प्रमिल अधिकारी
प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्डले नेपाली पोशाक दौरा, सुरुवाल, ढाका, टोपीमा सजिएर सपथ लिए । यो उनको शब्दमा उनमा देखिएको क्रान्तिकारी छलाङ हुनसक्छ । उनमा एक्कासी यो परिवर्तनको आभाष कसरी बन्यो भन्ने कुरा पछि कुनै कालखण्डमा आउला । तर, हिजोको प्रचण्ड र आजको प्रचण्डमा फरकपना आउन खोजेको अनुभूति गर्न सकिन्छ ।
भूमिगतकालमा अनेकन नाममध्ये उनीले आफूलाई स्वीकारेको नाम हो,प्रचण्ड । म बाल्यकाल हुदाँ डरलाग्ने व्यक्ति प्रचण्ड नै थिए । त्यसको लामो कथा छ । त्यही प्रचण्डको कारणले म जस्ता हजारौंले तथाकथित मुक्तिको लागि बलिदान दिए । १७ हजार भन्दा बढीको ज्यान गयो । घाइते, अपाङ्ग, बेपत्ताको कुनै हिसाब छैन । अझै पनि सयौंले न्याय पाएका छैनन् । हजारौँले उपचार पाएका छैनन् । हुन त नेपाली कांग्रेसले पनि वि.सं. २००७ सालमा हतियार उठाएको हो ।
एमालेले पनि वि.सं. २०२८ सालमा हतियार उठाएकै थियो । तर, माओवादी जस्तो सशस्त्र संघर्ष गरेन । राज्य भनेको नै हतियार हो भन्ने प्रचण्डको भनाइ र गराइले १० वर्षे सशस्त्र विद्रोह एक हिसाबमा सफलता भएको देखिन्छ । तर, द्वन्द्वले बिजारोपण गरेका अन्याय र बिचलनलाई व्यवस्थापन गर्न प्रचण्ड चुक्यो । प्रचण्डको समर्थनमा ऐतिहासिक १९ दिने जनआन्दोलन, मधेस अन्दोलन भयो । करिब २४० वर्षे राजतन्त्र व्यवस्था अन्त्य भयो । राजाफाले । ऐतिहासिक संविधान सभा मार्फत देशमा आमुल परिवर्तन चाहने प्रचण्ड, आखिर उनको शब्दमा पाखण्डी, ढुडी संसदीय व्यवस्थामा समाविष्ट भए । ती सबै नेपालको विकासमा क्रान्तिकारी छलाङ्को लागि नै थियो । देशको स्थायित्व र विकासको लागि नै थियो भन्न सकिएला । जुन प्रचण्डले कुशलता देखाए ।
आज म युवा भएर उनीलाई आफ्नो नाम परिर्वतनको लागि आह्वान गर्दैछु । उनीले कुनै दिन आफ्नो नाम परिवर्तन गर्न सक्ने संकेत केही वर्ष पहिले एक अन्तरवर्तामा दिएका थिए । समय र सन्दर्भमा नाम परिवर्तन गर्ने पुष्पकमलले अब प्रचण्ड नाम परिर्वतन गर्ने अवसर आएको छ । रापतापको प्रचण्ड, सशस्त्र द्वन्द्वका प्रचण्ड, हजारांैको रगत, हत्या, हिंसा, अपहरण, बेपत्ता भएकाले रंगिएको प्रचण्ड नामको औचित्यलाई समाप्त गर्ने उनको लागि यो भन्दा बढी उपयुक्त कुनै दिन नआउन सक्छ । उनी आफ्नो वैचारिक सिद्धान्तलाई व्यवहारमा रुपान्तरण गर्ने अवसर उनमा आएको छ । उनीमा लागेको दक्षिणपन्थी, अवसरवादी, नातावाद, कृपावाद तथा अस्थिर भाष्यलाई अन्त्य गर्ने यो अवसरलाई कसरी सदुपयोग गर्दछन् हेर्न बाँकी छ ।
दश वर्षे जनआन्दोलनलाई नेतृत्व गरेका प्रचण्ड सशस्त्र द्वन्द्वबाट नै नेपालको आमुल परिर्वतन ल्याउन सकिन्छ भनेर २०५२ साल फागुन १ गतेदेखि हतियार उठाए । भूमिगत जीवन र माओवादी आन्दोलनले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्यो । यसले समाजमा सकारात्मक परिर्वतनल्याउन, समाजिक सोचको विकासको जग त बसाल्यो । साथै, जातीय आन्दोलनको बिजारोपण पनि ग¥यो जनु नेपालको लागि दीर्घरोग सावित हुने देखिन्छ । सशस्त्र द्वन्द्वका केही सकारात्मक पक्षहरु पनि छन् जसले अधिकारको आन्दोलनलाई प्रबद्र्धन गरेको छ । दलित, जनजाति, उत्पीडित वर्गको अधिकारको मुद्दा जबरजस्त रुपमा स्थापित हुन पुगेको छ । संविधानका अक्षरमा समावेशी प्रणालीको अभ्यास गरियो । जातीय, भाषिक धार्मिक, लैगिक, विभेद र सबै प्रकारको छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको लागि समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तलाई अंगाल्यो । तर, यी संविधानप्रदत्त अधिकारहरु जनताले महशुस गर्न सकेका छैनन् ।
