विराटनगर । प्रदेश १ प्रदेशसभाको सभामुख चयनको कार्यतालिका आज सार्वजनिक हुँदैछ । उक्त कार्यतालिका अनुसार आजै सभामुखका उम्मेद्वारको मनोनयन हुनेछ । प्रदेश १ प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि आव्हान भएको छ । उक्त बैठकले सभामुखको निर्वाचनको मिति तोक्ने कार्यक्रम छ ।
नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आज निर्वाचन कार्यतालिका सार्वजनिक हुने र मनोनयन आजै हुने जानकारी दिए । सभामुखको निर्वाचन भने आगामी २८ गतेका लागि तोकिएको छ ।
यता, प्रदेश १ को सरकारको नेतृत्व एमाले र सभामुख माओवादीले पाउने गरी यसअघि नै केन्द्रमा सहमति भइसकेको छ । सोही अनुसार एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ का मुख्यमन्त्री भएका छन् । सभामुखमा भने माओवादी केन्द्रले दिएको उम्मेद्वारीलाई एमालेले समर्थन गर्नेछ । माओवादी स्रोतले दिएको जानकारी अनुसार ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम गौतमलाई माओवादी केन्द्रले सभामुखको उम्मेद्वार बनाउने तयारी गरेको छ । ‘अहिलेसम्मको अवस्थामा हाम्रो पार्टी र संसदीय दलमा बाबुराम गौतमको नाममा सहमति भएको हो,’ माओवादीका एक सांसदले भने, ‘परिस्थिति परिवर्तन नभए उहाँ नै हाम्रो उम्मेद्वार हो ।’
यसअघि माओवादी केन्द्रबाट सभामुखमा संखुवासभा क्षेत्र नम्बर १ का सांसद राजेन्द्र कार्कीको नाम सार्वजनिक भएको थियो । कार्कीले सभामुख भन्दा मन्त्री बन्ने इच्छा देखाएको कारण बाबुराम गौतम नै सर्वसम्मत उम्मेद्वार बन्ने सम्भावना बढेको हो । माओवादी केन्द्रबाटै सभामुखमा महिला सांसद गीता तिम्सिनाले पनि दाबी गरेकी छिन् । यद्यपि उनलाई माओवादी केन्द्रले उम्मेद्वार बनाउने सम्भावना कम रहेको बताइएको छ । गौतम नै सभामुखको उम्मेद्वार बनेको खण्डमा उनलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाका १ गरी ६० सांसदको समर्थन प्राप्त हुनेछ । ९३ जना सांसद रहेको प्रदेश १ मा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । ६० सांसदको समर्थन प्राप्त भए गौतम प्रदेश १ को दोस्रो सभामुख बन्नेछन् ।
नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले भने सभामुखको उम्मेद्वार छुट्टै उठाउने कि संयुक्त भन्ने विषयमा सहमति नभएको बताइएको छ । काँग्रेसले अहिलेसम्म सभामुखको उम्मेद्वारको टुंगो लगाएको छैन ।

