व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्र : डिआइजी गिरी

विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी सुदीप गिरीले व्यावसायिक प्रहरी उत्पादनको उद्गमस्थल प्रहरी तालिम केन्द्र बन्दै गएको बताएका छन् ।

१ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको ५७ औँ वार्षिकोत्सवको बुधवार उद्घाटन गर्दै डिआइजी गिरीले यस्तो बताएका हुन् ।
उनले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरूको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भूमिका रहेको बताए । उनले सक्षम तथा प्रभावकारी प्रहरी सङ्गठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको बताए । योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा सङ्गठनको अपेक्षा अनुरूप प्रतिफल दिन सक्ने उनले बताए ।

समयको परिवर्तन सँगसँगै नागरिकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै हिजोका दिनहरू भन्दा फरक तर सरल र सहज रूपमा सेवा प्रदान गर्ने भावनाको विकास तालिमका दिनहरू देखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोही अनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई निर्देशन समेत डिआइजी गिरीले दिए ।

उनले अनुशासन प्रहरी सङ्गठनको गहना रहेको बताउँदै तालिम केन्द्रका प्रशिक्षकहरूको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलिको दिनमा प्रहरीहरूको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामूहिक कार्यले सबै जना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमुना तालिम केन्द्रको रूपमा स्थापित गर्ने गरी उच्च व्यावसायिकताका साथ काम गर्न निर्देशन समेत दिए ।

डिआइजी गिरीले वार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटबल, भलिबल, टेवलटेनिस र ब्याडमिन्टन लगायत अन्य खेलका विजय हुने खेलाडीहरूलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गरे । यसै गरी तालिम केन्द्रमा वर्ष भरीमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई समेत पुरस्कृत गरिएको थियो । सोही अवसरमा प्रकाशन गर्दै आएको स्मारिकालाई समायानुकुल थप परिष्कृत एबम् प्रविधिमैत्री बनाउँदै केन्द्रको सम्पूर्ण गतिविधि झल्कने गरी तयार पारिएको वृत्तचित्रको लोकार्पण गरे ।

कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका सह समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले समयानुकूल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने व्यावसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा स्थापना कालदेखि हालसम्म विभिन्न आधारभूत तथा उन्नत तालिमहरू समेत गरी कुल ८१ हजार २ सय ४३ जना प्रहरी अधिकृत तथा जवानहरूलाई प्रशिक्षित गरिसकेको जानकारी गराए ।

कार्यक्रममा केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले उपस्थित सबैमा धन्यवाद दिनु हुँदै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्षम , व्यावसायिक एवं कर्तव्यनिष्ठ प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र विकल्प रहेकोले प्रशिक्षण पद्धतिलाई आधुनिक, व्यवस्थित तथा उपलब्धिमूलक बनाउने कार्यमा तालिम केन्द्र निरन्तर अगाडि बढिरहेको बताए । वार्षिक उत्सव कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका महासचिव अजिता देवकोटा बास्तोला, प्रहरी वरिष्ठ उपरीक्षक, लगायत प्रहरी अधिकृत तथा जवानहरू र पूर्व प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो

बुधबार, २८ मंसिर, २०७९, साँझको ०५:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर