नव निर्वाचित सांसद भन्छन्–पहिले प्रदेश एकलाई नाम दिन्छौ, अनि अरु काम गर्छौ

विराटगनर । प्रदेश नम्बर १ का नवनिर्वाचित सांसदहरुले आफूहरुको पहिलो प्राथमिकता प्रदेश नामकरण भएको बताएका छन् ।प्रदेशसभाको पहिलो प्राथमिकताको रुपमा नामकरणलाई दिई प्रदेशको नाम राख्ने उनीहरुले सपथ ग्रहण लगत्तै प्रतिक्रिया दिएका छन् ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य अमृत अर्यालले प्रदेशलाई नाम दिनु आफ्नो दलको अबको पहिलो प्राथमिकता हुने बताउँदै भने,‘पहिलो कार्यकालमा प्रदेशले राजधानी टुंगो लगाएपनि नामको विषय थाँती नै रहन पुग्यो, अब हामी प्राथमिकतासाथ नामकरणमा लाग्ने छौं ।’ अर्यालले संघीयता कार्यान्वयनका लागि प्रदेशलाई स्थापित गराउन प्रदेश अधिकार सूचीका कामलाई समेत महत्व दिएर अघि बढ्ने बताए ।

राप्रपाका सांसद भक्ति सिटौलाले आफूहरु प्रदेश खारेजीको पक्षमा रहेपनि प्रदेशमा गई काम गर्न जनमत प्राप्त गरेको आएको र सोहीअनुरुप अघि बढ्ने बताए । “सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा पार्टीको केन्द्रीय समितिको नीतिमा भरपर्छ तर हामी यहाँको आवश्यकताअनुसार सरकारमा सामेल हुन सक्छौं,” सिटौलाले भने,“नाम राख्ने विषयमा पनि हाम्रो साथ सहयोग भने हुनेछ । हामी प्रदेशभित्र रहेर आफ्नो पार्टीको एजेण्डा लागू गराउन सक्रिय हुनेछौं ।”

नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले केन्द्रमा बनेको नयाँ गठजोडअनुसार प्रदेश १ मा एमालेकै नेतृत्वमा सरकार गठन हुने संभावना चुलिएर गएको बताए । भने,“प्रदेशलाई थप बलियो बनाउने र बाँकी रहेको नामलाई पनि टुंगोमा पुर्याउने दिशामा काम गर्नेछौं ।”नेपाली कांग्रेसका सांसद भीम पराजुलीले दोस्रो कार्यकाल शुरु भईरहँदा आफूहरु प्रदेशको जिम्मेवारीमा पुगेको र अब संघीयता कार्यान्वयनमा थप सशक्त भएर अघि बढ्ने बताए । उनले भने,“हामी सके पहिलो नत्र त्यस लगत्तैको प्रदेशसभा बैठकमा नामको प्रस्ताव होस भन्ने पक्षमा छौं । सबै दलहरुसँगको सहमति र छलफलमा नाम टुंगो लगाउने तयारी गर्नेछौं ।”

प्रदेश नं १ का मुख्यमन्त्री तथा एकीकृत समाजवादीका सांसद राजेन्द्रकुमार राईले पहिलो कार्यकालमा नाम टुंगो लगाउन नसेपनि अब चाँडै यस विषयमा सदनमा प्रस्ताव लगिने बताए । “हामीले पहिलो कार्यकालमा नाम राख्न नसकेकै हो, अब भने जनमत शिरोधार्य गर्दै नामलाई सकेसम्म टुंगोमा पुर्याउने छौं ।”

आर्थिक मामिला तथा योजना मन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद इन्द्र आङ्बोले प्रदेश नामकरणको विषयमात्र नभएर प्रदेश सरकारका स्थायी संरचनालगायत विषयमा पनि गतिशील भएर काम गर्ने बताए ।

मङ्गलबार, १२ पुष, २०७९, बिहानको ०८:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर