आँखाको लेन्स पनि तस्करी !

विराटनगर । नेपालमा आँखाको लेन्स तस्करी भएर आउने गरेको पाइएको छ । नेपालमा उत्पादन भएको आँखाको लेन्स भारत लगायत तेस्रो मुलुकहरुमा निर्यात हुने गरेको अवस्थामा भारतबाट तस्करी भएर लेन्स आयात हुने गरेको घटना सार्वजनिक भएको हो ।
भारतबाट तस्करी भएर आयात भएको आँखाको लेन्स प्रहरीले आइतबार विराटनगर १६ बाट बरामद गरेको थियो ।

आँखा उपचारका लागि नेपालमा सञ्चालित आँखा अस्पतालहरुको विश्वसनीयता भारत तथा बंगलादेशसम्म पनि प्रसिद्ध छ । सोही कारण वर्षेनी लाखौं भारतीयहरु आँखा उपचारका लागि नेपाली अस्पतालमा आउने गरेका छन् । नेपालमा सस्तो, भरपर्दो र विश्वसनीय उपचार हुने भएकोले मुख्यगरी भारत र छिमेकी मुलुक बंगलादेशबाट ठूलो संख्यामा मानिसहरु आउने गरेका छन् । नेपाली अस्पतालहरुले लेन्स लगायत उपचारमा प्रयोग हुने वस्तुहरुको गुणस्तरमा ध्यान दिएका कारण बढेको विश्वसनीयतालाई पछिल्ला घटनाक्रमले कमजोर बनाउने चिन्ता थपिएको छ ।प्रहरीले भन्सार छलेर भारतबाट ल्याइएको आँखामा लगाइने लेन्स, आँखामा प्रयोग हुने विभिन्न प्रकारका औषधि आदि वस्तु नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले त्यस बाहेक सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन जस्ता घरेलु उपयोगका वस्तुहरु पनि बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय रानीकाअनुसार १२ लाख ३ हजार ४२० रुपैयाँ बराबरको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।

मङ्गलबार, ०५ पुष, २०७९, बिहानको ०८:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर