विराटनगर । सामूहिक बलात्कार गरेको आरोपमा सुनसरीको इटहरीबाट चार जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार इटहरी–१० स्थित पिपल चोक बुढीखोला किनारामा गत वैशाख २७ गते राति ८ बजे ती महिलामाथि करणी भएको हो । विवाहमा सहभागी भएर घर फर्कने क्रममा विभिन्न त्रास देखाएर बलात्कार गरेका जाहेरीमा उल्लेख गरिएको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१० का २५ वर्षीय विकास चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धीरज चौधरी र ३१ वर्षीय सरोज चौधरी रहेका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार उनीहरूमाथि स्थानीय १९ वर्षीया महिलालाई करणी गरेको आरोपमा जाहेरी परेको थियो ।
घटनाबारे कसैलाई सुनाएमा पीडित र पीडितको घर परिवारसमेतलाई मारिदिने धाकधम्की दिई डरत्रास देखाउँदै आएको कारण सात महिनासम्म उजुरी गर्न नआएको भनी पीडितले बयान दिएकी छन् ।
प्रहररीले चारै जनालाई पक्राउ गरी पाँच दिन म्याथ थपेर अनुसन्धान गरिरहेको जनाएको छ ।