विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलमा उद्धव थापा निर्वाचित हुने अनुमान गरेका थिए । तर, उनी पहिलो चरणमै नेता चयन हुनेमा शंका थियो । किनकी संस्थापन पक्षबाट थापासँगै अमृत अर्याल पनि उम्मेदवार थिए । संस्थापन इतर अर्थात् शेखर कोइराला पक्षबाट उम्मेदवार बनेका एकमात्रै उम्मेदवार केदार कार्की भएपनि उनले सबै कोइराला क्याम्पको भोट पाउनेमा शङ्का थियो । त्यस आधारमा संस्थापन इतरका कार्कीले पहिलो राउण्ड नजित्ने प्रष्टै थियो भने थापा र अर्यालमा देउवा र सिटौला पक्षका सांसदहरु बाँडिदा कांग्रेसको विधान अनुसार ५१ प्रतिशत मत कसैले पनि पाउने सम्भावना थिएन । तर, परिणाममा भने थापाले २९ सांसदमध्ये १८ जनाको मत पाए । अर्का उम्मेदवार केदार कार्कीले ९ र अमृत अर्यालले २ मत मात्रै पाए ।

निर्वाचित भएका थापा कांग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् । यद्यपि उनलाई अन्तिम समयमा पार्टी सभापति शेरबहादुर देउवाले सहयोग गरेको मत परिणामबाट प्रष्ट हुन्छ । यस्तै कार्की संस्थापन इतर पक्ष (शेखर कोइराला)का हुन् । उनले अपेक्षित नै परिणाम हात पारेका छन् । तर, संस्थापन पक्षकै नेता अर्यालले भने अनपेक्षित मत हात पारे । अझै भन्ने हो भने अर्यालले प्रस्ताव र समर्थक कै मत पाएनन् । अर्यालको प्रस्तावकमा डोल्मा तामाङ र समर्थकमा सुनिताकुमारी गुरुङ (राम) थिए । दुवै जना समानुपातिक सांसद हुन् । अर्यालको समर्थकमा बसेकी गुरुङले अन्तिममा केदार कार्कीलाई नै मत दिएको बताइन्छ ।

कांग्रेसको बाग्मती प्रदेशको संसदीय दलमा शेरबहादुर देउवा र शेखर कोइरालाको ग्रुपले बहादुर लामालाई सघायो, गगन र विश्वप्रकाशले इन्द्र बानियालाई सहयोग गरे । शेरबहादुर र शेखर मिलेर बानियाँलाई हराएको बदलामा प्रदेश १ मा शेखर पक्षलाई हराउन थापा र विश्वप्रकाश मिलेको कोइराला पक्षको दाबी छ । बाग्मती प्रदेशमा विजयी बहादुर लामा तथा कांग्रेस नेतृ डिना उपाध्यायाहरू शेखर कोइराला क्याम्पमा आउन खोजिरहेको सो पक्षको दाबी छ ।

संघीय संसदको संसदीय दलमा शेखर कोइरालालाई पाखा लगाउँदै दलको नेतामा लडेका थापाले लज्जास्पद परिणाम हात पारेका थिए । यद्यपि उनले प्रदेशका ७ वटै संसदीय दलमा आफ्नो उम्मेद्वार उठाउन सकेनन् । ‘देउवा विरुद्धमा लागेको उद्घोष गर्ने गगन थापाले प्रदेशमा आफ्नो उम्मेदवार किन बनाउन सकेन । उसँग स्टण्ड मात्रै हो । स्ट्याण्ड छैन । राजनीतिमा स्ट्याण्ड चाहिन्छ,’ कोइराला क्याम्पका एक नेताले भने । शेरबहादुर देउवालाई पार्टी खत्तम ग¥यो भन्ने अनि प्रदेश १ मा उनै सभापतिको योजनामा बल पुग्ने गरि सहमति गरेको सो पक्षको आरोप छ ।
प्रदेश १ मा थापा र शर्माले संस्थापन इतरलाई सहयोग गरेको खण्डमा संसदीय दलको नेतामा विजयी बनेका उद्धव थापालाई भोट दिने झापाका लेखिकुमारी गणेश र गोपाल तामाङ, ताप्लेजुङका खगेन सिंह हाङ्माङ, सुनसरीकी सुनिता गच्छादार र ममता मगर तथा मोरङका मानबहादुर लिम्बूले कार्कीलाई भोट हाल्ने थिए । यस्तै भोजपुरका विनोद वान्तवा राई र इलामको खगेश्वरीले पनि संस्थापन इतर पक्षलाई नै भोट दिने सम्भावना थियो ।

