विराटनगर । यसपटकको प्रदेश १ संसद्मा प्रत्यक्ष निर्वाचित बनेर प्रवेश गर्ने थोरै महिलामध्येकी एक सांसद ह्ुन् सविना कट्टेल बजागाइँ । झापा १ को प्रदेशसभा क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सविना झापाको राजनीतिक वृत्तामा उदाउँदो नेताका रुपमा हेरिएकी पात्र हुन् ।

राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय भएरै आफूलाई स्थापित गराएकी उनी माओवादी केन्द्रका श्यामबीर लिम्बूलाई पराजित गरेर प्रदेशसभाको ‘माननीय’ बनेकी हुन् । प्रदेशसभाको निर्वाचन लड्नु अघि गएको बैशाखमा स्थानीय निर्वाचनमा मेचीनगरको उपप्रमुखमा समेत प्रतिष्पर्धा गरेकी थिइन् । त्यसबेला पनि १० हजार हाराहारी मत ल्याएर सविनाले ठूला दलहरुलाई चुनौती दिएकी थिइन् ।

त्यसो त उनी जुन दलमा आवद्ध छिन्, त्यो दल प्रदेश खारेजीको मागमा अहिले पनि उभिएकै छ । राप्रपाले ‘प्रदेशलाई उपयोग गर्ने नीति’ लिएको बताउने नेताहरु धेरै छन् । केही दलहरुले प्रदेशमा उम्मेद्वारी नै नदिने नीति लिए पनि राप्रपाले भने प्रदेशमा पनि उम्मेद्वारी दियो । पहिलो कार्यकालमा जम्मा एक जना सदस्य मात्रै रहेको प्रदेश १ मा अहिले राप्रपासँग दुई प्रत्यक्ष र चार समानुपातिक गरी ६ जना सांसद छन् । यसले पनि उसको ‘उपयोगको नीति’ लाई दर्शाउँछ ।

सविना स्वयम् पनि प्रदेशमार्फत जनताका काम अधिकतम गर्ने प्रयासमा लाग्ने बताउँछिन् । राप्रपाको मेचीनगर १३ वडा समितिबाट राजनीतिक यात्रा सुरु गरेकी सविनाले यसबीचमा आफूलाई पार्टीको जिल्ला नेतृत्व तहसम्म पुर्याइसकेकी छन् । राजनीतिका अलावा विभिन्न धार्मिक संघ संस्था, वाणिज्य संघ, रोटरी जस्ता संस्थाहरुमा नेतृत्व तहमा बसेर काम गरिसकेकी उनी त्यही सामाजिक आवद्धताले पनि जनतामाझ भिज्न सहज भएको बताउँछिन् ।

पार्टीको नगर सदस्य, दुई कार्यकाल जिल्ला सदस्य हुँदै अहिले मेचीनगर अध्यक्षसमेत रहेकी उनी प्रदेशसभाको आफ्नो ५ वर्षे कार्यकाललाई उपलब्धिमूलक बनाउने योजनामा रहेको बताउँछिन् । ‘आम बुझाइमा सांसद बनेपछि बिकास निर्माणकै काम गर्ने भनेर बुझिन्छ ’, हाम्रोमतसँगको कुराकानीमा उनले भनिन् ‘तर, संविधानले दिएको बिधायकको जिम्मेवारी भनेको नीति निर्माणको हो । हामी नीति निर्माणमै जोड दिनेछौँ । जब नीति को थिति बस्नेछ तब बिकास निर्माण लगायतका पक्षहरु स्वतस्फुर्त जोडिएर आउने छन ।’

प्रदेश १ सुगम र दुर्गम सबै क्षेत्र जोडिएको प्रदेश भएको बताउँदै उनले भनिन् ‘ यो अर्थमा शिक्षा र यातायातको पहुँचमा विशेष जोड दिने र शिक्षाको पहुँच र यातायातको पहँुचबाट कोही टाढा नरहुन् भन्ने उदेश्यका साथ प्याकेजमै काम गर्ने योजना छ ।’ यसबाहेक प्रदेशमा प्राविधिक शिक्षालयहरुको आवश्यक्ता रहेको उल्लेख गर्दै उनले त्यसमा पनि कृषि र हाईड्रो ईलेक्ट्रिसिटि, कृषिमा सुपारी र चियाका प्राविधिक उत्पादन हुने गरिका शिक्षालय खोल्ने योजनामा आफूलाई केन्द्रीत गर्ने उनको भनाइ छ ।

महिला हकहितमा बनेका नीति नियमलाई कार्यान्वयनमा जोड दिने र महिला शसक्तिकरण र सचेतनाका लागि काम गर्ने योजनाहरु पनि आफूसँग भएको उनको भनाइ छ । ‘प्रदेश १ मा गर्नुपर्ने काम र संभावनाहरु व्यापक छन भोलि जिम्मेवारी के रहन्छ त्यसले पनि फरक पार्ला’, उनले थपिन् ‘प्रदेशसभा सदस्यको भूमिकामा जनताले महसुस हुने गरिका योजनाहरुमा काम गर्ने लक्ष्य छ ।’