विराटनगर । मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेल र प्रदेशसभा सदस्य गणेश उप्रेती सम्मानित भएका छन् । उनीहरुलाई शनिबार रतुवामाई–६ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड सिजुवाले आफ्नो १७ औँ वार्षिक साधारणसभाको अवसरमा सम्मान गरेको हो ।

साधारणसभामा संस्थाका सञ्चालक समितिका द्रोण बहादुर पोैडेलले मोरङ २ का प्रतिनिधिसभा सदस्य पोखरेल र २ (१) बाट निर्वाचित उप्रेतीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

रतुवामाईमै जन्मिएर सोही ठाउँबाट राजनीति गरि सांसदमा निर्वाचित भएको भन्दै सांसद पोखरेल र उप्रेतीलाई संस्थाले सम्मान गरेको हो । उनीहरु दुवै जना रतुवामाईका स्थानीय हुन् । पोखरेल गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाई पराजित गर्दै विजयी भएका थिए ।

त्यस्तै उप्रेती क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । माओवादी केन्द्रका नेता उप्रेती सत्ता गठबन्धनको साझा उम्मेदवार बनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले एमालेका डिबी कार्कीलाई पराजित गरेका थिए ।

सो अवसरमा सहकारीले रतुवामाई नगरपालिकाकी उपमेयर दमयन्ता चुडाल, ६ नम्बर वडाका वडाध्यक्ष तुलाराम लुइटेल, वडा नम्बर ७ का वडाध्यक्ष राम कार्कीसहित स्थानीयतहका जनप्रतिनिधिहरुलाई समेत सम्मान गरेको छ ।