विराटनगर । विराटनगर महानगरपालिकाबाट भइरहेका पछिल्ला काम कारवाहीप्रति नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
कानुन बमोजिम जग्गा वर्गीकरण नगरी हचुवाको भरमा जग्गालाई कृषि र गैह्रकृषि क्षेत्रमा वर्गीकरण गरेको र यस्ता निर्णय गर्दा सूचना पाउनु पर्ने जनताको हक खोसिएको भन्दै उनले महानगरको कामकारवाहीप्रति सचेत खवरदारी गर्न जरुरी रहेको औंल्याएका छन् । जग्गाको कित्ताकाट खोल्न कृषि क्षेत्रलाई संकुचन गरेको विषयमा पनि उनले प्रश्न गरेका छन् । कृषि क्षेत्रमा राखिनु पर्ने जग्गालाई आवास क्षेत्र बनाएर त्यसै ठाउँमा मकैको बिउ वितरण गरिएको भनेर सञ्चार माध्यममा आएका विषयलाई पनि उनले गम्भीर रुपमा लिएको जनाएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै थापाले महानगरले खुला समाजमा जथाभावी काम गर्न नमिल्ने बताएका छन् । उनले महानगरको कामलाई आफूले नजिकबाट नियालिरहेको भन्दै महानगरले पछिल्लो समय गरेको कर्मचारी नियुक्तिमाथि पनि प्रश्न उठाएका छन् ।
विराटनगर महानगरपालिकाले केही दिन अघि कर्मचारीहरुको व्यापक सरुवा गरेको विषयमा पनि थापाले प्रश्न उठाएका छन् । गत स्थानीय तह निर्वाचनमा निकटम् प्रतिद्वन्द्वी समेत रहेका थापाले कर्मचारीलाई परिबन्धमा पारेर सरुवा गर्ने तथा हटाउने कार्यको विरोध गरेका छन् ।
कर्मचारीलाई मापदण्डबिना सरुवा गर्ने काम भएको, कर्मचारीलाई मनलाग्दी हटाइएको भन्दै उनले संगठन संरचना व्यवस्थापन अध्ययन गर्नुपर्नेमा त्यसो नगरिएको बताए । महानगरमा कति कुन तहको कर्मचारी आवश्यक छ, कुन पदमा आवश्यकता भन्दा बढी छन् भन्ने स्पष्ट नभई कर्मचारीहरु हटाइएकोप्रति पनि असहमति जनाएका छन् । विज्ञमार्फत अध्ययन गराएर मात्र कर्मचारीको नियुक्ति र सरुवा बढुवा गर्नुपर्ने उनले बताएका छन् ।
विराटनगरको विकास निकै सुस्तगतिले भइरहेको, फोहोरमैला व्यवस्थापन ठिक ढंगले नभएको, निर्माण सम्पन्न गरेर उपभोक्ता समितिहरुले भुक्तानी मागेपनि भुक्तानी नपाइरहेकोप्रति उनले गम्भीर चासो व्यक्त गरेका छन् ।
महानगर कार्यपालिकामा बहुमत सदस्य रहेको नेकपा एमालेका नगर अध्यक्ष थापाले स्थानीय तह निर्वाचन भएको ८ महिना पछि पहिलो पटक महानगरबाट भएका क्रियाकलापप्रति सार्वजनिक टिप्पणी गरेका हुन् ।

