प्रचण्डको कुटनीति कि कार्यशैली ?

  विमल लामिछाने

जनादेशबाट मुलुकको पहिलो शक्ति नेपाली कांग्रेस र दोस्रो ठूलो शक्ति एमाले बनेपछि संसद्को तेस्रो शक्ति बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुने कसैले सोचेका थिएनन् ।

पाँच दलीय गठबन्धनको डोरी चुँडिँएसँग एमालेसँगको तालमेलमा नयाँ कोर्ष सुरु भयो, प्रचण्ड प्रधानमन्त्री बने । एमाले र माओवादीको यो मिलनबिन्दुको मुख्य पात्र हुन् नेपाली कांग्रेका शेरबहादुर देउवा । उनको पछिल्लो कदम नै वर्तमान सरकारको मार्गप्रशस्त हो भने दुई ध्रुवमा उभिएका एमाले र माओवादीको नयाँ गठजोरले राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने भनाइलाई थप पुष्टी गरिदिएको छ । मित्र र सत्रु समय परिस्थिति र स्वार्थले तय गर्छ भन्ने भनाइ चरितार्थ भएको छ । यस्तो अवस्थामा धेरैले प्रश्नपनि उठाउने गरेका छन् स्वार्थको खेल सत्ता प्राप्तिको हदसम्म सीमित हुन्छ कि त्यसको कुनै निश्चित सीमा हुन्छ ? क्षणमै लेफ्ट र क्षणमै राईट खुट्टा टेक्नु प्रचण्डको कुटनीति कि कार्यशैली ?
राजनीतिलाई सम्भावनाको खेल पनि भन्ने गरिन्छ । दुई वर्षअघि शेरबहादुर देउवा र अहिले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्ने जो अवसर प्राप्त भयो त्यसले राजनीतिमा चमत्कारकै उदाहरण दिन्छ । सरकार बनाउने अथवा सत्ता गठबन्धन जोगाउने खेलमा मुलुकको राजनीति सम्पूर्णतः सत्ताकेन्द्रित भइदिंदा राष्ट्रका अहं चासो एवम् प्राथमिकताहरू राजनीतिक बहसको मूलधारबाट टाढा हुत्तिएका छन् । सरकार बनाउने गठजोरका लागि सबै दलले प्रदर्शन गरेको चरम सिद्धान्तहीन र आधारहीन सत्ता राजनीति क्षणिकजस्तो देखिए पनि त्यो अबका पाँच वर्षले थप भविश्यको चित्रण अवश्य गर्नेछ ।

पछिल्लो समय धेरैको मनमा आइरहने प्रश्न हो के प्रधानमन्त्री प्रचण्डलाई सजिलो छ ? सहज अनुमान गर्न सकिन्छ कि राजनीतिका चतुर खेलाडी मानिँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मनाउँदै शेष नागका टाउकाजस्तो चारपट्टी फर्किएका फरक फरक शिराहाबाट आएका पार्टीको गठजोरमा बहुल पार्टीहरुको संयोजनले बनेको सरकार सञ्चालन गर्न प्रचण्डलाई सजिलो पटक्कै छैन । तर जनयुद्धको शुरुआती चरणबाट नै अप्ठ्यारो र घुमाउरो बाटो हिँड्न बानी परेका उनलाई विगतको बन्दुकको नालसँगको कुटनीति भन्दा बर्तमान ब्यालेटको राजनीति नै सहज लागेको भने सत्य हो । अर्कोतर्फ सरकार गठनको यो क्षण माओवादीकालागि एक अन्तिम अपरच्यूनिटीका रुपमा पनि विश्लेषण हुन थालेको छ । ठोस परिस्थितिको ठोस विशलेषण गर्दै समय र परिस्थिति नियालेर राजनीतिमा दायाँ र बायाँ दुवै खुट्टा टेक्न मायीर प्रचण्डकालागि यो स्वभाविक अवस्था पनि हुन सक्ला ।

अर्को कोणबाट हेर्ने हो भने प्रचण्डले पाएको प्रधानमन्त्रीको जिम्मेवारी पार्टीको साख जोगाउने अन्तिम अवसर पनि हुनसक्छ । कुनै बेला पहिलो शक्ति रहेको माओवादी केन्द्र तेस्रो शक्ति बनेका बेला प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भएका छन् । पहिलो पटक प्रधानमन्त्री भएको नौं महिनामै प्रधानसेनापति रुकमाङ्गत कटवाल नियुक्ति प्रकरणमा विवाद भएपछि प्रचण्ड सत्ताबाट हट्नु परेको थियो । दोस्रो पटक ओली सरकारलाई दिएको समर्थन फिर्ता लिई कांग्रेससँंग मिलेर प्रधानमन्त्री बनेका थिए । सत्ताको रोमाञ्चकारी र जटिलताको अनुभव संगालेका प्रचण्डको दोस्रो कार्यकाल स्थानीय तहको चुनाव गराउने चटारोकाबीच गम्भीर र परिपक्व देखिएको थियो । सम्भवतः प्रचण्डको यस पटकको प्रधानमन्त्री कार्यकाल अघिपछिको तुलनामा संवैधानिक प्रावधानका कारण कम्तीमा दुई वर्ष ६ महिना ढुक्कले चल्ने अपेक्षा गर्न सकिन्छ ।

यतिबेला प्रचण्डका सामु थुप्रै चु्नौतीहरु छन् । पहिलो चुनौती हो, संविधानको कार्यान्वयन, सुशासन र जनताको दैनिक जीवनयापनका समस्या समाधान गर्ने । माओवादीकै आन्दोलनका कारण संविधानमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र समानुपातिक समावेशी नीति संस्थागत भएको कुरा सामान्य जनताले पनि बुझिसकेको विषय हो । तर प्रचण्डको लागि अहिले ठूलो चुनौती भनेको यसको सही तरिकाले कार्यान्वयन गरी यसलाई बलियो बनाउने हो । किनकि अहिले प्रदेश र समावेशी नीतिको धज्जी उडाउने ठूलै जमात छ । त्यो जमात प्रचण्डकै वरिपरि घुमिरहेकै छन् । त्यसमध्येको एउटा शक्ति त सत्ताको श्वादमा जिब्रो पड्काउँदै पुरानो विरासत फर्काउने नाममा सहकार्यको घेराभित्रै छ, यसले ठाउँ भेट्यो भने प्रचण्डलाई दाउमा पारेर छिर्के नलगाउला भन्न सकिन्न ।

खासगरी रास्वपाको चामत्कारिक उदयसँगै उम्रिएका अपेक्षाहरुपनि पूरा गर्न सहज छैन । प्रचण्डसँगै सहकार्य गर्न पुगेका रविलाई प्रचण्डसँगको सहकार्य तोडेर धर छैन फलत उनको यात्रा प्रचण्डसँगको साँठगाँठबाट नै भरपुर लाभ मिल्ने निश्चितै छ । विदेशिएको ठूलो युवा पङ्तीसहित आम नागरिकको अपेक्षा उनीसँग छँदैछ, तथापि प्रशासन, स्वास्थ्य, शिक्षाजस्ता जनसरोकारका राज्यका संयन्त्रमा दलाल पूँजीपति र माफियातन्त्र हावी छ । सिंगो राज्यको चरित्र बदल्छु भनेर आएका रवि र परिवर्तनको पर्याय बनेर आएका प्रचण्डको सत्ता आरोहणको यात्रा सफल रहोस् शुभकामना ।

बुधबार, २० पुष, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर