गोकुल पराजुली
भर्खरै चुनाव सकिएको छ । चुनाव जितेर कोही प्रतिनिधि सभा र कोही प्रदेश सभाको सदस्य बनेका छन् । मतदान गरेर जनताले आफ्नो जिम्मा पुरा गरेका छन् । अब चुनाव जितेका नेताको काँधमा जिम्मेवारी आएको छ । जिम्मेवारी हलुका खालको छैन । निकै ठूलो भारी बोकाएर क्षेत्रका जनताले प्रतिनिधिहरुलाई संसद पठाइरहेका छन् ।
जनताले आफ्ना प्रतिनिधि मार्फत विकास खोजेका छन् । सम्बृद्धि खोजेका छन् । सुशासन खोजेका छन् । विधिको शासन र स्वतन्त्रता पनि उनीहरुबाटै अपेक्षा गरेका छन् । कुन तहको जनप्रतिनिधिले के काम गर्ने हो त्योसँग जनताले खासै महत्व राखेको पाइदैन । जुनसुकै जनप्रतिनिधिसँग उनीहरुको एउटै माग रहने गरेको छ । वडाध्यक्षको उम्मेदवार हुन् वा पालिकाको मेयर अथपा प्रदेशका सांसद हुन् कि प्रतिनिधि सभाको । सबैसँग जनताले उस्तै अपेक्षा गर्ने गरेका छन् ।
उनीहरुको चासो सबैभन्दा पहिले आफू हिड्ने बाटो बन्नु पर्यो । दोश्रो भनसुन गरेर आफ्नो मान्छेलाई जागिर लगाइदिनु पर्यो । तेस्रो खोजेको बेलामा तुरुन्त हाजिर हुनुपर्यो वा टेलिफोन सजिलै उठाइदिनु पर्यो र समस्या समाधान गरिदिनुपर्यो, । अर्को, आफ्नाले कतै कुनै संस्थामा जागिरका लागि लिखितमा नाम निकालेका रहेछन् भने फोन गरेर सजिलै सोर्स लगाइदिनुपर्यो, सकियो भने लिखितमै सोर्स लगाइदिनु पर्यो । अनि बेलाबेलामा गाउँ टोलमा फर्केर हालखबर बुझ्दै गर्नुपर्यो ।
प्रतिनिधि छान्ने धेरै मतदाताहरुलाई यस्तै कुरासँगमात्र सरोकार छ । त्यस्ता सरोकार सम्बोधन भए नेता राम्रो नत्र खत्तम ! उनीहरुमध्ये धेरैमा देशको प्रणाली सुधार गर्ने चिन्ता देखिदैन । मेरो काम भए वा मैले भनेको माने पुग्यो भन्ने प्रवृत्तिले ठूलो घर गरेको छ । देशलाई एउटा विधि र पद्दतिबाट चलाऊ भन्ने सदीक्षा मतदाताहरुले बिरलै मात्र राख्ने गरेका छन् ।
मतदाता वडाध्यक्षसँग र सांसदसँग एउटै अपेक्षा गर्छन् । कुन काम कसले गर्ने हो र को सँग के अपेक्षा गर्ने हो छुट्याउन नसक्दा नेताहरु पनि अलमलमा पर्छन् । आफ्ना कार्यकर्ता वा समर्थकले भनेको नमान्दा अर्कोपटक छेउ परिसक्नु हुँदैन । मानौंभने आफ्नो बसमा हुँदैन ।सांसदलाई चुनेर संसदमा पठाउँदै गर्दा देशलाई विकास, समृद्धि र सुशासनका लागि मिहिनेत गरेर काम गर्नु, भ्रष्टाचारीलाई ठाउँको ठाउँ कारवाही गर्ने कानुन बनाउने र कार्यान्वयन गर्ने निकायलाई सोही अनुरुप चलाउने पद्दतिको विकास गर्नु भनेर मतदाताहरु सुझाव दिँदैनन् । बरु भोलि जितेर गएपछि यो मन्दिरमा बजेट ल्याइदिनु पर्छ, यो बाटो चैं बनाइदिनु पर्छ, परेको बेला उम्किन पाइदैन भनेर कायल पारिन्छ । कानुन बनाउन पठाएका सांसदसँग विकासको अपेक्षा गर्छौं । अनि विकास गर्न गएका स्थानीय तहका मेयर र वडाध्यक्षलाई देशमा सुशासन स्थापना नगरेको अपजस लगाउँछौं । जनता र जनताले चुनेर पठाएका प्रतिनिधिहरुबीचमा यस्तै अन्तरविरोध छन् । जसले विकास गर्ने नेतासँग पनि मतदाता रिसाइरहेकै भेटिन्छ भने विकासमा माखो नमार्ने तर जनतालाई भेटेर ठिक्क पार्ने नेताहरुले मतदाता झुक्याइरहन्छन् ।जे जसरी पठाएको भएपनि मतदाताहरुले नेताबाट विकास चैं खोजेकै छन् । विकासका योजना ल्याउनु पर्यो,देश विकास गर्नु पर्यो ।
जनतालाई यतिबेला सबैचिज चाहिएको छ । रोजगारी चाहिएको छ । रोजगारी खोज्दै युवा विदेश पठाउन बन्द गरिदिनु परेको छ । सेवा सुविधा पनि भनेसम्मकै चाहिएको छ । महंगी घटाइदिनु परेको छ । यो सबै कामको जिम्मेवारी प्रदेशसभाका सांसद र प्रतिनिधि सभाका सांसदको काँधमा बोकाइएको छ । जुन भारी चुनाव अघि त उसले बोक्छु भनेर कबोलेकै छ तर, पुरा गर्न सक्छु भन्ने आत्मबल छैन । देशको सीमित स्रोतको बारेमा थोरबहुत जानेर पनि सक्दिन भन्न मिलेन । नत्र चुनावमा चट् पारिजान्छन् । सबैथोक गर्छु भनेपनि हामीले चाहिने भन्दा धेरै भारी कसैले पनि बोक्न सक्दैनन् भन्ने बुझ्नु पर्छ । सांसदसँग राम्रो र उत्कृष्ट कानुनको अपेक्षा गरौं, मन्त्री र कार्यकारी भूमिकामा रहेका मेयर वा वडाध्यक्षसँग विकासको अपेक्षा गरौं । हाम्रा सांसदहरुले विकासमा समन्वय गरुन् । सन्तुलित ढंगले योजना र राज्यको स्रोत बाँडफाँड गर्न परिश्रम गरुन् । उद्यमशीलताको विकास गरी स्वरोजगार बढाउन योगदान गरुन् । भ्रष्टाचारको विरुद्धमा कडा अभियान चलाउन् । आफ्नै दलभित्रका भ्रष्टाचारीको पोल खोलेर कारवाहीको भागिदार बनाइदिउन् । यति काम गरे भने जनताले चुनेर पठाएका प्रतिनिधि सफलल हुनेछन् । तर, ढाँट्न बानी परेका नेता र भारी बोकाउन बानी परेका जनताको बानीमा यतिछिट्टै परिवर्तन आइहाल्ला त ? विश्वास गरौं तर भर नपरौं ।