विराटनगर । प्रदेश १ को नयाँ सरकार गठनका लागि सत्ता साझेदार दलका नेताहरुबीच छलफल भएको छ ।
सत्ता साझेदार दल नेकपा एमाले संसदिय दलका नेता हिक्मतकुमार कार्की र नेकपा माओवादी केन्द्रका संसदिय दलका नेता ईन्द्र बहादुर आङ्बोबीच नयाँ सरकार निर्माण र सत्ता साझेदारीबारे छलफल भएको हो ।
प्रदेश १ सरकारको मुख्यमन्त्रीको लागि आज ४ बजे दाबी पेश गर्ने तयारी गठबन्धन दलहरुबीच भएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। त्यसअघि ४ बजे प्रदेश प्रमुखसामू मुख्यमन्त्री दाबी गर्ने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जनाएका छन् ।
प्रदेश १ सरकारको नेतृत्व एमालेबाट हिक्मतकुमार कार्कीले गर्नेछन् ।
झापा ५ को क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित कार्की एमाले स्थायी कमिटी सदस्य हुन्। उनी प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका थिए।
प्रदेश १ को मुख्यमन्त्री दाबी गरिरहेको नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बसिरहेको छ । त्यसपछि गठबन्धनको बैठक बस्ने तयारी छ ।
पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आव्हान गरेका थिए। ९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट छ। केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ।

