विराटनगर । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगाणना सम्पन्न गरि समानुपतिक तर्फको सिटसमेत बाँडफाँड गरिसकेको छ ।
आयोगले बाँडफाँड गरेको सिट अनुसार दलहरुले समानुपातिकतर्फ विजयी हुने उम्मेदवारको नाम आयोगमा बुझाउनुपर्छ । यसरी बुझाउँदा संविधान र कानूनले तोके अनुसार समावेशिता मिलाएको हुनुपर्छ ।
प्रदेश १ मा नेकपा एमालेले एमालेले ६ लाख ६५ हजार ४६० मत प्राप्त गरेकोमा उसले १५ सिट पाएको छ भने काँग्रेसले ५ लाख ६२ हजार ९५६ मत प्राप्त गर्दा १२ सिट पाएको छ । यस्तै माओवादी केन्द्रले १ लाख ८१ हजार २४५ मत पाएर ४ सिट र राप्रपाले पनि १ लाख ९८ हजार ५११ मत प्राप्त गरि ४ सिुट पाएको छ । जसपाले ६१ हजार ७२३ मत पाएर १ सिट र नेकपा एकीकृत समाजवादी ५५ हजार ९५७ मत पाएर १ सिट पाएको छ ।
समानुपातिकतर्फको सिट आयोगले बाँडफाँड गरिसकेकोले अब सम्बन्धित पार्टीको केन्द्रीय समितिले निर्णय गरेर विजेताको नाम सिफारिस गर्नुपर्छ । प्रदेश १ को सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले समानुपातिक उम्मेदवार सिफारिस गर्न शुक्रबार केन्द्रीय सचिबालयको बैठक बोलाएको छ ।
दलहरुले बैठकबाट निर्णय गरेर नाम पठाउने भएपनि उनीहरुले यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसुचीको क्रम मिच्न पाउँदैननन् । त्यसमाथि प्रत्यक्षतर्फ निर्वाचित भएकाहरुसमेत जोडेर ३३ प्रतिशत महिला अनिवार्य समानुपातिकबाट पठाउनुपर्छ ।
कानुन अनुसार प्रदेश १ मा समानुपातिक उम्मेदवार छनौट गर्दा आदिवासी जनजातितर्फ ४६.७९ प्रतिशत, खसआर्य २७.८४ प्रतिशत, दलित १०.०६ प्रतिशत, थारु ४.१५ प्रतिशत, मधेसी ७.५७ प्रतिशत, मुस्लिम ३.५९ प्रतिशत हुनुपर्नेछ । उनीहरुमध्ये १७.५३ प्रतिशत अल्पसंख्यक हुनुपर्नेछ ।
प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ सिट र समानुपातिकतर्फ १५ सिट जितेको छ । प्रत्यक्षतर्फ कोहि पनि महिलाले एमालेबाट चुनाब नजितेकोले समानुपातिकतर्फ १५ सिटमध्ये १३ जना महिलालाई एमालेले पठाउनुपर्नेछ । एमालेबाट समानुपातिकतर्फ २ पुरुषले मात्र अवसर पाउनेछन् ।
एमालेले समानुपातिकतर्फ १५ सिटमध्ये २ पुरुष र १३ महिलामा ७ जना आदिवासी जनजाति र ४ जना खसआर्यलाई पठाउनुपर्नेछ । यस्तै दलित, मधेशी, थारु र मुस्लिमतर्फ १–१ जनाको प्रतिनिधत्व हुनेछ ।
एमालेको समानुपातिक सुचीमा रहेकामध्ये पुरुषहरुतर्फ खसआर्यको पहिलो नम्बरमा रहेका ओखलढुंगाका किशोरकुमार अधिकारी र आदिवासी जनजाति पुरुषको पहिलो नम्बरमा रहेका पाँचथरका श्रीप्रसाद जवेगु सांसद बन्ने देखिएको छ । ५८ वर्षीय अधिकारी एमालेका केन्द्रीय सदस्य हुन् भने ५१ वर्षीय जवेगु रामबहादुर थापा बादलसँगै माओवादी छाडेर एमालेमै बसेका नेता हुन् ।
एक जनजाति पुरुषलाई प्रदेशसभामा पठाएमा एमालेको बन्दसुचीमा रहेका ६ महिलाले प्रदेश सभा सदस्य बन्ने अवसर पाउनेछन् । उनीहरुमा उदयपुरकी ४६ वर्षीया सृजना दनुवार, झापाकी ५९ वर्षीया कमला थापा मगर, सुनसरीकी ४७ वर्षीय मिना श्रेष्ठ, भोजपुरकी ३८ वर्षीया सिर्जना राई, मोरङकी ६७ वर्षीया मालतीकुमारी लिम्बू र धनकुटाकी ४६ वर्षीय मनकुमारी तितुङ छन् । एमालेले श्रीप्रसाद जवेगुलाई सांसद नबनाएको अवस्थामा भने भोजपुरकी बन्दना राईले पनि अवसर पाउनेछिन् ।
खसआर्यतर्फ एमालेका ४ जना प्रदेशसभा सदस्य चुनिनेछन् । किशोरकुमार अधिकारीलाई छनौट गरेमा महिलाबाट ३ जनाले अवसर पाउनेछन् । जसमा मोरङकी ६१ वर्षीला शिला दिक्षित कार्की, झापाकी ६६ वर्षीया तारादेवि ढकाल र सुनसरीकी ५७ वर्षीया निरादेवि खनाल छन् । खनाल एमाले नेता एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री भीमप्रसाद आचार्यकी श्रीमति हुन् । पुरुषतर्फ खसआर्यका अधिकारीलाई एमालेले नचुनेमा उदयपुरकी गितादेवी रेग्मीले अवसर पाउनेछिन् ।
एमालेले दलिततर्फ तेह्रथुमकी ४९ वर्षीया कमलादेवी दर्नाल, मधेशीतर्फ मोरङकी ४० वर्षीया गितारानी महतो, थारुबाट मोरङकै ५१ वर्षीया ललिताकुमारी चौधरी, र मुस्लिमबाट मोरङकै ३८ वर्षीया नुर सदि बेगमलाई पठाउनेछ । पुरुष कोटामा पठाउने व्यक्तिबारे पार्टीले तलमाथि गरेको अवस्थामा भने यी नामहरुमा केहि परिवर्तन हुनसक्ने संभावना छ ।
समानुपातिकको बन्दसुचीबाट एमालेले ३ जना अल्पसंख्यकलाई अनिवार्य प्रदेशसभामा पठाउनुपर्छ । एमालेको बन्दसुचीमा अल्संख्यकतर्फ झापाका नम्बरलाल धिमाल, विद्यानन्दसिंह राजवंशी, उदयपुरकी सृजना दनुवार, सुनसरीकी यशोदा कायस्थ, संखुवासभाकी लहरुमायाँ जीमी र मोरङका अरुणकुमार राठीको नाम छ । उनीहरुमध्ये सुचीक्रममा रहेकी दनुवार प्रदेशसभा सदस्य बन्नेछन् भने बाँकी २ जना एमालेले छान्न पाउनेछ ।
अल्पसंख्यकतर्फ एमालेले धिमाललाई चयन गरेमा श्री जवेगु बाहिरिनेछन् भने कायस्थलाई चयन गरे धनकुटाकी मनकुमारी तितुङको नाम संकटमा पर्नेछ । यस्तै अल्संख्यकतर्फ अरुणकुमार राठीको नाम चयन भए अर्को एक जना पुरुषको मात्र नाम पर्नेछ भने गितारानी महतो बाहिरिनेछन् ।

