उर्लाबारी । गत कार्तिक १३ गते आइतबार राति अन्दाजी १०ः३० बजेको समयमा छठ पर्वको रात्रिकालीन रमझम हेर्न आएका दियुस श्रेष्ठको छुरा प्रहार गरी हत्या भयो । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका श्रेष्ठको हत्याको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो ।

झापाको दमक नगरपालिका–१० नलबारी बस्ने १४ वर्षीय श्रेष्ठको हत्याको अभियोगमा उर्लाबारी नगरपालिका–६ चन्द्रमा चौक बस्ने सरोज बस्नेत, सोही वडाको वानडाँडाका च्यान्टे भनिने सन्देश खवास, विकास तामाङ, पानी ट्याङकी बस्ने मन्जिल माझी, तरुण चौकका सपन खत्री, प्रतिक बराइली, सरोज परियार र सनिस याक्खालाई पक्राउ गरेको थियो । तर, च्यान्टे भनिने सन्देश खवासवाहेक सबै धरौटीमा रिहा भएका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीले कमजोर मिसिल बनाएका कारण हत्यामा अभियुक्तहरुले उन्मुक्ति पाएको भन्दै पीडित परिवारले शुक्रबार पत्रकार सम्मेलन गर्दै न्यायका लागि गुहार मागेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलनजङ्ग थापाले दोषीलाई कानुनी कार्वाही गराउने वचन दिएपनि सेटिङमा कमजोर मिसिल बनाएर हत्यामा मुख्य अभियुक्तहरुलाई अन्मुक्ति दिएको पीडित परिवारको आरोप छ । ‘न्याय पाउने आशमा बसेपनि प्रहरीकै मिलोमतोमा हत्यारालाई बचाउने काम भयो,’ मृतकका बुवा धनबहादुर श्रेष्ठले भने, ‘प्रहरीको भूमिकामै हामीलाई शंकाष्पद भएकाले निष्पक्ष छानविन हुन सकेन ।’

मृतककी आमा सुभद्रा श्रेष्ठले पनि प्रहरीले न्याय नदिएको बताउनुभयो । उनले भने, ‘छोराले मृत्यु हुनु अगाडि च्यान्टेसहित ४ जनाले छुरी हानेको बताएको थियो, त्यही कुरा प्रहरीलाई जानकारी गराउँदा पनि कमजोर मिसिल बनाएर हत्याका अभियुक्तहरुलाई उन्मुक्ति दिन काम भएको छ ।’

च्यान्टे भनिने सन्देश खवासका बुवा सन्तोष खवासले पनि पैसाको चलखेलमा अन्यलाई उन्मुक्ति दिएर आफ्नो छोरालाई मात्रै थुनामा राखेको बताउनुभयो । ‘कुटपिट गरेर एक्लैले मारेको भन्न लगाइएको रहेछ,’ उनले भने, ‘दोषीहरुलाई कार्वाही हुनुपर्छ, कसैलाई उन्मुक्ति दिनु हुन्न ।’