काठमाडौं । लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्राउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । ‘चासोक’ भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने ‘तङ्नाम’ भनेको पर्व हो ।
लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदायअनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्राइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ ।
लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनु अघि लिम्बूका आदिम पुर्खा सावा येत्हाङले कन्दमुल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे । यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिवाभु माङसँग प्रार्थना गर्दथे । यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङदःक (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए ।
यसरी धान र अन्नका बीउबिजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अंकुसे आदिको प्रयोग गरी भस्मे फाँडेर बीउबिजन रोपी छरी अन्न फलाइन् । यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरु (देवीदेवता)लाई चढाउने प्रचलन बसाले, यसैलाई चासोक (न्वागी)पूजा भनियो ।

