवंशीय)–ले नेपाली समाज र देशको हितको ध्यान राखेको भए सबैभन्दा पहिला उनको प्रयास नेपाली राष्ट्रियताको सृजना गर्नपट्टि लाग्ने थियो ।……… उक्त ऐतिहासिक विश्लेषणका प्रकाशमा जहिलेसुकै नेपालको एकतन्त्रीय (शाहवंशको) शासन–व्यवस्थाका विरूद्ध आवाज उठ्यो, त्यो राष्ट्रियताको आवाज थियो भन्न सकिन्छ । नेपालको ऐतिहासिक सन्दर्भमा एकतन्त्रीय शासन वा हुकुमी राज्य राष्ट्रियताको घातक हो ।”

                                                                                                                                   साभारः– विश्वेश्वरप्रसाद कोइराला, प्रतिनिधि संकलन