आकर्षक ब्याजको लोभमा पर्दा विराटनगरका सर्वसाधारणको लाखौँ रुपैयाँ जोखिममा

विराटनगर । आकर्षक ब्याज पाउने लोभमा ऋण दिँदा विराटनगरका एक दर्जन बढी सर्वसाधारणको लाखौँ रुपैयाँ साँवा रकम जोखिममा परेको छ ।

लघुबितीयमा काम गर्ने विराटनगर १५ की ४० वर्षीय गायत्री भट्टराईले यहाँका एक दर्जन बढी सर्वसाधारणसँग ब्याजमा लिएको लाखौँ रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि उनीहरूको सावा रकम जोखिममा परेको हो ।

गायत्रीलाई ब्याजमा ऋण दिने विराटनगरका १२ जना सर्वसाधारणले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी लाखौँ रुपैयाँ लिएर सम्पर्कविहीन भएको बताए । गायत्रीले आकर्षक ब्याज दिने प्रलोभनमा पारेर ऋण लिएको र फिर्ता नदिएको भन्दै उनीहरूले सावा रकम दिलाइदिन हारगुहार गरेका छन् ।

विराटनगर–१५ की आरती साहले पाँच वर्ष अगाडी गायत्रीलाई ८ लाख रुपैयाँ १० प्रतिशत ब्याजमा ऋण दिएकी थिइन् ।विश्वासिलो भएर ऋणको लेनदेन भइरहने भएकोले आरतीले गायत्रीलाई ब्याजमा दिएकी थिइन् । उनले कारोबार गर्ने स्थानीय गायत्रीले ऋण लिन्थिन् र दिने पनि गरेकी थिइन् । ‘लगेको पैसा चुक्ता गर्ने, फेरी लिने र फर्काउने गर्थिन् । त्यही विश्वास पैसा दिए । अहिले आएर गायत्री सम्पर्कविहीन भएपछि सावा रकम जोखिममा परेको छ,’ उनले भनिन् ।गायत्रीले कसैको सयकडा १० प्रतिशत, कसैको सयकडा ५ र कसैको ३ प्रतिशतमा ब्याजमा ऋण लिएकी थिइन् ।

इटहरी ७ की कुसुम तामाङले पनि गायत्रीलाई ३ लाख रुपैयाँ १० प्रतिशत ब्याजमा ऋण दिएको सात वर्ष भएको बताइन् । ‘सात वर्षदेखि कारोबार गर्दै आएको थिएँ, दिएको फिर्ता दिने र फेरी लिने भइरहेको थियो । सुरुमा राम्रै थियो, अहिले पैसा फिर्ता दिने कुरै नभएपछि कानुनी उपचार खोज्न लागेका हौँ,’ उनले भनिन् ।

गायत्रीको सम्पूर्ण परिवार मिलेर ऋण लिएको तर तिर्ने बेलामा थाहा नभएको भन्न थालेको उनको भनाई छ ।

गायत्रीलाई घिमिरे, तामाङ जस्तै विराटनगर–१५ की सगुन तिम्सिनाले ६ लाख ५० हजार, तिनु साहले ४ लख ७० हजार, पूजा साह, दीक्षा साह, विजलीदेवी साह, अशोक घिमिरे, लक्ष्मण साह, मंगली क्षेत्री, दुर्गालक्ष्मी शाक्य, सोनीका तामाङ, अशोककुमार साहसहितका व्यक्तिहरूले ऋण लगानी गरेको दाबी गरेका छन् ।उनीबाट ऋण लिएकाहरूले इलाका प्रहरी कार्यालय रानीमा ठगी विरुद्धको उजुरी दिएका छन् । त्यसमा १८ जनाले आफ्नो पैसा लिएर फिर्ता नदिएको उल्लेख गरेका छन् ।

यता गायत्रीलाई पटक पटक फोन समर्पक गर्दा पनि उनीसँग समर्पक हुन सकेन । गायत्रीकी छोरी सुजता भट्टराईले भने आफ्नी आमा बिरामी भएर उपचारका क्रममा काठमाण्डौंमा रहेको बताइन् । उनले कानुनी उपचारमार्फत आफ्नो ऋणको पुष्टि गरेर फिर्ता लिन सबैसँग आग्रह गरेकी छिन् । ऋण लेनदेनको कागज, त्यसमा परिवारको सदस्यको संलग्नता, प्रयोजन खुलाइएको विवरण, कागजमा उल्लेख गरिएको रकम, त्यो रकमको स्रोत, कागज गरिँदा उल्लेख गरिएको ब्याजदर समेत सबैको मूल्याङ्कन हुनुपर्ने माग गरिन् । मिटर ब्याजमा ऋण लगानी गरेर साँवाको दोब्बर ब्याज असुल्नेहरूमाथि राज्यले कारबाही गर्नुपर्ने माग छोरीको छ । यता ऋण लगानी गर्नेहरूको संख्या अझै बढ्ने र गायत्रीको नाममा दुई करोडको भार रहेको दाबी पत्रकार सम्मेलनमा सहभागीहरूले बताएका छन् ।

ऋण लिएपछि गायत्रीले माइक्रो फाइनान्स, स्वरोजगार लघुवित्त वित्तीय संस्था, छिमेकी बैंक जस्ता वित्तीय संस्थामा कारोबार गर्ने गरेकी थिइन् ।

बिहिबार, ०७ पुष, २०७९, साँझको ०६:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर