विराटनगर । नेकपा एमालेले प्रदेश १ प्रदेशसभामा समानुपातिक सूचीमा पठाएको नामावली मध्ये एक र मधेश प्रदेशमा २ जनाको नाम सच्याएको छ ।

एमालेले प्रदेश १ अल्पसंख्यक कोटाबाट निर्वाचन आयोगलाई सिफारिस गरेको लहरुमाया जिमी (याख्खा) को ठाउँमा सुनसरीकी यशोदा कायस्थलाई पठाएको छ । एमालेको बन्दसूचीमा जनजाति महिलामा जिमीको १९ नम्बर क्रमसंख्या हुँदा कायस्थको १८ नम्बर रहेको थियो भने अल्पसंख्यक तर्फपनि कायस्थको २ र जिमीको ३ नम्बर क्रम थियो ।

एमालेले पठाएको सिफारिसमा भने क्रमसंख्या मिच्दै जिमीलाई सिफारिस गरेपछि निर्वाचन आयोगले सच्याउन आग्रह गरेको थियो । सोही अनुसार एमालेले कायस्थलाई सिफारिस गरेको हो ।

निर्वाचन आयोगले अल्पसंख्यक कोटाबाट सूची अनुसार सिफारिस नगरेर एमालेले आफूखुसी छानेको विषयमा स्पष्ट पार्न पत्र पठाएको थियो । नेकपा एमालेले पाएको १५ वटा समानुपातिक सिटमा अल्पसंख्यक कोटामा ३ जनाको नाम सिफारिस गर्नुपर्ने थियो । जसमा एमालेले जनजाती पुरुषबाट झापाका नम्बरलाल धिमाललाई पठाएको छ । जनजाती महिलाबाट भने उदयपुरकी सिर्जना दनुवार र जिमीलाई पठाएको थियो ।

एमालेले निर्वाचन आयोगलाई विवरण सच्याई पेश गरेको हो । ‘प्रदेश नम्बर १ को अल्पसंख्यकतर्फ लहरुमाया जिमी (याख्खा) नामको सट्टा सोभन्दा अघिल्लो क्रममा रहेको समावेशी समूहभित्र (अल्पसंख्यक)को प्राथमिकता क्रम क्र.सं. ८ को यशोदा कायस्थको नाम कायम गरिदिनुहुन,’ एमालेले आयोगलाई पठाएको विवरणमा भनिएको छ ।

यस्तै एमालेले मधेश प्रदेशमा क्र.सं. १८ को शिला यादवको सट्टा सोभन्दा पछिल्लो क्रममा रहेको समावेशी समूह (अल्पसंख्यक)भित्रको प्राथमिकताक्रम क्रम संख्या ८ को राजपती देवी जैसवालको नाम कायम गर्न तथा मधेश प्रदेशमा क्र.सं. ४० को नाजिमा खातुनको सट्टामा सोभन्दा अघिल्लो क्रममा रहेको समावेशी समूहभित्रको प्राथमिकताक्रम संख्या १ को जैनव खातुनको नाम कायम गरिदिन अनुरोध गरेको छ ।