विराटनगर । अस्पताल विकास समितिमा हुने राजनीतिक नियुक्तिका कारण विराटनगरको कोसी अस्पताल विवादमा फँसेको छ । अस्पतालमा दुई वटा विकास समिति गठन भएको र अदालतले विवादको अन्तिम टुंगो नलगाइदिएका कारण बल्झिएको विवादले कोसी अस्पतालको दैनिक कार्य सञ्चालनदेखि विकासका काममासमेत नकारात्मक असर पर्न थालेको छ । राजनीतिक दाउपेच र स्वार्थका कारण भएको विवादले गर्दा अस्पतालमा करार सेवामा कार्यरत कर्मचारीहरुले तलव नपाउने समस्या उत्पन्न भएको छ ।
कोसी अस्पतालमा अहिले दुई वटा विकास समिति अस्तित्वमा छन् । जसले गर्दा लोमो समयदेखि विकास समितिको औपचारिक बैठक बस्न सकेको छैन । विकास समितिबाट निर्णय नहुँदा अस्पतालमा कार्यरत १२५ जना करार सेवाका कर्मचारीको तलब दुई महिनादेखि रोकिएको छ ।
कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादव नियुक्त भएपछि विकास समितिको बैठक बसेको छैन । यादवको नियुक्ति अगाडिसम्म विकास समिति क्रियाशील थियो । नेकपा एमालेका नेता महेश भट्टराईको नेतृत्वमा गठन भएको विकास समितिलाई हटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भीष्मजंग कार्कीको नेतृत्वमा नयाँ विकास समिति गठन गरेको थियो ।
सरकारले कानुन विपरित हटाएको भन्दै भट्टराई नेतृत्वको समिति अदालतमा रिट लिएर गएपछि अदालतले उनीहरुको माग बमोजिम अन्तरिक आदेश दिएको थियो । जसले गर्दा नयाँ समितिले काम गर्न नपाउने र राजनीतिक असहजताका कारण पुरानो समितिले पनि बैठक राखेर निर्णय गर्न प्रतिकुल हुने अवस्था सिर्जना भयो ।
विकास समितिको बैठकले कारारमा नियुक्त भएका कर्मचारीको म्याद थप गरेपछि कारारका कर्मचारीले तलब पाउने व्यवस्था रहेको छ ।
अस्पतालका तत्कालीन मेसु डा. यज्ञराज खरेल निमिक्त मेसु भएर अस्पताल आएपछि सर्वोच्च अदालतले आन्तरिम आदेश दिएर आएको समितिलाई आधिकारीक मान्दै बैठकमा बोलाएर कामकारवाही अगाडि बढाएका थिए । कार्की नेतृत्वको विकास समितिलाई तत्कालीन मेसु खरेलले बाइपास गरेर काम कारवाही अगाडि बढाएको आरोप लागेपछि उनलाई वर्तमान स्वास्थ्यमन्त्री भवानी खापुङ्गले जिम्मेवारीबाट हटाए । एकीकृत समाजवादीका मन्त्रीको भागमा परेको स्वास्थ्यमन्त्रीले स्थानीय नेताहरूको दबावमा नयाँ मेसु नियुक्ति गरे । १६ भदौमा अस्पतालका १० औं तहका फिजिसियन डा. लक्ष्मी नारयण यादवलाई निमिक्त मेसु नियुक्त भएर आए । उनी मेसु भएर आएपछि अस्पताल विकास समितिको बैठक बस्न सकेको छैन ।
‘अदालतको अन्तरिम आदेश लिएर आएको पुरानो विकास समितिलाई बैठकमा बोलाएर निर्णाय गर्दा बहालवाला स्वास्थ्यमन्त्रीका पार्टी एकीकृत समाजवादीका स्थानीय नेताहरू रुष्ट रहे पदबाट हटाउने हो कि भन्ने डर मेसुलाई रहेको छ । यसअघिका मेसु पुरानो समितिलाई आधिकारिक मान्दै काम गर्दा जिम्मेवारीबाट हटाएर नयाँलाई दिएको थियो । अहिले आएका मेसुले भट्टराई नेतृत्वको समितिलाई बैठकमा बोलाउँदा कार्की नेतृत्वको विकास समिति रिसाउने डरको कारणले बैठक बस्न नसेको हो,’ अस्पतालका सिनियर चिकित्सले भने ।
