गिरिजाले प्राप्त गरेका २ ब्रह्मज्ञान

 अनन्तराज न्यौपाने

नेपाली राजनीतिमा यति बिघ्न विकृति, विसङ्गति र फोहर कसरी भित्रियो ? यो एउटा गम्भीर खोजको विषय हो । विकृति कति हदसम्म मौलाइसकेको छ भने मान्छे टोलस्तरीय एउटा सानो संस्थाको सदस्य छाड्न पनि तयार छैन । लाग्छ, त्यागको भावना सर्वत्र हराइसकेको छ । गाउँपालिकमा एक वडाध्यक्ष पद जित्न मात्र होइन, टिकट लिनसमेत पार्टी नेतालाई करोडौँ घुस खुवाउनुपर्ने कति ठुलो विडम्बना छ हाम्रो राजनीतिमा ! चुनाव जित्न थप करोडौँ खर्चिनुपर्ने अर्को सकस त्यस्तै छ । मूलतः हरेक उम्मेदवारको चुनावी–यात्रा नै अति महँगो भएको हुँदा यसले विकृति, विसङ्गति र फोहरपनलाई अझ बढाएको छ । यसैका कारण नेता र शासकमा कसले बढी विकास गर्ने र कसले बढी नैतिक काम गर्नेभन्दा पनि कसले सबैभन्दा बढी भ्रष्टाचार गर्ने, धन थुपार्ने र बाहुबलीको समूह बनाउने भन्ने प्रतिस्पर्धा चलेको छ । कुनै पनि राजनीतिक व्यक्ति, पार्टी वा नेताका समूह यी कुकर्मबाट मुक्त छैनन् । शेरबहादुर देउवाको भर्खरै निवृत्त भएको शासनमा त घुसखोरी, भ्रष्टाचार, कमिसनखोरी र अनियमितताले सीमा नाघेको देखियो । शेरबहादुरले भन्दा पनि उनकी पत्नी आरजूले जसरी निर्लज्ज भ्रष्टाचारका आडमा सत्ताराजनीतिमा हस्तक्षेप गरिन्, त्यो विकृतिको पराकाष्ठा थियो । शेरबहादुर र आरजूले कसरी योकुकर्म सिके भन्ने खोज गर्नु समीचीन हुनेछ ।

प्रजातन्त्रको पुनःस्थापना २०४६ सालमा भएपछि नेपाली राजनीति सङलिने आसा सबै नेपालीमा थियो । तर २०५० नसकिँदै राजनीति एउटा फोहरी खेलको उदाहरणयोग्य संज्ञा हुन थाल्यो । २०४८ को आमनिर्वाचनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री पदमा आसीन भए । उनैले तारानाथ रानाभाट लगायतका भ्रष्टाचारमा नलागेका भनिएका ६ मन्त्रीलाई ६ महिना पनि काम गर्न नदिई र पार्टीमा कसैलाई जानकारी नै नगराई हठात् पदमुक्त गरे । नेपाली राजनीतिमा विकृतिको सुरुआत यहीँबाट भयो । उनै गिरिजाले राजदूत आदि नियुक्ति गर्दा जातीय समावेशिता नमिलाएको भन्दै सर्वोच्च नेता गणेशमान सिंह रुष्ट भए । गणेशमानले बारम्बार एकलौटी नियुक्तिको विरोध गरिरहे । यसैबिच नेपाली काङ्ग्रेसको आठौँ महाधिवेशन झापाको कलबलगुडीमा भयो । यहाँ गणेशमानले ठुलो हङ्गामा मच्चाए र पार्टी नै छाडेका घोषणा गरे । तर चतुर गुणले युक्त पार्टी सभापति कृष्णप्रसाद भट्टराईले आफूले ३ महिनाभित्र गणेशमानजीको चित्त बुझाउने तत्काल घोषणा गरे । महाधिवेशनको बन्दसत्रको मञ्चबाट उठेर जान लागेका गणेशमान यसपछि फर्किए र आफ्नै कुर्सीमा बसे ।

यसैबिच २०५० को उपचुनाव आयो । झापाको १ का सांसद् द्रोणाचार्य क्षेत्री र काठमाडौंको १ का मदन भण्डारीको निधनपछि २०५० माघमा दुबै क्षेत्रमा उपचुनाव भएको थियो । काठमाडौंको उपचुनावमा नेपाली काङ्ग्रेसका उम्मेदवार थिए तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराई । भट्टराईलाई हराउन बालुवाटारको शक्ति पुरै लाग्यो । देशभरिका प्रमुख गिरिजापन्थी काठमाडौं जम्मा भए । पैसाको खोलो बगाइयो । सरकारी साधनस्रोत र सम्पत्ति खरानीझैँ उडाइयो । अन्तमा किसुनजीलाई हराएरै छाडियो ।

यही चुनावमा गिरिजाप्रसादले २ ठुला ब्रह्मज्ञान प्राप्त गरे । पहिलो ज्ञान थियो– पार्टी कब्जा गर्नुपर्ने रहेछ । त्यस वेला पार्टीको सभापति आफैँ नभएका भए वा गिरिजाका हातमा पार्टीको नेतृत्व भएको भए भट्टराईले उपचुनावको टिकट पाउने कुनै गुन्जायस थिएन । किसुनजी आफैँ सभापति थिए र केन्द्रीय समितिमा उनको बहुमत थियो । यसैका कारण पार्टीमा किसुनजीलाई उपचुनावको उम्मेदवार बनाउन कुनै अप्ठ्यारो भएन । किसुनजीले आफ्नो टिकटको निर्णय आफैँ गरेका थिए । यसबाट गिरिजाप्रसादले प्राप्त गरेको पहिलो ब्रह्मज्ञान थियो– सत्ताको राजनीतिमा सफल हुने हो भने पार्टी आफ्नो कब्जामा हुनुपर्ने रहेछ । यही देखेर २०५३ मा सम्पन्न पार्टीको नवौँ महाधिवेशनमा कोइराला सभापति भइछाडे ।

यसपछि उनले २०५० को चुनावमा प्राप्त गरेको दोस्रो ब्रह्मज्ञान थियो– पैसा जसरी पनि कमाउनुपर्ने रहेछ । पैसा किनकि किसुनजीलाई हराउन पैसाको खोलो बगाउनु प¥यो । कोइरालाले आफ्नो राजनीतिक जीवनमा पैसाको खास महत्त्व यति वेला आएर राम्ररी बुझे । अनि पैसा बुझाउन सक्नेलाई मात्र संवैधानिक र अन्य नियुक्ति दिन थाले । पैसा दिनसक्नेलाई मात्र मन्त्री बनाउन थाले र पैसा जम्मा गर्न लागे ।

गिरिजाप्रसादले प्राप्त गरेका यी २ ब्रह्मज्ञान र तिनको कार्यान्वयनलाई उनकै मन्त्रीपरिषदमा बसेर शेरबहादुरले हेरिरहेका थिए, सिकिरहेका थिए । शेरबहादुरले २०४८ देखि २०५१ सम्मको साढे तीन बर्से शासनकालमा सिके मात्र, त्यसलाई कार्यान्वयन भने २०५२ मा सभापति भएपछि गर्न थाले । वास्तवमा नेपाली राजनीतिमा गिरिजाप्रसादले रोपेको विषवृक्षलाई नै शेरबहादुरले मलजल गरेका हुन् ।

शुक्रबार, २२ पुष, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर