विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको ५० शय्याको सञ्जीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर सेयर सदस्यबीचको विवादका कारण बन्द भएको छ ।
आर्थिक रूपले पनि ‘टाट’ पल्टिने अवस्थामा पुगेको हस्पिटल बजारको ४० करोड रूपैयाँभन्दा बढी ऋण नतिरी बन्द भएको हो ।
अस्पतालले दुई करोडभन्दा बढी रकम चिकित्सक र स्वास्थ्यकर्मीहरूको तलब दिन बाँकी छ । अहिले उनीहरूले श्रम तथा रोजगार कार्यालय विराटनगर र स्थानीय प्रशासनमा काम गरेको पारिश्रमिक दिलाइदिन माग राख्दै निवेदन दिएका छन् ।
चार जना चिकित्सकसहित १२ जनाको सञ्जीवनीमा लगानी छ । पछिल्लो समय दिवाकर यादवलाई कार्यकारी प्रमुख बनाएर भित्र्याएको चार महिना बित्न नपाउँदै अस्पताल बन्द भएको हो । यादव १ करोड रुपैयाँ लगानी गरेर २०७९ असारमा अस्पताल भित्रिएका थिए । उनी आएको पाँच महिनापछि हस्पिटल बन्द भएको हो ।
राजकुमार मण्डल, बिनायक पन्त, डा.प्रेरणा दाहाल, डा.अञ्जु देव, डा.पवन पराजुली, डा.बरुण देव, ओमप्रकाश प्रसाई, राजेश प्रसाई, सुरेन्द्र राय, रमेश साह र चन्द्रमणि गुरागाईसहित १० जना सञ्चालकले ६ वर्ष अगाडि अस्पताल जिम्मा लिएका थिए । त्यसबेला एम्स हस्पिटलको नाममा अस्पताल सञ्चालनमा थियो ।
नयाँ टिमले नाम परिर्वतन गरी सञ्जीवनी हस्पिटल राखेर राजकुमार मण्डललाई अध्यक्ष बनाएको थियो । २०७८ सालमा दुई जना शेयर सदस्य थपिए ७३ लाख रुपैयाँ लगानी गरेर अस्पतालमा भित्रिएका थिए । नयाँ सञ्चालक थपिएसँगै कोभिड—१९ महामारी सुरु भएपछि अस्पताल घाटामा जान थालेको थियो । घाटामा जान थालेपछि सञ्चालकहरूले स्वास्थ्य क्षेत्रमा बुझेका व्यवस्थापकको खोजीमा चार जना डाक्टर भित्र्याए ।
आफ्नै निजी क्लिनिक पनि सञ्चालन गर्दै आएका डाक्टरलाई क्लिनिक छाडेर अस्पतालमै पूर्ण समय दिन अन्य सञ्चालनको आग्रह थियो । तर, उनीहरुले स्वीकार गरेनन् । त्यसपछि चिकित्सकबाहेकका ९ सञ्चालकले २०७९ असारमा शेयर रकम नलिइ डा.अञ्जु, डा.पवन र डा.बरुण देवलाई अस्पताल जिम्मा लगाएर दिवाकर यादव नयाँ लगानीकर्ताका रुपमा प्रवेश गराए ।
हस्पिटल छोडने बेलामा बजारको सम्पूर्ण दायित्व तिर्ने गरी डा.वरुण, डा.पवन, डा.अञ्जु, दिवाकर र पुरानो टिमबीच सहमति भएको थियो । पुरानो दायित्व ४० करोड रुपैयाँ रहेको र संस्थाको सम्पत्ति पनि उति नै रहेकोले उनीहरुले कुनै रकम नलिई बाहिरिए ।
पुरानो टिमले बजारबाट खोजेर सापटी रकम करिब ३ करोड ८८ लाख रुपैयाँ पनि अस्पताललाई दिएको थियो । सो रकम फिर्ता गर्ने लिखत गरिएको थियो ।
नयाँ टिम आएपछि राम्रोसँग अस्पताल चल्यो । त्यसयता मासिक करिब १ करोडसम्म अस्पतालले कारोबार गरेको थियो । तर, दुई महिना नवित्दै दिवाकार र तीन जना डाक्टरबीच विवाद सुरु भयो ।
त्यहिबेला दिवाकरमाथि फौजदारी कसुर गरेको आरोप लागेपछि उनी फरार रहँदा अस्पतालसमेत बन्द भएको हो ।
अस्पतालले त्यहाँ कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरुको २ करोड रुपैयाँभन्दा बढी पारिश्रमिक दिन बाँकी छ । पारिश्रमिक भुक्तानी नगर्दै आर्थिक संकटमा परेको अस्पतालमा ताला लागेको छ । ५ जना विशेषज्ञ चिकित्सक र ५ जना मेडिकल अधिकृतसहित दुई दर्जन बढी कर्मचारीले पाउनुपर्ने तलब नपाएको बताएका छन् । डाक्टरले ३ वर्षदेखि तलब पाएका छैनन् कतिपयले चार महिनाको रकम नपाएको गुनासो गरेका छन् ।
एकजना चिकित्सकले १० लाखदेखि ७० लाख रुपैयाँसम्म संजीवनी हस्पिटलबाट पारिश्रमिक पाउनुपर्नेछ । रकम नपाएपछि उनीहरुले नेपाल चिकित्सक संघ कोशी शाखा र श्रम तथा रोजगार कार्यालय विराटनगरमा पनि निवेदन दिएका छन् ।
‘हामीले काम गरेको पारिश्रमिक मागेको वर्षौ भइसक्यो । काम गरेको तलब माग्दा ‘आज दिन्छौं, भोलि दिन्छौं’ भनेर टार्ने मात्र काम भयो । पाउनुपर्ने पारिश्रमिक अहिलेसम्म दिइएको छैन । हाम्रो माग सुनवाई नभएपछि हामी आवद्ध संघमा पाउनुपर्ने तलब दिलाइदिन हामीले संयुक्त रुपमा निवेदन हालेका हौं,’ एक चिकित्सकले भने ।