धरानको कार्यपालिका बैठक निरन्तर अवरुद्ध

धरान । धरान उपमहानगरपालिका कार्यपालिकाका बैठक तेस्रो पटक बिहीबार पनि हुन सकेन । गएको असोजमा मेयर हर्क साम्पाङले कार्यपालिका सदस्यमाथि गरेको अपमानजनक शब्द फिर्ता लिएर माफी नमागेसम्म कार्यपालिका सदस्यहरूले बैठकमा सहभागी नहुने अडान लिएकाले पनि बैठक बस्न नसकेको हो । मेयर साम्पाङले भने आफूले माफी माग्नुपर्ने गरी केही नबोलेकोले माफी नमाग्ने अडान राख्दै आएका छन् ।

कार्यपालिकाको बैठक लगातार बस्न नसक्दा मेयर साम्पाङको एजेण्डाहरु अलपत्र परेका छन् । बिहीबारका लागि बोलाइएको बैठकको मुख्य एजेन्डा नगर सभा सम्बन्धमा थियो । चालु आर्थिक वर्षको मध्यमा बोलाइने नगर सभामा बजेट खर्चको समीक्षा गरिन्छ । नगर विकास योजनाका प्राथमिकताहरू अनुसार बजेट रकमान्तरका प्रस्तावहरुसमेत प्रस्तुत हुने भएकाले उक्त एजेन्डा महत्वपूर्ण मानिन्छ ।

उक्त एजेन्डासहित मेयर साम्पाङको नयाँ योजना सांस्कृतिक पार्कको एजेण्ड पनि अलपत्र परेको छ । धरान स्थापना भएको पहिलो वर्षको स्मृतिमा मनाइँदै आएको वार्षिकोत्सव ‘धरान डे’ यसपालि पनि मनाउन बैठकमा प्रस्ताव थियो । पुषको पहिलो हप्ता धरान डे मनाइने गरिन्छ । उक्त एजेन्डा सहित कुल ७ वटा एजेन्डा बैठकका लागि तय गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

लगातार बैठक बोलाइने तर शुरु नै नभई स्थगित हुनुमा मेयर सम्पाङ जिम्मेवार भएको वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूले आरोप लगाउँदै आएका छन् । धरान–१७ का अध्यक्ष तथा कार्यपालिका प्रवक्ता सूर्यबहादुर भट्टराई मनोजले मेयर साम्पाङले कार्यपालिका सदस्यमाथि गरेको अपमानजनक शब्द फिर्ता लिएर माफी नमागेसम्म कोही पनि कार्यपालिका सदस्यहरू बैठकमा सहभागी नहुने बताएका छन् ।

बैठक बहिस्कार गर्ने पूर्व तयारीका साथ बैठक कक्षमा ४ जना वडाअध्यक्ष कार्यपालिका सदस्यहरू मात्र आएका थिए । वडा १७ अध्यक्ष सूर्यबहादुर भट्टराई मनोज, वडा १५ अध्यक्ष नरेश इवारम, वडा १८ नरेन्द्रकुमार राई (प्रवीण), वडा ६ का भूपेन्द्र भट्टराई र कार्यपालिका सदस्य दिनेश गजमेर उपस्थित भएका हुन ।

वडा १३ का अध्यक्ष नेत्रप्रसाद काफ्लेका अनुसार लगातार बैठक स्थगित हुनुमा मेयर साम्पाङ दोषी छन् । उनले भने ‘तोक आदेशको भरमा नगरपालिका चलाउँछु भनेर राजाको शैलीमा काम गर्ने उहाँको चाहना कार्यपालिकामा सहकार्यको लागि बाधक बनेको छ ।’ यसमा सुधार नभए धरानका विकास कार्यहरू प्रभावित हुने देखिएको उनले बताए ।

शुक्रबार, ०१ पुष, २०७९, बिहानको ०८:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर