विराटनगर । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषद्ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्न सिफारिस गरेको छ । अब त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकले चुनावको मिति तोक्नेछ । २०६५ सालदेखि स्ववियु निर्वाचन हुन सकेको छैन ।
लामो समयपछि निर्वाचनको मिति तोकिन लागेको भएपनि चुनाव नै हुनेमा आफूहरु विश्वस्त नरहेको विद्यार्थी नेताहरु बताउँछन् । अनेरास्ववियुको महेन्द्र मोरङ क्याम्पसका नेता नविन पहाडीले अहिले पनि निर्वाचन प्रस्ताव गरेको मितिमा हुनसक्ने सम्भावना कमजोर रहेको बताए । ‘चुनाव हुनुपर्छ भन्ने हाम्रो माग हो । चुनाव हुँदा कलेजमा चलायमान हुने वातावरण बनाउँथ्यो । विद्यार्थीमा नेतृत्व पाउँदा शैक्षिक गुणस्तर वृद्धिमा पनि अहम भूमिका खेल्न सक्थ्यो भन्ने मलाई लाग्छ,’ उनले भने ।

अनेरास्ववियु क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसकी नेतृ आशिका लम्सालले पनि निर्वाचन भइहाल्ने परिस्थिति आफ्नो क्याम्पसमा नरहेको बताइन् । ‘विद्यार्थीमा खासै निर्वाचन भइजान्छ भन्ने विश्वास छैन,’ लम्सालले भनिन्, ‘पटक पटक मिति सर्ने, गुटगत समस्याका कारण निर्वाचन सार्ने चलखेल यसअघि पनि भएका थिए, यस पटक पनि हुँदैन भन्ने देखिँदैन । त्यसकारण विद्यार्थीमा खासै विश्वास छैन ।’

नेविसंघ महेन्द्र मोरङका सभापति जसवन्त पौडेलले पनि सबै क्षेत्रमा निर्वाचन हुँदा स्ववियु निर्वाचन हुन नसकेको भन्दै असन्तुष्टि जनाए । यद्यपि मिति सिफारिस भएको कारण निर्वाचन हुनुपर्ने आफ्नो संगठनको माग रहने बताए । ‘हामी त निर्वाचन होस् भन्ने चाहना राख्छौं, निर्वाचन हुनुपर्छ, विभिन्न क्षेत्रको निर्वाचन हुन्छ, विद्यार्थीको हितका लागि स्ववियु निर्वाचन चाहिं किन हुँदैन,’ उनले भने, ‘अब निर्वाचन गराउनु पर्छ ।’
महेन्द्र मोरङ क्याम्पसका पूर्व स्ववियु सभापति सागर थापा भने निर्वाचन नहुँदा विद्यार्थीका हक अधिकार कटौती भइरहेको बताउँछन् । ‘स्ववियु मार्फत विद्यार्थीको आन्दोलनबाट स्थापित भएका विद्यार्थीका हक अधिकारलाई विद्यार्थीमा वितरण हुन्छ । त्यहाँभित्र पाउने सेवा सुविधाको कुरा छन् । स्ववियु नेतृत्व बिहीन हुँदा त्यो अधिकार अहिले कटौती हुँदै गएको छ । त्यहाँ प्रशासनिक डिल कसले गर्ने ? स्ववियु नभएपछि विद्यार्थी संगठन पनि कमजोर हुन्छ,’ थापा भन्छन् ।

स्ववियु निर्वाचन पार्टीहरुलाई चाहिने असल योग्यता, क्षमता भएको कार्यकर्ता उत्पादन गर्ने नर्सरी पनि भएको थापाको भनाइ छ । ‘त्यो नर्सरी नै बन्द भएपछि असल नेताको उत्पादन हुँदैन । आजका दिनमा पनि ठूला पार्टीमा हेर्ने हो भने नयाँ खालको अनुहार देखिँदैन । हिंजो ०६२–०६३ भन्दा अगाडि गणतन्त्र ल्याउन लागेका विद्यार्थी नेता अहिले पार्टीका नेता भएका छन् । अहिले नामका विद्यार्थी नेता उत्पादन भएपनि त्यसले नेता भएर सिक्ने धेरै कुरा सिक्न पाएको छैनन्,’ उनी भन्छन् ।

राजनीतिक पार्टीहरु पनि नयाँ नेतृत्व आयो भने कतै हामी त विस्थापित हुँदैनौं भन्ने कुराले पनि काम गरेको छ कि भन्ने प्रश्न गर्दै थापाले स्ववियु निर्वाचन नहुनुको प्रमुख कारण राजनीतिक पार्टी नै भएको दाबी पनि गरे । ‘राजनीतिक पार्टीले अहिले विश्वविद्यालयको भिसीलाई बोलाएर निर्वाचन गराउ भन्दिने हो भने निर्वाचन हुन्छ । अर्को कुरा विद्यार्थी संगठनभित्र भएका गुटबन्दीको समस्याले पनि निर्वाचन हारिन्छ भन्ने डरले बरू चुनाव नै नगर्ने भन्ने तिर गएको देखिन्छ,’ उनी भन्छन्, ‘आगामी चैत ५ गतेको निर्वाचन हुनुपर्छ । राजनीतिक पार्टीको इच्छा बेगर यो निर्वाचन हुन्छ जस्तो मलाई लाग्दैन । त्यसको मार विद्यार्थीलाई पर्छ । नयाँ नेता उत्पादन नहुँदा समाजलाई असर गर्छ ।’