गुरुराज घिमिरे
चन्द्रमामा पहिलोचोटि पाइला राखेबापत निल आर्मस्ट्रङ्गलाई अमेरिका मात्र होइन, सम्पूर्ण संसारले सम्मान र इज्जत ग¥यो । बज एल्ड्रिन र माइकल कोलिन्स पनि सँगै थिए । उनीहरू पनि पहिलो हुन सक्थे तर भएनन् ।
जब यानबाट उत्रिने समय भयो एक आपसमा मुखामुख गरे । उत्रिँदाको सम्भावित जोखिमबारे अनुमान लगाएर एपोलो ११ बाट आर्मस्ट्रङ्गलाई पहिले उत्रिन दिए । आज उनीहरूलाई संसारले निल जसरी चिन्दैन र उनी सरहको प्रतिष्ठा पनि छैन । उही काम, उस्तै जोखिम र साहस तर अन्तिम कदमले मानव जातिको इतिहासमा चन्द्रमामा पुग्ने पहिलो मानव हुन पाएनन् ।
अदम्य साहस, जेहेन्दारी र सचेतताको परिणाम थियो निलको पहिलो पाइला राख्ने कदम । र, उनलाई संसारले दिएको सम्मान यसैको पारितोषिक हो । यसबाट प्रमाणित हुन्छ, दुनियाँमा कीर्तिमान नराखी प्रतिष्ठित बनिँदैन र उचित सम्मान पनि पाइँदैन । राजनीति पनि त्यस्तै त हो । संसदीय निर्वाचन सकियो, अब लेखाजोखा शुरू भएको छ । कहाँ के भयो,कसले के ग¥यो, परिणाम कस्तो आयो । राजनीतिक दल र समाजका अगुवाहरूका आ–आफ्नै विश्लेषण हुन सक्छन् र तर्क एवं निचोड फरक फरक हुन सक्छन् ।
जसको बुझाई जे भएपनि आमनेपाली मतदाताहरूको पुराना राजनीतिक दलहरूसँग असन्तुष्टि र आक्रोश निरन्तर बढेको देखिन्छ । मतदाताको दिक्दारी निर्वाचनमा व्यक्त अभिमतबाट स्पष्ट झल्किन्छ । परिणाम आइसक्यो, अब यो फेरिँदैन । गठबन्धन भएकाले प्रत्यक्षमा ज–जसको जतिसुकै सीट भए पनि समानुपातिकतर्फ प्राप्त मत नै दलहरूको वास्तविक हैसियत हो । यसलाई हामी सबैले लाज नमानी स्वीकार गर्न सक्नुपर्छ । यतिबेला हामी नेपालको सर्वाधिक लोकप्रिय पार्टी रहेनौं । यसोभन्दा तलमाथि पर्छ भनेर संकोच मान्नु हुँदैन । २९ लाख मतदाता थपिँदा २०७४ भन्दा ४ लाख कम मत कसरी आयो, हामी सबै गम्भीर हुनुपर्छ र यहीँबाट काम शुरू गर्नुपर्छ । आजको बहस भने कांग्रेस पार्टीको आन्तरिक संगठनात्मक आयामका बारेमा केन्द्रित गर्नु उपयुक्त हुनेछ ।
मूलतः कांग्रेसभित्रको चिन्तन प्रणाली शास्त्रीय र परम्परागत छ । यस समस्याबाट पुरानो पुस्तामात्र होइन, नयाँ पुस्ता समेत आक्रान्त देखिन्छ र कुनै जोखिम लिन तयार देखिँदैन । हामीले एउटा कुरा के बुझ्नुपर्छ भने फगत सिद्धान्त र नाराले मात्र परिणाम दिँदैन । हामी नारावादी मात्र देखियौं, तदनुकूलको व्यावहारिक अग्रसरता पटक्कै भएन ।
म मेरो संस्था या देशलाई निश्चित समयमा निश्चित ठाउँमा पु¥याउँछु भन्ने संकल्प नै देखिएन । बीपीले १५ वर्षभित्र सबै नेपालीहरूलाई आफूसरह बनाउँछु भनेको होइन र ! पहिलो कुरा त कार्यसूची खोइ ? अनि परिणाम आउँछ कसरी ? पैतृक सम्पत्तिमा २÷३ पुस्ताले ढलिमलि गरेर अन्तिममा सुकुम्बासी भएजस्तो पौरख र आर्जन छँदैछैन । कुनै ‘प्राइम टार्गेट’ छैन । दलभित्रको आन्तरिक जीवन प्रणाली सुधार्नमा कसैको ध्यान छैन । जता हे¥यो उतै भ्वाङ परेको छ, सामान्य टालटुल समेत छैन । र, एकै शब्दमा भन्नुपर्दा अहिले पार्टीलाई जीर्णोद्दार गर्नुपर्ने प्राथमिक आवश्यकता छ । तर गर्ने कसले ? कसैको प्राथमिकतामा यो काम पर्दैन ।
