गोपालको प्राथमिकता :सवल कृषि, सशक्त युवा

विराटनगर ।  झापा १ को प्रदेशसभा क्षेत्र नम्बर १ बाट प्रदेशसभामा निर्वाचित नेपाली काँग्रेसका नेता गोपाल तामाङ सांसद बन्नु अघि नै झापाको राजनीतिक तथा सामाजिक क्षेत्रमा चिनिएका युवा हुन् । उनको यही पहिचान नै एउटा मुख्य कारण थियो, जसले काँग्रेसका धेरै सिनियरहरुको भीडमा पनि टिकट उनैले पाए ।

खासगरी काँकडभिट्टाको नाइट चेस क्लबमार्फत सञ्चालित एचआइभी एड्सविरोधी अभियान तथा लागुऔषधविरोधी अभियानका अगुवा उनी खानेपानी, रोटरी लगायतका संघसंस्थाको पनि सफल नेतृत्व गरिसकेका व्यक्ति हुन् ।२०४७ सालमा मेची बहुमुखी क्याम्पसको नेविसंघ क्याम्पस समितिमा रहेर राजनीतिक यात्राको औपचारिक थालनी गरेका काँकडभिट्टा निवासी तामाङ उद्यमशील युवाका रुपमा पनि झापामा स्थापित छन् । नेविसंघबाट सुरु भएको उनको राजनीतिक यात्राको लामो समय काँग्रेसकै अर्को भ्रातृ संस्था तरुण दलमा बितेको छ ।

तरुण दलको वडा सभापतिदेखि २०७१ मा झापा जिल्लाको अध्यक्षसम्म बनेका उनी काँग्रेसको १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा पनि निर्वाचित भएका थिए । ‘नेपाली काँग्रेसमा मैले मैले विद्यार्थी, तरुण दलदेखि वडासम्मै रहेर काम गरेको अनुभव संगाल्न पाएको छु’, तामाङले हाम्रोमतसँग भने ‘यसले मलाई पार्टी संगठन बुझ्न त सघायो नै, आम जनताको समस्या, आवश्यकता र अपेक्षासित पनि परिचित गराएको छ ।’

आफ्नो यही अनुभवलाई आधार बनाएर अबको पाँच वर्ष प्रदेश संसद्मा जनताको पक्षमा आवाज उठाउन आफूलाई तयार राखेको उनी बताउँछन् । वडा तहबाट लामो समयदेखि काम गरेका कारण पार्टी संगठनमा र संघसंस्थामार्फत सामाजिक अभियानमा जोडिँदाको फाइदा उनलाई प्रदेशसभा निर्वाचनमा भएको देखिन्छ । मेचीनगरका संस्थापक मेयर, संविधानसभाका सदस्यसमेत भइसकेका एमालेका प्रभावशाली नेता रविन कोइरालालाई पराजित गरेर प्रदेशसभामा प्रवेश गरेका उनी सबल संघीयता र जनतालाई सेवाको प्रभावकारी ‘डेलिभरी’ का लागि लागिपर्ने बताउँछन् ।

‘अहिले जनताका अपेक्षा एकदमै धेरै छन्’, आफ्नो मुख्य प्राथमिकताबारे उनले सुनाए ‘जनताको अपेक्षा एकातिर उच्च छ अर्कातिर हाम्रो राज्यको स्रोत र शक्तिको सिमितता पनि छ । जनअपेक्षा र राज्यको सीमाबीचको सन्तुलन नै अबको प्रमुख चुनौती हो । यसमा सकेसम्म सन्तुलन कायम गरेर जनताको पक्षमा निरन्तर काम गरिरहने प्रण मेरो छ ।’

‘सरकारमा हुँदा आफ्ना योजना कार्यान्वयन गराउन सजिलो हुने कुरा स्वाभाविक हुन्छ’, उनले थपे ‘तर, हामी विपक्षमा बस्दैछौं । विपक्षमा रहेर जनताको आवाज उठाउने, विकास निर्माणका कामहरुमा सरकारको ध्यानाकर्षण गराउने अनि मुख्य रुपमा युवा र कृषि केन्द्रीत कार्यक्रमहरुमा ठोस योजना सदनमा पेश गर्ने मेरो लक्ष्य हुनेछ ।’

उनका अनुसार कृषि क्षेत्रको व्यावसायिकरण र आधुनिकीकरणमा जोड दिने र युवाका मुद्दालाई राज्यको प्राथमिकतामा पार्न उनी सक्रिय हुनेछन् । ‘शिक्षा, स्वास्थ्य, रोजगारी र उनीहरुको वृहत्तर सुरक्षाका पक्षमा नीति निर्माण हुनैपर्छ’, उनले भने ‘नीति बनेर मात्रै हुँदैन, त्यसको कार्यान्वयनमा पनि उत्तिकै ध्यान जानुपर्छ । यो विषयमा म आफूलाई केन्द्रीत तुल्याउनेछु ।’ खासगरी ग्रामीण विकासका योजनाहरुमा गम्भीरतापूर्वक काम हुनुपर्ने बताउँदै उनले थपे ‘हाम्रो संघीय अभ्यासको जग बलियो बनाउन पनि तल्लो तहसम्म राज्य पुग्नैपर्छ । त्यसमा म मेरो ठाउँबाट सक्दो भूमिका निर्वाह गर्नेछु ।’

बुधबार, १३ पुष, २०७९, दिउँसोको ०३:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर