विराटनगर । सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएका हुन् ।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा भएको कार्यक्रममा सरकारलाई समर्थन गरेका दलका नेताहरु पनि सहभागी थिए । न्यूनतम साझा कार्यक्रमको मस्यौदा उपप्रधानमन्त्री पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल, राप्रपाका महामन्त्री धवलशम्शेर राणा, जसपाका नेता रकम चेम्जोङले तयार गरेका हुन् ।
प्रतिवेदनमा सरकार सञ्चालनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारका प्राथमिकता निर्धारण गरिनुका साथै सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषयहरू समेटिएको कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए। मस्यौदालाई उच्चस्तरीय संयन्त्रले छलफल गरेर आवश्यकता अनुसार परिमार्जनसहित सार्वजनिक गर्नेछ ।