दलको निर्वाचन हुनुभन्दा अघिल्लो दिनसम्म मोरङका मानबहादुर लिम्बू ‘शेरबहादुर देउवाको टिमलाई भोट दिन्न पार्टी बर्बाद बनायो, संस्थापन इतर पक्षलाई भोट दिने हो’ भन्दै फोन गरिरहेका थिए । तर, उनै लिम्बूले अन्तिम समयमा कार्कीलाई भोट दिएनन् । ताप्लेजुङका खगेनसिंह लिम्बूले अघिल्लो दिनसम्म उद्धब थापालाई भोट नदिने भन्दै भोट नमाग्न चेतावनी दिएका थिए । ‘जब विश्वप्रकाश शर्मा र गगन थापाले भोजपुरका विनोद वान्तवा राईलाई सुराकी गर्न पठाएर मान्छे कन्ट्रोल गरे त्यसपछि परिणाम उल्टियो,’ सो पक्ष दाबी गर्छ ।

कोइराला पक्षका भनिएका भोजपुरका विनोद राईले कोइराला क्याम्पकै बैठकमा सहभागी भएर सबै सूचना थापा र शर्मालाई पु¥याउने काम गर्थे । भोजपुरका कांग्रेस सभापति समेत रहेका विनोद राई शेखर कोइरालाकै ग्रुपबाट जिल्ला सभापतिमा जितेका थिए । चुनाव जिताउन पनि राईलाई कोइरालाले आर्थिक सहयोग पनि गरेका थिए । शेरबहादुर देउवाकै एउटा ग्रुप भने केदार कार्कीलाई जिताउन लागिरहेको थियो । दलको निर्वाचन हुनुभन्दा अघिल्लो दिनसम्म हिमाल कार्कीलगायतले प्रत्यक्ष निर्वाचितलाई मात्रै दलको नेता बनाउने लविङ पनि चलाएका थिए । उद्धव थापा भने समानुपातिबाट निर्वाचित सांसद हुन् ।

शेरबहादुर देउवाको हातबाट केन्द्रबाट गठबन्धन तोडिएको र उनी पक्षका सबै निराश भएको अवस्थामा विश्वप्रकाश र गगनले संस्थापन इतरलाई सहयोग गर्ने मनशाय राखेको भए दलका नेता थापा सहजै पराजित हुने कोइराला पक्षको अनुमान थियो । तर, अनुमान विपरीत थापा र शर्माबाट भएको खेलले आफूहरु पराजित हुनु परेको कोइराला पक्षका एक कांग्रेस नेता बताउँछन् । ‘काठमाडौंमा चाहीँ गगनलाई भोट हालेनन् कांग्रेस पुरातनपन्थी नै रह्यो भन्ने । अनि यहाँ चाहीँ देउवाको स्वार्थलाई सहयोग गर्ने ?,’ कांग्रेसको राजनीति बुझेका विराटनगरका पत्रकार अनन्तराज न्यौपाने बताउँछन् ।

केन्द्रमा गठबन्धन भत्किएको अवस्थामा प्रदेश १ को संसदीय दलको नेता परिवर्तन गर्न फेरि प्रयास हुने देखिन्छ । कसरी हुन्छ ? भन्ने प्रश्नमा ती कांग्रेस नेता भन्छन्, ‘अघिल्लो पटक एमालेको संसदीय दलको नेता शेरधन राई हुँदाहुँदै भीम आचार्य बनेका होइनन्, संघर्ष गरेर भएपनि हुन्छ, सहमति गरेर भएपनि हुन्छ । पार्टी–पार्टीबीचमा मात्रै होइन पार्टीभित्रका समूहसमूहबीच पनि सहमति हुनुपर्छ । त्यस्तो हुँदा प्रदेश १ कोइराला क्याम्पको भागमा पर्ने निश्चित छ ।’

प्रदेश १ संसदीय दलको नेता बन्ने दौडमा रहेका अमृत अर्याल नराम्ररी पराजित भएपछि अहिले क्याम्प परिवर्तन गर्ने चाहनामा छन् । उनका समर्थक केही कांग्रेस नेताले क्याम्प फेर्न नमानेका कारण उनी रोकिएको विश्वस्त स्रोत बताउँछ । यता, कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा आएसँगै प्रदेश १ मा कांग्रेसले प्रतिपक्षीको भूमिका खेल्न नसक्ने कोइराला पक्षको दाबी छ । थापालाई प्रदेश १ एमालेका संसदीय दलका नेता तथा भावी मुख्यमन्त्री हिक्मतकुमार कार्की समर्थक भएको सो पक्ष बताउँछ ।