चुम्लुङ र याख्खा छुम्माले उद्यौली पर्व मनाउने

विराटनगर । किरात धर्मालम्बीहरुको मौलिक पर्व उद्यौली यसपटक विराटनगरमा किरात याक्थुङ चुम्लुङ र याक्खा छुम्माले संयुक्त रुपमा मनाउने भएका छन् ।

किरात याक्थुङ चुम्लुङ विराटनगर महानगर कमिटी र किरात याक्खा छुम्मा महानगरको सयुक्त रुपमा बसेको बैठकले मंसिर २२ गते उद्यौली पर्व अन्र्तगत लिम्बूले चासोक तङनाम र याक्खाले चासुवा मनाउने तयारी गरेको हो ।
विराटनगर १५ स्थित माङखिम मन्दिर परिसरमा रहेको चुम्लुङको नव निर्मित भवनमा चासोक तङनाम मनाउने निर्णय भएको किरात याक्थुङ चुम्लुङ विराटनगरका अध्यक्ष कुमार सुब्बाले जानकारी दिए ।

किरातीहरु प्रकृतिपूजक भएका कारण उक्त दिन न्वागी पूजा गर्ने चलन छ । बर्खामा रोपेको अन्नबाली हिउँदमा आफ्ना पितृहरुलाई चढाएर मात्रै भित्र्याउने चलन भएका कारण पराम्परागत यो पर्व मनाउदै आएका छन् ।

उद्यौलीको दिन याक्खाहरुको डोकेनी नाच प्रदर्शन गर्ने र लिम्बू समुदायले केलाङ नाच, हाक्पारे साम्लो (ख्याली) र धान नाच पनि प्रदर्शन गरीने किरात याख्खा छुम्मा महानगर कमिटीका सचिव प्रेम देवानले जनाकारी दिए ।
यसैविच किराती राई यायोक्खा विराटनगरले पनि उद्यौली पर्वको अवसरमा साकेला नृत्य प्रस्तुत गर्ने भएको छ । विराटनगर ११ स्थित साकेलाथानमा राई समुदायहरु भेला भई साकेलाथानमा पूजापाठ गरी साकेला सिली उद्यौली पर्व मनाउने तयारी गरेको छ ।

बुधबार, २१ मंसिर, २०७९, बिहानको ०८:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर