विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेशसभाले पाँच वर्षमा आफ्नो औचित्य पुष्टि गर्न नसके जनताले सडकबाट नै प्रदेश चाहिँदैन भनेर फैसला गर्ने दावी गरेका छन् ।
मंगलबार विराटनगरमा काँग्रेस नेता गुरु घिमिरेले लेखेको पुस्तक ‘बाटो बिराएको राजनीति’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले प्रदेश संरचनाको लागि यो पाँच वर्षे कार्यकाल महत्वपूर्ण हुने बताए ।
प्रदेश सरकारले यो ५ वर्षमा आफूलाई अब्बल सावित गर्न नसके जनताले नै अस्वीकार गर्ने थापाको दावी छ । प्रदेश १ को प्रदेशसभालाई प्रभाबकारी बनाउनसक्ने गुरु घिमिरेलाई प्रदेशसभाले मिस गरेको भन्दै उनले मतदाताको अपमान गर्ने मनसाय भने नरहेको बताए ।
महामन्त्री थापाले स्पष्टता, प्रतिबद्धता र सक्षम नेतृत्व देशले खोजिरहेको बताउँदै कांग्रेसले सही नेतृत्व गर्न सके ५ वर्षपछिको चुनावमा कांग्रेसले ४० प्रतिशतभन्दा बढी लोकप्रिय मत पाउने दावी गरे । अहिलेको गठबन्धनबाटै सरकार बन्ने बताउँदै उनले तर, सरकार केको लागि भन्ने महत्वपूर्ण भएको उल्लेख गरे ।
‘गठबन्धनको सरकार बन्नेमा कुनै सन्देह छैन । तर, हामीले चाहेको सरकार मात्र हो ?’ उनको भनाइ थियो, ‘एउटा परिदृष्य गठबन्धनको सरकार बन्छ । नेताहरू भित्र–भित्र तमसुक गर्छन्, पछि गएर बबण्डर बन्छ । सरकार बन्छ, उद्देश्य हुँदैन, संवेदना हुँदैन भने के अर्थ हुन्छ ?’
कांग्रेस संसदीय दलको निर्वाचन लड्ने बताउँदै आएका थापाले पार्टीभित्र सुधारका एजेण्डा लागू गर्न डा.शेखर कोइरालासँग आफू एकै ठाउँमा रहेको बताए । पार्टी महाधिवेशनमा विचार र शैलीका कारण कोइरालाको नेतृत्वमा उभिएको बताउँदै उनले अहिले पनि कोइरालाकै नेतृत्वमा अगाडि बढ्ने बताए ।