मेसु यादवल अहिले दुवै विकास समितिलाई मिलाएर अगाडि बढाएर लैजाने योजनामा छन् । बिहीबार कोशी अस्पतालको ५ सय शैय्याको मेडिकल भवनको शिलन्यास कार्यक्रममा अतिथिमा दुवै विकास समितिका अध्यक्षलाई अतिथिको लागि बोलाएका थिए । कार्की कार्यक्रममा उपस्थिति भए भने भट्टराई ढिलो खबर भएको भन्दै कार्यक्रममा सहभागी भएनन् । कार्यक्रम संचालन गरेकी मन्जु यादवले मञ्चमा दुवै अध्यक्षलाई आशन ग्रहणको लागि बेलाएकी थिइन् ।
चरणबद्ध आन्दोलनका कार्यक्रमण घोषणा
कोशी अस्पतालमा कार्यरत विकास समितिको करारमा नियुक्त भएका चिकित्सकसहित १२५ जना कर्मचारीहरूले तलब नपाएपछि आन्दोलनको कार्यक्रमहरू सार्वजनिक गरेका छन् । उनीहरूले आइतबारदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हुन् ।
कार्यक्रम अन्तर्गत आइतबार विहान एक घण्टा अस्पताल प्रशासन अगाडि धर्ना दिएका छन् । विहान १० बजेदेखि ११ बजेसम्म ओपिडि सेवा बन्द गरेर विरोध गरेका हुन् ।
विकास समितिको करारमा नियुक्त भएका ३० जना चिकित्सक, १६ जना स्टाफ नर्स, १० जना हेल्थ असिस्टेन्ट, १७ जना अनमी, ६ जना फार्मेशी सहायक, ६ जना ल्याबटेक्नीसियन, ४० जना कार्यलय सहयोगी, २ जना खरिदार, २ जना मुखिया, २ जना चालकसहित १२५ जना कर्मचारीले कार्तिक र मंसिर महिनाको तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । दुई महिना बितसिक्दा पनि विकास समितिको करारमा नियुक्त भएका स्वास्थ्यकर्मी र कर्मचारीहरूले तलब नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको अस्पतालका फिजिसियन डा. रोशन खड्काले बताए । ‘काम गरेको दुई महिना पुरा भइसक्यो । अहिलेसम्म तलब पाएको छैन । काररमा नियुक्त भएका कर्मचारीले मात्र तलब नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छ,’ उनले भने, ‘आइतबार सांकेतिक रूपमा आन्दोलनमा उत्रिएका छौं ।’ तत्काल तलब पाउने व्यवस्था नभए चरणबद्ध आन्दोलन गर्ने भन्दै कार्यक्रम तर्जुमा गरेको उनले बताए ।
सोमबार कालोपट्टी बाँधेर बिरामीको उपचार गर्ने र मंगलबार पनि तलब दिने बातवरण नभए अस्पताल परिसर बाहिर बसेर बिरामीको उपचार गर्ने चिकित्सकहरूले चेतवनी दिएका छन् ।
अस्पतालले विगत सात वर्षदेखि स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन भत्ता दिएको छैन । ‘भत्ता पाउनु त परको कुरा भयो । काम गरेको सेवा सुविधा लिन पनि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको छ,’ उनले भने ।
कोशी अस्पतालको निमित्त मेसु भएका डा. लक्ष्मीनारयण यादव आएपछि विकास समितिको बैठक बसेको छैन । विकास समितिको बैठकले कारारमा नियुक्त भएका कर्मचारीको म्याद थप गरेपछि कारारका कर्मचारीले तलब पाउने व्यवस्था रहेको छ ।