यस्तो छ राष्ट्रपतिकी आमाको आश्रमबास

विराटनगर ।२०७३ सालको अन्तिमतिर राष्ट्रपति विद्यादेवी भण्डारीकी आमा मिथिला पाण्डे आश्रममा रहेको चर्चा भयो । सुनसरीको बराहक्षेत्र नगरपालिका  १ मा रहेको श्रीराम शान्ति कुञ्ज अनाथ महिला सेवा केन्द्रको आश्रममा पाण्डे बसेको समाचारमा उल्लेख थियो । तर, विपक्षीहरूले राष्ट्रपति भण्डारीले आमालाई वृद्धाश्रममा राखेको भनेर नकारात्मक टिप्पणी गरे ।

६ वर्ष अगाडिको यो टिप्पणीले राष्ट्रपति भण्डारीकी आमा मिथिला पाण्डेको भने धेरै चित्त दुःखेको रहेछ । गत शुक्रबार आश्रममा पुग्दा घाम तापेर बसिरहेकी पाण्डेसँग कुराकानी गर्ने मौका मिल्यो । त्यहाँ प्रवेशका लागि कुनै रोकटोक थिएन । सुरक्षाकर्मी तथा सेक्युरिटी गार्ड कोही पनि थिएनन् ।

राष्ट्रपतिको आमा बस्ने आश्रम कस्तो होला भन्ने जिज्ञासा सहित आश्रम परिसर प्रवेश गर्दा पाण्डे प्लाष्टिकको कुर्सीमा बसेर कामदारसँग कुराकानी गरिहेकी थिइन् ।त्यही सन्दर्भमा उनको फोटो खिच्ने अनुमति मागियो । फोटो खिचेर केही कुराकानी गर्ने हेतुले आफू पत्रकार भएको परिचय दिएपछि उनी क्रुद्ध जस्तो देखिइन् । जब उनलाई पत्रकारको परिचय दिइयो उनले उत्ति चासो दिइनन् । केही समयपछि उनले विगतमा पत्रकारले गरेको नकारात्मक प्रचारले पीडित बनेको आशयसहित आक्रोश व्यक्त गरिन् ।

‘छोरी राष्ट्रपति नभइ हामीले आश्रम बनाएका हौं । छोरी राष्ट्रपति भएको ७–८ वर्ष भयो होला । तर, हामीले यो बनाएको २२–२३ वर्ष क्रस गरिसक्यो । भन्न त राष्ट्रपतिले आफ्नी आमालाई आश्रममा राखेकी छिन् भनेर भन्छन् । यो साह्रै नराम्रो प्रचार हो । त्यसरी प्रचार गर्ने पत्रकारप्रति मलाई धेरै घृणा लागेको छ,’ उनले पत्रकारप्रतिको आफ्नो धारणा सुनाउन थालिन्, ‘हुन त पत्रकारले जसरी फाइदा हुन्छ त्यस्तै कुरा बोल्छन् । त्यस्तो कुरा होइन बाबु । आफूले राम्रो काम गर्यो भने राम्रै हुन्छ । आफू हरियो झिंगो हुन नखोज्नु, भँवरो हुन खोज्नु । राम्रोलाई राम्रो भन्नुपर्छ । नराम्रोलाई नराम्रो भन्नुपर्छ । नराम्रो छ त्यसले कुट्छ, मार्छ के के गर्छ भने त्यसलाई राम्रो भन्नु हुँदैन । राम्रो गरेको छ त्यसलाई यस्तो र उस्तो भनेर बंग्याउनु हुँदैन ।’

पाण्डेले धाराप्रवाह पत्रकारप्रति धारणा सुनाइरहँदा मैले सुन्नु बाहेक अर्को विकल्प भएन । उनले निरन्तर पत्रकारको बारेमा यस्तै टिप्पणी गरिरहिन् । ‘बाबुलाई पिर नपरोस् पत्रकारको बानी त्यही हुन्छ । किनभने पैसा कताबाट आउँछ, आम्दानीको स्रोत मात्रै हेर्ने । इज्जत कमाउने काम चाहिं तपाईहरु गर्नुहुन्न होला है….जस्तो लाग्छ (हाँस्दै..),’ यति भनेपछि मैले सोधें समाजका सबै क्षेत्रमा राम्रा नराम्रा सबै हुन्छन् नि आमा…त्यसको जवाफमा उनले भनिन्, ‘एउटा बिराउनेले शाखा पिराउने पनि हुन्छन् । त्यसखालको चाहिं नहुनु । नेताहरुले पनि सबैले राम्रो गरे त राम्रो हुन्थ्यो होला नि । अहिले काँही कोही पनि हार्दैन थिए होला… । हुन त चिप्लामा लड्नु निशाफमा हार्नु भन्छन्… । तर, जे गरेपनि हामी जिवित बस्दैनौं । एक दिन त हामी माटामा मिल्ने नै छ । तर, हामीलाई भगवानले शरिर सितिमिति त दिएको छैन । चौरासी लाखौं जुनुको उँभो हेर्ने शरिर पाएपछि हामीमा चेतना छ ।’

उनले थप्दै गइन् ‘गाईले बाच्छालाई राम्रो घाँस देख्यो भने उसको घाँस पनि खाइदिन्छ । तर, बाच्छालाई जन्म दिएको बेला रछ्यान पनि चाटेर माया दिन्छ । विवेक छैन नि गाईमा । त्यही भएर माया गरेको बाछो भएपनि राम्रो घाँस खाइदिन्छ । त्यसकारण पशु र मानिसमा फरक हुनुपर्छ । त्यसकारण गलत गरेकाहरुले जसो गर्यो त्यसै गर्नु भएन । आफ्नो इज्जत र बुद्धि जसरी राम्रो हुन्छ त्यसरी नै गर्नुपर्यो ।’

पाण्डेले कुराकानीका क्रममा आश्रममा १०–१२ जना वृद्धवृद्धाहरु रहेको जानकारी दिइन् । एक महिना अगाडि आश्रम आएकी उनी केही महिनापछि पुनः काठमाडौं जाने बताउँछिन् । ‘एकै ठाउँमा यहाँ बसिँदैन । म कति वर्ष बसें मेरो ध्यान नै छैन । पहिलेपहिले बसें । अहिले काठमाडौं तिरै बस्छु । यहाँ एक महिना अगाडि आएको हुँ । अब एकदुई महिना बसेर फेरि काठमाडौं जान्छु,’ उनले भनिन् ।
भोजपुर फालिकोट माइती र भोजपुरको मानेभञ्ज्याङ घर भएकी उनले २३ वर्ष अगाडि मोरङ केराउन कि यशोदा पाण्डेसँग मिलेर आश्रम निर्माणको सुरुवात गरेकी हुन् । ८३ वर्षकी उनी जहाँ हुँदा पनि आश्रमकै चिन्ता लागिरहने बताउँछिन् । ‘तपाईलाई जन्मे हुर्केको ठाउँको याद आउँछ कि आउँदैन, मलाई पनि यहाँको याद आइरहन्छ,’ पाण्डेको भनाइ छ ।

आश्रममा आएर बस्नेहरुका लागि खाना, नाना र सामान्य उपचार सेवाको व्यवस्था छ । ‘वृद्धवृद्धाको भत्ता पनि उनीहरु आफैं चलाउँछन्,’ पाण्डे भन्छिन् । आश्रममा २०–२२ जना बस्नसक्ने क्षमता छ । भवन तथा टहरा गरेर सो स्थानमा आधा दर्जन जति छन् । पहिले सुरुवातमा ४ वटा कोठाको भवन बनेको थियो । पहिलेपहिले मसान घाटले चिनिने यो स्थानलाई अहिले बालसन्त घाट तथा कुम्भ मेला स्थानको नामले चिनिन्छ ।
‘६० वर्षको हुँदा आश्रम खोलेको हुँ । अहिले एक दर्जन जति वृद्धाहरु आश्रममा बसिरहेका छन् । २२ वर्ष अगाडि चिहान घारी थियो, डाँडाकाँडा थियो । अहिले सम्याएर राम्रो बनेको छ,’ आश्रम खोल्दाको अनुभव सुनाउँदै उनी भन्छिन् ।

बराहक्षेत्र नगरपालिका, तत्कालीन सुनसरी जिल्ला विकास समिति, नेपाल सरकारलगायतबाट हालसम्ममा झण्डै ७ करोडजति लगानी भएको पाण्डेको अनुमान छ । यो पुण्यको काम हो नि भन्ने प्रश्नमा उनले भनिन्, ‘यो पुण्य भन्दा पनि कर्तव्य हो, पुण्य कमाउन त कहाँ सक्छौं र ? ।’

पहिले पहिले चतरामा केही पनि पाउँदैन थियो । साइकल र मोटरसाइकल आउँथ्यो । निर्माणका सामाग्रीहरु ल्याउन पनि धरान नै जानु पथ्र्यो । तर, अहिले सबैथोल आश्रम स्थलमै आइपुग्ने उनी बताउँछिन् । आश्रम चाहिं कसरी चलिरहेको छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘चन्दा दिनेले दिन्छन् । जहाँ पनि गहिरो ठाउँमा पानी जम्छ, डाँडामा जम्दैन भनिन्छ नि । अहिले हामी कसैसँग माग्न पनि गएका छैनौं । खानलाई भगवानले पुर्याएका छन् । आफ्नै खेतिबाट पहिले ल्याएको धान अहिले पनि छ । मोरङ बाहुनीमा आफ्नै खेती छ ।’ बेलबारी नगरपालिकामा पर्ने बाहुनीमा उनको झण्डै ७ विगाहा खेतीको जग्गा रहेको स्थानीय बताउँछन् । त्यहाँ उत्पादन भएको धानको केही हिस्सा आश्रममा पुग्ने गरेको छ । पाण्डेका श्रीमान् रामबहादुर पाण्डेको स्वर्गारोहण भइसकेको छ । पाँच जना छोराछोरीमा राष्ट्रपति भण्डारी भने जेठी हुन् ।

सोमबार, ०४ पुष, २०७९, बिहानको ०८:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर