मणि दाहाल
हामि आफूलाई लोकतन्त्रवादी भन्छौं । सामाजिक संस्कार अनि पर्प पुकारदेखि चिया पसलसम्मका अनेकौं मञ्चहरुमा लोकतान्त्रिक आदर्शका भाषण हाँक्न पछि पर्दैनौं । राज्यका नियम कानुन र विधिहरु पनि लोकतन्त्रकै मर्म अनुरुप बनेका छन् । तर, पनि हामीले लोकतान्त्रिक आचरणका व्यवहार दर्शाउन सकिरहेका छैनौं । चाहे नेताकार्यकर्ता होस् अथवा जनता कसैले पनि लोकतन्त्रका मर्म अनुरुपको व्यवहार र आचरण दर्शाएको पाउन सकिदैन । सिद्धान्त र व्यवहारबीचको असन्तुलन नै लोकतन्त्रको विकृत पक्ष हो भनेर हाम्रो चेतनाले ग्रहण गर्न सकिरहेको छैन ।
जतिसुकै प्रगति र अग्रगतिका कुरा गरे पनि हाम्रो मानसिकता सामन्तवादी सामाजिक संरचनाबाट दिक्षित छ । हामी गर्भमै ठालु संस्कृतिका शिकार भयौं । जसले मालिक मान्न र त्यसको भक्तिगान मात्र सिकायो । ठुलाबडाले जे गरे पनि शंका गर्नु हुदैन र पूजा गरिरहनु पर्छ भन्ने धार्मिक पाठ पढायो । भक्तिभावले मात्र फलप्राप्ति हुन्छ भन्ने हाम्रो बुझाइ रहँदै आयो । त्यसैको अंश हाम्रो मानसिकतामा छ । अनि सोही मानसिक चेतनाबाट श्रृजित हाम्रो व्यवहारले मालिक र रैतीबीचको दूरी नै लोकतन्त्र हो भन्ने बुझिराखेको छ । हामीले लोक कल्याणकारी राज्य व्यवस्थाको उज्जवल प्रकाशको तापबाट बन्चित हुनुको कारण पनि हाम्रो मालिक संस्कार नै हो । तर, हामीले बुझि राखेका छैनौं र बुझ्न पनि चाहादैनांै ।
लोककल्याण्कारी राज्यव्यवस्थामा जनता मालिक हुन्छन् । प्रतिनिधि पात्रको रुपमा जनताले छानेका प्रतिनिधिहरु सेवक हुन्छन् । जनताको मर्म उनीहरुको आवाज हुन्छ । जनजीविका अनुरुपको आचरण हुन्छ । गाँस, बास कपास, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत सबालहरुमा बन्ने नीतिनियमहरु जनमैत्री हुन्छन् । राज्य संयन्त्रका हरेक निकायहरु सुशासनमैत्री हुन्छन् । राज्यको नजरमा सबै समान हुन्छन् र त्यसै अनुरुपको व्यवहार हुन्छ । अनुकरणीय तथा उच्च नैतिकपूर्ण जीवनशैली हुने भएकोले राजनीति निस्वार्थपूर्ण समाजसेवा हुन्छ । तर, हामी अझै पनि लोकतन्त्रलाई उल्लेखित कुराहरु भन्दा ठिक उल्टो पाठको रुपमा बुझिरहेका छौं । फलस्वरुप लोकतन्त्र व्यक्तिगत स्वार्थ सिद्धिको माध्यम र टाठाबाठाले सत्तास्वादको चास्नीमा डुबुल्की मार्ने साधन बन्दै छ । अनि राजनीति मतिभ्रष्ट र पथभ्रष्टको घेरामा नजरबन्द छ ।
के लोकतन्त्रलाई यतिको विकृत बनाएको नेताले मात्र हो ? अवश्य हैन । हाम्रो निम्न कोटीको राजनीतिक चेतनाले बनाएको हो । हामीले नेतालाई मालिकको रुपमा ग्रहण ग¥यौं । अनि मालिक बाट जहिलै पनि पाउने मात्र आश ग¥यौं । चुनाव आयो पैसाको आश । बाढी आयो चाउचाउ र कम्बलको आश । चाडबाड आयो भोजनको आश । सन्ततीको लागि जागिरको आश । आदि इत्यादि ।
अनेकौं व्यक्तिपरक आशाका पुलिन्दाहरु हाम्रा सपना बने । अनि बिलासिपूर्ण जीवनशैलीका साथमा तामझाम नगर्नेलाई हामीले नेताको रुपमा कहिलै स्विकारेनौं । सादाजीवन, उच्चबिचार र कोठोर संघर्षको आदर्शलाई हामीले पालन गर्न सकेनौं । जब हामी नै यस्तो भैसकेपछि हाम्रो नेता बिग्रदैन ? हाकिम र कर्मचारीले भ्रष्टचार नगरी रहन सक्छन् ? अनि अनेकौं खाले माफियाको राष्ट्रिय संजाल बन्दैन ? स्वभाविक छ ।
हामीले नेतासँग जीवनका सबै आशा तथा अभिलासाहरु सबैले समान रुपमा उपभोग गर्न पाउने उन्नत नीति र सोहि मुताबिकको समूचित वातवरणको कहिल्यै माग गरेनौं । निहित स्वार्थ सिद्धिको लागि हामी व्यक्तिचाकरी उन्मुख भयौं । चाकरीले नेतालाई मालिक बनायो । अनि स्वार्थले पथभ्रष्ट । फलस्वरुप रैतीको नरकपूर्ण जीविका हाम्रो नियति बनिरहेकै छ ।
लोकतन्त्रको कर्मठ पहरेदार र सच्चा मालिक भनेको जनता हुन् । तर, हामीले नेतालाई मात्र त्यसको ठेकेदार बनायौं । हाम्रो दिनचर्या र व्यवहारले हामीलाई दासमा रुपान्तरण ग¥यो र गरिरहेकै छ । हामीले सम्मानको नाममा चाकरी बजायौं । ठुलो हाकिम, मन्त्री, सांसद र नेता भन्नासाथ तिनलाई मालाको थाकले सुसज्जित गर्नतर्फ लाग्यौं । । अबिरले बिरुप बनायौं र बनाउदै छौं । अघिपछि लावालस्कर लाएर जयजयकार गर्दैछौं । कुमजोडेर सेल्फी खिच्दै सामाजिक संजालमा भर्न हानाथाप चलायौं । तीनको जन्मदिन कण्ठस्थ बनाएर र शुभकामनाको वर्षा गरायौं । तिनको प्रगतिमा हामी हर्षित भयौं र विजयमा उन्माद मनायौ । अनि प्रत्येक लबजमा कि अन्धुन ताली बजायौं कि त एकोहोरो गाली । बिग्रिएकोलाई सुधार्न कहिलै चाहेनौं ।
लोकतन्त्रमा आवधिक निर्वाचन जनअभिमतको कसी मात्र हो । यसमा हार र जित हुँदैन । सबैको जित हुन्छ । तर, हामी यसलाई हार र जितको रुपमा ग्रहण मात्र गरिरहेका छैनौ । जितको उन्मादमा फूल अबिर वर्षाउँदै छौं । सारा काम धन्दा छाडेर जयकारको उर्दिमा सामेल हुनु हम्रो दिनचर्या बनिरहेको छ । मानौं हामी लोकतन्त्रको नामका ज्यालादारी खेतला हौं । अनि यसो भएपछि मन्त्री, नेता र हाकिम कसरी सुध्रन्छ ? जनमैत्री नीति कसरि बन्छ ? सुशासनमैत्री प्रशासक कसरी जन्मन्छ ? त्यस्तो विकृत चेतनास्तरको समाजमा भ्रष्टचार नभएर के हुन्छ ? अनि संबृद्धि, सुशासन र समाजवाद फगतको बतासे सपना नबनेर के बन्छ ? नैतिकहीनता र बेइमान नफस्टाएर के फस्टाउँछ ? इमान्दार फस्टाउँछ ? अब पनि हाम्रो चेत खुल्नु पर्देन र ?
लोकतन्त्रका अनेकांै आयमहरु मध्ये राजनीतिक दलहरु अग्रदस्ता हुन् । राजनीतिले नै भावी गन्तव्यको दिशानिर्देश गर्छ । यसको लागि राजनीतिक दलहरु विधिमैत्री हुनुपर्छ । राजनेता अनुकरणीय हुनपर्छ । नेताको जीवन शैलीले जनतामा हिनताबोध जागृतको अबस्था सिर्जना हुनुहँुदैन । सामुहिकतावादी सोच र दृष्टिकोणको राजनीतिक संस्कार स्थापित हुनुपर्छ । यसो भयो भने राजनीतिप्रति जनताको अपनत्व र भरोसा हुन्छ । जहाँ भरोसा हुन्छ स्वभाविक रुपमा त्यहाँ राजनीति अघि अनि जनतापछिको शालीन संस्कारको विकास हुन्छ । तर, हाम्रो राजनीति भरोसा योग्य हुन सकेन । व्यक्तिवाद र परिवारवादको दबदबा नीतिगत तहमा आशिनको दैनिकी बन्यो । तर, हामीले बेठिक भन्न आँट गरिरहेका छैनौ । बरु भावनामा बहेर बेतुकको घण्टी बनाउँदै अनि आर्यघाटमा जलिसकेको काठको बेकामे हलोले बन्जरभूमि जोत्न खोजिरहेका छौं ।