१२ बुदेँ समझदारी माओवादीको लागि सेफल्याण्डिङ थियो । माओवादी योद्धाहरुको व्यवस्थापन प्रचण्डले कुशलतापूर्वक गरे र देशमा शान्तिको अपेक्षा गरियो । जुन उनको नेतृत्वको कुशल प्रर्दशन थियो । जसको फलस्वरुप प्रचण्ड २०६५ सालमा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको रुपमा चुनिए र उनको नेतृत्वको पार्टी पहिलो दल बन्ने अवसर पायो । यो सम्पूर्ण नेपालीको प्रचण्डप्रतिको विश्वास र शान्तिको अपेक्षाको मत थियो । साथै उनीमा नैतिकता थियो भन्ने आधार प्रधान सेनापति रुक्माङ्गत कटुवाल काण्डले देखाउँछ । उनले प्रधानमन्त्री पदलाई नै राजीनामा दिएका थिए ।
आखिर, नीतिगत रुपमा उत्कृष्ट नेपालको संविधान नेपाली जनताले प्राप्त गरे तर, व्यवहारतः नेपालीले गत पाँच वर्षको दौरानमा महशुस गर्न सकेनन् । प्रचण्ड नामबाट जनताले जति अपेक्षा गरेका थिए अन्ततः प्रचण्ड नाम देशको अस्थिरता चाहने व्यक्तिको रुपमा परिचित हुनपुग्यो । कुनै समय नेपालको सबै भन्दा ठूलो पार्टी बनेको प्रचण्ड नेतृत्वको पार्टी आज अस्तित्वको लडाइमा छ । शक्ति र सत्ता केन्द्रित प्रचण्ड देशको विकास र समृद्धिको लागि कहिले योगदान गर्ने ? भुमिगत कालमा उनको कस्टपूर्ण जीवनलाई चटक्कै पारेर विलाशीपूर्ण जीवनमा रुपान्तरण भएको प्रचण्ड कहिले सामान्य जीवनमा आउने ? सशस्त्र द्वन्द्वमा नेपालीलाई देखाएको मिठा र जोशिला सपना कहिले पूरा गर्ने ? सायदै, उनले यी प्रतिबद्धता र आफ्नो लक्ष्यमा विमूख भएका छैनन् होला । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा आफूलाई सन्तुलन राख्नु प्रचण्डको बाध्यता थियो होला तर उनमा देखिएको नियतलाई स्पष्ट पुष्ट्याइँ गर्न चुके ।
प्रचण्ड र प्रचण्डका सहयात्रीमाथि लागेका सयौँ मुद्दाहरु प्रण्चण्डहरुलाई पोल्ने घाउ हुन् । यसले प्रचण्डहरुलाई पोलिरहन्छ । यी सबै मुद्दाहरुलाई सम्बोधन गर्ने र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई सक्रिय बनाइ प्रचण्डहरुमाथि लागेका मुद्दाहरुलाई किनारा लगाउने अवसर यो नै उत्तम हुनसक्छ । यी घाउलाई निको नबनाएसम्म देशमा अस्थिर राजनीति हुने देखिन्छ । जुन प्रचण्डको नेतृत्वले कुशलतापूर्वक निवारण गर्नुपर्ने हुन्छ । उनको प्रधानमन्त्रीकालमा देशमा केही न केही प्राकृतिक समस्या देखापरें । जस्तैः कोशी बाढी, भुकम्प उनको प्रधानमन्त्रीकालमा देखियो र त्यसलाई सामाना गर्ने प्रयास गरे । अब पुनः कोरोनाको कहर आउने सम्भावना छ त्यसलाई उनले कसरी हल गर्दछन् त्यो हेर्न बाँकी छ ।
प्रचण्डले भने जस्तै महान् शान्ति, महान् युद्धपछि नै आउने भए, अब उनले अहिले पनि युद्धमै छु भन्ने धङधङीलाई त्याग्नु आवश्यक छ । अब उनले प्रचण्ड ट्यागलाई नै त्याग्नु आवश्यक छ । हजारौं नेपालीको हत्या र रगतले रंगिएका प्रचण्ड कहिलेसम्म सजिएर हिड्न ? अब प्रचण्ड शब्द रुपान्तरित भई एक्काइसांै शताब्दीको नयाँ पुष्पकमल दाहालको रुपमा चिनिने सुवर्ण अवसर प्रधानमन्त्रीकालमा नगुमोस् । यो नै उनको लागि उत्तम ऐतिहासिक कालखण्ड हुनेछ । उनको लागि महान् बन्ने क्षणलाई कसरी सदुपयोग गर्दछन् त्यही मार्गदर्शनमा उनी अगाडि बढ्ने छन् ।
लेखक : सामाजिक अभियान्ता हुन् ।