राजस्वको बजार अनुगमन ,उत्पादन मिति नबुझिने ९५ लिटर इनामेल बरामद

विराटनगर । सीमा क्षेत्रबाट चोरी तस्करी भई आउने वस्तु बिक्री वितरण हुने क्रम बढेको गुनासोसँगै त्यसलाई नियन्त्रण गर्न आन्तरिक राजश्व कार्यालय विराटनगरले बजार अनुगमन सुरु गरेको छ ।

तस्करीका कारण हुने राजस्व चुहावट नियन्त्रण गर्न मंगलबारबाट विराटनगरमा बजार अनुगमन थालेको कार्यालयले जनाएको छ । तस्करी र राजश्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले आन्तरिक राजश्व कार्यालय विराटनगरको नेतृत्वको टोलीले सुरु गरेको बजार अनुगमनलाई केही समय निरन्तरता दिने जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर भन्सार कार्यालय, राजस्व अनुसंधान कार्यालय इटहरी, वाणिज्य कार्यालय विराटनगर र विराट व्यापार संघको प्रतिनिधि सम्मिलित संयुक्त टोलीले मंगलबार बजार अनुगमन गरेको थियो ।बजार अनुगमनका क्रममा मंगलबार दुई वटा हार्डवेयर पसल, दुई वटा मदिरा पसल, एउटा किराना पसल र एउटा कपडा पसलको अनुगमन गरेको थियो । कर छली, तस्करीको सामानको अवैध व्यापार गर्ने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डि बी क्षेत्रीले जानकारी दिए ।

अनुगमनका क्रममा टोलीले तस्करी मार्फत ल्याएर बिक्रीका लागि राखिएका विभिन्न वस्तु नियन्त्रणमा लिएको थियो । विशेषगरी खाद्य पदार्थ र चिनी आदि नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ । अनुगमन टोलीले वस्तुको उत्पादन मिति केरमेट गरिएको ९५ लिटर इनामेल जफत गरेको थियो ।

अनुगमन टोलीले व्यवसायीहरुलाई बिलविजक जारी गर्न, तस्करीको सामान नकिन्न र म्याद सिद्धिएका सामान पसलमा नराख्न निर्देशन पनि दिएको थियो ।

पछिल्लो समय भन्सार नतिरी मेसिनरी पार्टपूर्जा, हार्डवेयरका विभिन्न सामानहरु, चिनी, लत्ताकपडा, दूध लगायत विभिन्न किराना वस्तुहरु चोरी तस्करी गरी ल्याउने क्रम बढेको छ । त्यसले सरकारी राजश्व प्रभावित भइरहेको गुनासो बढेपछि आन्तरिक राजश्व कार्यालयले अनुगमन गरेको हो । नियमनकारी निकायहरुले विशेषगरी ठूला चाडपर्वको समयमा मात्र बजार अनुगमन गर्ने र अरुबेला बजारलाई बेपर्वाह छाड्ने गरिएको गुनासो बढिरहेको बेलामा भएको बजार अनुगमनले बजारको बेथिति रोक्न मद्दत पुग्ने विश्वास कार्यालयले लिएको छ ।

बुधबार, २० पुष, २०७९, बिहानको ०८:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर