मुख्यमन्त्री बन्ने तर मन्त्री नबन्ने आङ्बोको घोषणा

दलको नेतामा चापागाइँको चुनौती

विराटनगर । प्रदेश १ नेकपा माओवादी केन्द्रका नेता एवम् आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आफू अब मन्त्री नबन्ने बताएका छन् ।

प्रदेशसभाको विगत ५ वर्षे कार्यकालमा दुईपटक आर्थिक मामिला तथा योजनामन्त्री बनेका उनले सत्तारुढ दलहरुबीच प्रदेश १ मा माओवादी केन्द्रले मुख्यमन्त्री पाउने सहमति गरेको खण्डमा उक्त जिम्मेवारी स्वीकार गर्ने बताए । ‘म यसअघि दुई पटक मन्त्री बनिसकेको हुँदा अब मन्त्री नबन्ने निर्णय लिएको छु,’ उनले भने, ‘पार्टीको तर्फबाट अन्य साथीहरु मन्त्री बन्नुहुनेछ ।’

सबैभन्दा ठूलो दलको रूपमा एमालेले मुख्यमन्त्री दाबी गर्नु स्वभाविक भएको भन्दै आङ्बोले ७ वटै प्रदेशको भागबण्डा गर्दा प्रदेश १ गठबन्धनभित्रका जुनकुनै दलको भागमा पर्नसक्ने भएकोले सहमतिलाई सहज स्वीकार गर्ने उनले बताए । यद्यपि प्रदेश १ को नेतृत्व माओवादीको भागमा ल्याउन पहल गर्ने उनले बताए ।

माओवादी केन्द्र प्रदेश १ संसदीय दलको नेता छान्न भोली (पुस १२ गते) बैठक बस्दैछ । उक्त बैठकबाट दलको नेतामा आफू बन्ने आङ्बोको विश्वास छ । यद्यपि आङ्बोलाई अर्का नेता दुर्गाप्रसाद चापागाईंले चुनौती दिने भएका छन् । चापागाईले अवसरहरु सबैले पाउनु पर्ने भन्दै पटकपटक एकै जनालाई हुन नहुने भन्दै आङ्बोप्रति असन्तुष्टि व्यक्त गरे ।

‘उहाँले ५ वर्ष नेतृत्व गर्नुभएकोले मैले उहाँलाई मलाई सहयोग गर्नुहोस् भनेको छु, हामी छलफलमा छौं, उहाँले पनि अनुभवको हिसाबले मलाई सहयोग गर्नुहोस् भन्नुभएको छ,’ चापागाइँले भने, ‘हामी सहमतिमा टुंगो लगाउँछौं, सहमति भएन भने लोकतान्त्रिक तरिकाले टुंगो लाग्छ ।’ उनले दलको नेता चयन सहमतिबाट नहुन सक्ने बताए । ‘मैले पार्टीभित्र सबैले पाउने गरी आलोपालोमा जाउँ अवसरहरूलाई समान ढंगले वितरण गरौं । विगतमा त्यो भएन । पहिलो पटक र दोस्रो पटक सरकार बन्दा त्यो अवसर प्राप्त भएन,’ उनले भने ।

मङ्गलबार, १२ पुष, २०७९, बिहानको ०८:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर