जतिबेला धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ निर्वाचित हुँदै थिए, धरानमा नयाँ इतिहास रचिएको खुसीयाली थियो । लामो समयको वामपन्थी गढमा एक जना युवा स्वतन्त्र उम्मेद्वार विजेता बन्दा अर्कै राजनीतिक सन्देश पनि सञ्चारित भएको थियो । तर, निर्वाचन सकिएको सात महिना बित्दा नबित्दै मेयर साम्पाङ आलोचित मात्रै बन्दै छैनन्, धरानलाई अस्तव्यस्तसमेत पारिरहेका छन् । दैनिक कामकाज रोकिने, विकास निर्माणका कामहरु समयमा सुरु नहुने समस्या धरानमा देखिन थालेको छ ।
एकातिर नगरको अवस्था यस्तो छ भने मेयर चाहिँ जथाभावी लेख्दै र बोल्दै आएका छन् । उनले पछिल्लो समय कार्यपालिका सदस्यहरुको राजीनामा माग्ने असुहाउँदो माग अघि सारेर जग हँसाएका छन् । उनी जसरी नै निर्वाचित भएर आएका जनप्रतिनिधिलाई उनले राजीनामा माग्ने दुस्साहस गर्नु उनमा सवार हुँदै गएको दम्भको परिणाम हो । उनको दम्भले उनलाई व्यक्तिगत रुपमा क्षति त गर्नेछ नै, धरानलाई पनि हानी पुर्याउने निश्चित छ । नगरको मुख्य नेतृत्वको काम समन्वय कायम गरेर, सबैलाई मिलाएर अघि बढ्ने हो । यसरी आफ्नै सहयात्रीहरुलाई चिढ्याएर, उनीहरुसँग जुधेर मेयरको दायित्व किमार्थ पूरा हुने छैन ।
तीन महिनाभन्दा लामो समयदेखि धरानको कार्यपालिका बैठक आयोजना हुन सकेको छैन । यसमा मेयरको दम्भ सबैभन्दा ठूलो कारण बनेको छ । बैठकमा आफूजस्तै अर्को जनप्रतिनिधिलाई बोल्नै नदिने, बैठक छाडेर बाहिर जान आदेश दिने हर्कको शैलीले निम्त्याएको विवाद अझै बढ्दै छ । एकातिर आफ्नै सहकर्मी चिढ्याएका उनले यहीबेला दलित समुदायको अपमान हुने गरी लेख्ने काम जारी राखेका छन् । दलित आयोगले माफी माग्न गरेको आग्रह लत्याउँदै आएका उनले आइतबार साँझ विज्ञप्तिमार्फत माफी मागेका छन् । तर, आफ्ना अन्य गल्ती सच्याउनुको साटो झन् बढी गलत गतिविधिको सहारा लिँदै अघि बढेका हर्कको हर्कतमा ब्रेक लाग्न जरुरी छ ।
धरानका मेयरमाथि केही गम्भीर आरोपहरु लागेका छन् । आफू जसरी नै निर्वाचित भएर आएका अन्य जनप्रतिनिधिलाई बोल्नसमेत नदिई ‘बाहिर जानुस’ भनेपछि आलोचना खेप्न सुरु गरेका साम्पाङ यतिबेला कर्मचारीलाई थर्काएको, कसैलाई नटेरेको, आफूखुसी अघि बढ्न खोजेको, प्रचलित कानुन र विधि पालना नगरेको भनेर आलोचित बनिरहेका छन्। जातीय रुपमा अपमानजनक शब्द लेखेको भनेर दलित समुदायका अपमान गरेको विवादमा पनि परेका छन् । आइतबार मात्रै धरानका ६ वटा राजनीतिक दलहरुले संयुक्त विज्ञप्ति नै जारी गरेर उनको कार्यशैलीप्रति आपत्ति प्रकट गरेका छन् । प्रमुख राजनीतिक दलहरूले नगरप्रमुख साम्पाङलाई सामूहिक नेतृत्वको अवधारणा अनुसार अघि बढ्न तथा समन्वय, सद्भाव र सहकार्य स्थापित गर्न पनि सुझाव दिएका छन् । निश्चित छ, दलहरुको आग्रहलाई उनले अर्को षड्यन्त्र देख्नेछन् । यो घमण्ड र दम्भको आगोबाट उनी जति चाँडो बाहिर आउँछन्, उनको र धरानको हित हुनेछ ।