विराटनगर । प्रदेशसभा सचिवालयले प्रदेश १ का नवनिर्वाचित सांसदहरुको शपथको मिति टुंगो लगाएपछि संसदीय दलको नेता छान्ने कसरतमा दलहरु जुटेका छन् ।
९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि जसपाकी एक्ली सांसद निर्मला लिम्बू निर्णायक हुने अवस्था छ । जसपाले अहिलेसम्म निर्णय लिइनसकेका कारण प्रदेशमा सरकारको नेतृत्व कसले लिने भन्ने होड खुला छ । यसरी केन्द्रीय समिकरणको बाटो हेरेर बसेका कारण पनि प्रदेशमा दलहरुले दलको नेता चयनमा ढिलाइ गरेका हुन् । यसबाहेक केन्द्रमा हुने शक्ति बाँडफाँटको सहमतिले पनि नेत ाचयन प्रक्रिया प्रभावित पार्ने भन्दै दलहरुले ढिलै गरिरहेका हुन् ।
केन्द्रमा अधिकांश दलहरुले संसदीय दलको नेता चयन गरिसकेका छन् भने नेपाली काँग्रेसले बुधबार दलको नेता चयन गर्दैछ । केन्द्रको समीकरण र निर्देशन दुवै कुरेर बसेका प्रदेशस्थित दलहरुले पुस ११ कै आसपासमा दलको नेता चयन गर्ने तयारी थालेका हुन् । प्रदेश सांसदहरुले पुस ११ मा शपथ लिँदैछन् ।
प्रदेश १ संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेले ‘अबको एक साताभित्र दलको नेता चयन गर्ने’ जनाएको छ । ‘सपथकै दिनसम्ममा टुंगो लगाउने सम्भावना छ’, एमाले नेता एवम् प्रदेशसभा सदस्य हिक्मत कार्कीले भने ‘त्यही दिन सम्भव भएन भने एक साताभित्र हामी दलको नेता चयन प्रक्रिया टुंगो लगाउँछौं ।’
२५ जना प्रत्यक्ष र १५ जना समानुपातिक प्रणालीबाट निर्वाचित गरी एमाले प्रदेश संसदीय दलमा ४० सदस्य छन् । एमालेमा यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी सम्हालिसकेका कार्की दलको नेताको बलियो दाबेदार हुन् । पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका उनलाई उनलाई दलभित्र चुनौती दिन अहिलेसम्म कोही खुलेका छैनन् । हिजो १० बुँदे समझदारी गरेर आएकाहरु ज्यादै न्यून भएका कारण पनि एमालेभित्र दलको नेतामा प्रतिष्पर्धा हुने सम्भावना ज्यादै क्षीण छ ।
अध्यक्ष केपी ओली निकट रहेका कार्कीलाई ताप्लेजुङका तिलकुमार मेयाङ्बोले चुनौती दिने चर्चा यसअघि एमालेभित्र थियो । तर, एमालेको नेतृत्वमा सरकार बनेको खण्डमा मन्त्रीको जिम्मेवारी निश्चित गर्न उनले ‘बार्गेनिङ’ गरेको एमाले स्रोतको भनाइ छ । मेयाङ्बो लामो समय माधव नेपाल समूहमा रहेका र १० बुँदे हुनु अघि मात्रै ओली समूहमा लागेका नेता हुन् ।
प्रदेशसभाको दोस्रो ठूलो दल काँग्रेसभित्र भने संसदीय दलको नेता बन्ने होड रोचक देखिने सम्भावना छ । गठबन्धनमा सबैभन्दा ठूलो दल भएका कारण पनि प्रदेशको नेतृत्व पाइने आशामा काँग्रेसभित्र प्रतिष्पर्धा बढी छ ।
प्रत्यक्षमा १७ र समानुपातिकका १२ गरेर २९ जना सांसद भएको काँग्रेसमा दलको नेताको दौडमा चार जना सामेल छन् । प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्यहरु अमृत अर्याल र भीम पराजुली तथा हालका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की दलको नेता बन्ने दौडमा छन् । कार्की शेखर कोइराला पक्षका हुन् भने थापा, अर्याल र पराजुली संस्थापन पक्षका हुन् । प्रदेश सभापति थापा कृष्णप्रसाद सिटौला समूहका हु्न् । सिटौला संस्थापन पक्षमा लागेसँगै उनी पनि सोही समूहमा उभिएका झापाली नेता हुन् ।
प्रदेश सभापति समेत रहेका नवनिर्वाचित सांसद थापाले ‘पुस ९ वा पुस ११ बाट दलको नेता चयन प्रक्रिया सुरु हुने’ जानकारी दिए । ‘हामी पुस ९ वा पुस ११ मा बैठक बसेर दलको नेता चयन प्रक्रिया थाल्ने तयारीमा छौं’, थापाले भने ‘यसबारे निर्णय गरेर प्रक्रिया थाल्नेछौं ।’
काँग्रेसभित्र दलको नेताका आकांक्षी धेरै भएका कारण पनि निर्वाचनबाटै त्यसको छिनोफानो हुने सम्भावना बढी छ । त्यसैले मतदाता नामावली प्रकाशनदेखि मतदानसम्मको कार्यक्रम बैठकले तय गर्ने थापाले जानकारी दिए । ‘प्रक्रिया थाल्ने बैठक कहिले भन्ने आजभोलि नै निर्णय हुनेछ’, उनले भने ।
काँग्रेस प्रदेश १ मा संस्थापन पक्षमा १२, कोइराला पक्षमा ८ र सिटौला समूहका ९ जना छन् । यसरी हेर्दा सिटौलासहितको संस्थापन पक्ष प्रदेशमा बलियो देखिन्छ ।
प्रदेशसभाको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले भने प्रदेशसभा सदस्यहरुको सपथ पछि मात्रै दलको नेता छान्ने तयारी गरेको छ । केन्द्रमा पनि प्रतिनिधिसभा सदस्यहरुको शपथपछि मात्रै नेता चयन गर्ने उसको तयारी छ ।
प्रत्यक्षबाट ९ र समानुपातिक प्रणालीबाट ४ जना गरी १३ सदस्य रहेको माओवादी संसदीय दलभित्र अहिलेसम्म इन्द्रबहादुर आङबो एक्ला दाबेदार देखिन्छन् । सुरुको तीन वर्ष र राजेन्द्र राई नेतृत्वको सरकार बनेयता लगातार आर्थिक मामिला मन्त्री रहेका उनी पार्टीका सबैभन्दा सिनियर नेतासमेत भएकाले उनी नै नेता चुनिने माओवादी नेताहरु बताउँछन् ।
प्रदेशसभाको चौथो ठूलो दल हो राप्रपा । प्रत्यक्षतर्फ २ जना र समानुपातिकतर्फ ४ जना गरी ६ जना रहेको राप्रपा संसदीय दलले ‘दुई–तीन दिनभित्र नेता चयन गर्ने’ सांसद सविना बजगाइँले जानकारी दिइन्। उनका अनुसार पार्टीका केन्द्रीय प्रवक्ता भक्ति सिटौला दलको नेता चयन हुनेछन् । सिटौला र बजगाइँ दुवै जना झापाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
पाँचौं ठूलो दल नेकपा एकीकृत समाजवादीसँग ४ जना सांसद छन् । मुख्यमन्त्री राजेन्द्र राईसहित तीन जना प्रत्यक्ष र एक जना समानुपातिक सहितको दलको नेतामा मुख्यमन्त्री राई नै चयन हुने निश्चित रहेको समाजवादीका नेताहरुले बताएका छन् । जनता समाजवादीसँग एक जना मात्रै सांसद रहेका कारण निर्मला लिम्बू नै दलको नेता हुनेछिन् ।