विराटनगर । पुष्पकमल दाहाल प्रचण्डले पुस २५ गते विश्वासको मत लिने भएका छन ।
सोमबार शपथ लिएका प्रधानमन्त्री दाहालले सोमबार बेलुकाको मन्त्रीपरिषद् बैठकबाट संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए।
सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले १३ दिनको समय राखेर संसद बैठक आह्वान गरेकी छन्। ४ मंसिरको प्रतिनिधि सभा चुनावबाट नयाँ सरकार बनेपछि पहिलो संसद बैठक पुस २५ गते सोमबार दिउँसो १ बजे बस्नेछ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार २५ गतेकै बैठकमा विश्वासको मत लिने तयारी छ।
संविधानको धारा ७७ अनुसार निर्वाचनपछिको सरकारले पहिलोपटक विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वास प्रस्ताव राख्न पाइने छैन।
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ती पार्टी र ३ स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थन लिएर प्रचण्ड आइतबार संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए।
उनले एकमहिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ।
यहि हप्ताभित्र गठबन्धनले मन्त्रालय भागबण्डा सकाउने एमाले उपमहासचिव विष्णु रिमालले बताए।
मंगलबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन्।
यस्तै पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग उनका सम्धी सोमप्रसाद पाण्डे निवासमा छलफल गरेका छन्।
पौडेलले नेपाललाई मिलेर जान र सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्।