२०४६ साल यता विस्तारित ठूलो संगठनलाई व्यवस्थापन गर्न कसैको पनि ध्यान गएको देखिएन । निरन्तरको सत्ता प्राप्तिले पार्टीका मूल खेलाडीहरूको ध्यान पार्टी संगठनभन्दा सत्ताको आमोदप्रमोदमा केन्द्रित भयो । संगठन धार झरेको हतियार जस्तो भुत्ते भयो । संगठनका जिम्मेवार व्यक्तिहरूको दृष्टि बिल्कुलै संगठनबाहिर केन्द्रित भयो ।
यस्तो चालाले हामीलाई कहाँ पु¥याउँछ ? भर्खरै सम्पन्न चुनाव र दलहरूको आकस्मिक उदयले गरेका संकेतहरू निकै खतरनाक देखिन्छन् । यस आँधीबाट जोगिने कसरी ? वर्षातमा आउने बाढी पहिरोबाट जोगिन समयमै होश पु¥याएजस्तै चुनावी हुण्डरीबाट जोगिन त केही गरिएन नै, अब त गर्नु पर्ला नि ! तर यस विषयमा कसैको ध्यान गएको पाइँदैन । यो निकै दुःखद पक्ष हो । माथि नै चर्चा भइसक्यो जसले अग्रसरता लिन्छ, त्यही नेता हो ।
व्यक्ति, संस्था वा राष्ट्रले समाजका घटनाक्रमहरूलाई बेवास्ता वा नजरअन्दाज गर्नु हुँदैन । यस्ता घटना भविष्यका संकेत हुन् । नेपालको राजनीतिमा पछिल्ला घटनाक्रमले गम्भीर संकेत गरेको छ । यसले पुराना दलहरूलाई अन्तिम चेतावनी दिएको छ । अब के हुन्छ त ? दलहरूमा होस आउँछ त ? देश बनाउने कहिलेबाट ? क्रान्ति भनेको फगत राजनीतिक द्वन्द वा संघर्ष मात्रै होइन । स्वामी विवेकानन्दले भनेका छन्, ‘क्रान्तिका लागि युवाहरू तयार हुनुपर्छ अर्थात् क्रान्ति युवा चाहनामा निर्भर हुन्छ । मलाई जम्मा एक सयजना सक्षम युवाको मात्र खाँचो छ, त्यति भए भारत बन्छ ।
‘यसको मतलव देशको उन्नति भन्न खोजेको हो । हामी सबैले क्रान्ति भन्नाले राजनीतिक परिवर्तनका लागि गरिने संघर्ष मात्र बुझ्छौं । समाज बहुआयामिक छ र आर्थिक, सामाजिक एवं सांस्कृतिक सबलताले मात्रै सम्पूर्ण क्रान्ति पूरा हुन्छ भन्ने कुरा बिर्सन्छौं । नेपालको राजनीतिले देशको आवश्यकता र जनचाहनालाई सम्बोधन गर्न नसकेकाले इतिहासका विभिन्न कालखण्डमा थरीथरीका विद्रोहको सामना गर्नुपरेको हो । २००७ सालको क्रान्तिपश्चात् पनि धेरैपटक जनविद्रोह भएको छ, शासन सत्ता बदलिएका छन् । यही फेरबदलको पछिल्लो कडी हो, संघीय लोकतान्त्रिक गणतन्त्र । त्यसैले मूल रूपमा हामी सबैले बुझ्नुपर्ने कुरा भनेको नेतृत्वले नै सही बाटो देखाउने हो । र समाजलाई डो¥याउने हो । तर नेतृत्वमा सपना, योजना र कहिलेकाहीँ कठोरता पनि चाहिन्छ ।
अब प्रश्न उठ्छ कि डो¥याउने कसरी ? कुनै पनि परिवारको अभिभावकले आफ्नो दायित्व निर्वाह गरिरहेको हुन्छ । उसको उमेर ढल्किदै जान्छ, स्वास्थ बिग्रिँदै जान्छ र कार्यक्षमतामा ह्रास आउँदै जान्छ । त्यतिबेला परिवारका योग्य सदस्यले जिम्मेवारी लिँदै जानुपर्छ । घरमूलीले पनि दायित्व हस्तान्तरण गर्दै जानुपर्छ । राजनीतिक दल वृहत परिवार हो । जसलाई सबै सदस्यहरूले आफ्नो निजी परिवारभन्दा ज्यादा महत्त्व दिएका हुन्छन् ।
सम्पूर्ण सदस्यको योग्यता, मेहनत र समर्पणले एउटा दल वा संस्था उभिएको हुन्छ । उसको प्रतिष्ठालाई दलका सदस्यहरूले थेगेका हुन्छन् । त्यस दलको मूलीलाई अरू होनहार सदस्यले सम्झाउन, बुझाउन र सघाउन सक्नुपर्छ । एउटा सच्चा घरमूलीले यो कुरा बुझ्छ र आफ्नो शेषपछिको अवस्थाको चिन्ताले परिवारको योग्य सदस्यलाई जिम्मेवारी सुम्पिन्छ । यसको अर्थ सबै मिलेर पारस्परिक सल्लाहमा काम गर्नुपर्छ भन्ने हो । तर यसका लागि जिम्मेवारी लिने नयाँ सदस्यले जेहेन्दारी देखाउनै पर्छ । यसका लागि सकभर सहमति नत्र प्रतिस्पर्धाका लागि तयार हुनुपर्छ ।
यतिबेला कांग्रेसभित्र क्रियाशील नेतृत्वका विषयमा ठूलो चिन्ता व्याप्त छ, खासगरी महाधिवेशन पश्चातको कार्यसम्पादनका विषयमा । हामी सबैले बुझेको कुरा हो, हाम्रा पुर्खाहरूले ठूलो जोखिम उठाएर देश जोगाएको र बनाएको हो । यसका निम्ति भएको बलिदानको कथा निकै साहसिक, गौरवशाली र क्रान्तिकारी छ । अहिले चर्चा गर्न खोजिएको कुरा त्यो स्तरको होइन । हामीले त हाम्रो दल सुधार्ने कुरा मात्र गरेको हो । दललाई व्यवस्थित बनाउन सकेमात्र लोकतन्त्रको रक्षा हुन्छ । नत्र न प्रणाली रहन्छ, न दलको भविष्य ! राजनीतिक दल एउटा साधन मात्र हो, जसलाई व्यवस्थापनले सुसज्जित बनाउने हो । हाम्रा अग्रजहरूको ठूलो त्याग र बलिदानबाट कांग्रेस जन्मिएको र जोगिएको हो । त्यसैले पार्टीभित्रको कार्यकारी अधिकारसहितको नेतृत्व पंक्ति जसको काँधमा जिम्मेवारीको भारी छ, सम्पूर्ण देश व्यग्र प्रतिक्षामा छ, कहिले होला पार्टी व्यवस्थापनको शुरुआत ? भ्रातृसंस्था कहिले ठीकठाक होलान् ? पार्टीका सदस्यहरू नेतृत्वसँग आश्वस्त हुने दिन कहिले आउला ? पार्टीले संस्थागत रूपमा कहिलेदेखि काम गर्ला ? दण्डहीनताको अन्त्य कहिले होला ? कसले राम्रोसँग घर सम्हाल्देला ? यिनै विषयले पार्टी कार्यकर्ता पिरोलिएका छन् । यसको समाधान जिम्मेवारीमा रहेको युवा पुस्ताले दिन सक्नुपर्छ । पार्टीको चौधौं महाधिवेशनको परिणामले निकै आशा जगाएको हो ।
घटनाक्रमहरूले कार्यकर्ताको आशालाई सम्बोधन गर्न सकिरहेको छैन । यसमा देखिनुपर्ने जेहेन्दारी देखिएको छैन, किन ? केले रोक्यो जेहेन्दारी देखाउन ? संसदीय निर्वाचनको उम्मेदवारी वितरण यसको ज्वलन्त दृष्टान्त हो । देशभरिका होनहार युवा किन उपेक्षामा परे ? त्यसैले कसैले नमागेको सल्लाह के छ भने दल सुधार्नका लागि प्राप्त मौकालाई सदुपयोग गरिहाल्नुपर्छ । रिचर्ड निक्सन भन्छन्, ‘जब मौका आउँछ, तमाशा हेर्नु हुँदैन । नेतृत्वलाई तमाशे बन्ने सुविधा हुँदैन ।’ यसको मतलब त काम गर्नुपर्छ भन्ने न हो । नेतृत्व यस विषयमा सचेत हुनुपर्छ ।