विराटनगर । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रदेश १ मा प्रत्यक्षतर्फको गणना सकिएको छ भने समानुपातिकतर्फको अन्तिम गणना सुनसरी क्षेत्र नं. ३ को भइरहेको छ ।

समानुपातिक मतको गणना अन्तिम चरणमा पुग्दा संभावित समानुपातिक सांसदको बारेमा पनि चर्चा सुरु भएको छ । अहिलेसम्म गणना भएको समानुपातिक मतमध्ये १८ लाख १३ हजार २६५ सदर भएको छ । सदर मतको १.५ प्रतिशत थ्रेसहोल्ड रहेकोले त्यो कटाउने नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र जसपाले समानुपातिक सिट प्राप्त गर्नेछन् ।

अहिलेसम्मको गणनामा एमालेले ६ लाख ३२ हजार ७०४ मत पाएको छ भने नेपाली काँग्र्रेसले ५ लाख ३२ हजार ८४५, राप्रपाले १ लाख ९१ हजार ७७१, माओवादी केन्द्रले १ लाख ७७ हजार ७२१, जसपाले ५९ हजार ४८५ र एकीकृत समाजवादीले ५४ हजार ८३१ मत पाएका छन् । दलहरुले प्राप्त गरेको मतको रेसियो हेर्दा प्रदेशसभामा समानुतिक ३७ सिटमध्ये एमालेले १४, काँग्रेसले १२, माओवादी केन्द्र र राप्रपाले ४–४ तथा जसपा र एकीकृत समाजवादीले १–१ सिट पाउने देखिएको छ ।

माओवादी केन्द्रले ४ सिट प्राप्त गर्दा प्रत्यक्षतर्फ उसले ९ सिट जितेकोले जम्मा १३ सिट हुन्छ । संविधान अनुसार प्रदेशसभामा समानुपातिक उम्मेदवार छान्दा प्रत्यक्ष र समानुपातिक विजयी संख्याको ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्छ । १३ सिटमध्ये प्रत्यक्षमा कोहिपनि महिला निर्वाचित नभएकोले ४ जना नै महिलालाई माओवादी केन्द्रले पठाउनुपर्नेछ ।

महिलापछि समानुपातिक उम्मेदवार छान्दा जातीय समावेशिकरण पनि मिलाउनुपर्छ । निर्वाचन आयोगले निर्धारण गरेको क्लस्टर अनुसार कुनैपनि दलले ४ जना समानुपातिक सिट प्राप्त गरेमा उनले २ जना जनजाति, १ खसआर्य र १ दलितको प्रतिनिधित्व गराउनुपर्छ । त्यसमा १ जना अल्संख्यक समुदायको पनि हुनुपर्ने व्यवस्था रहेको छ ।

यो व्यवस्था अनुसार प्रदेशसभामा माओवादीले निर्वाचन आयोगमा बुझाएको बन्दसुची अनुसार आदिवासी जनजाति कोटामा पहिलो नम्बरमा नाम भएकी झापाकी बन्दना झाँगर, आदिवासी जनजातिको दोस्रो नम्बरमा नाम भएकी उदयपुरकी सम्झना तामाङ थाम्सुहाङ, खसआर्यको पहिलो नम्बरमा नाम भएकी मोरङकी गीता तिम्सिना र दलिततर्फ पहिलो नम्बरमा नाम भएकी सुनसरीकी सपना दर्जी प्रदेशसभा सदस्यमा निर्वाचित हुने निश्चित देखिएको छ । उनीहरुमध्ये झाँगर अल्पसंख्यकसमेत हुन् ।

माओवादीबाट प्रदेशसभा सदस्य हुने चारै जना महिलाहरु जनयुद्धकै समयदेखि माओवादी आन्दोलनमा सक्रिय नेतृहरु हुन् । उनीहरुमध्ये ४० वर्षीया तिम्सिना र ३६ वर्षीया दर्जी पार्टीको केन्द्रीय सदस्य छन् भने ३६ वर्षीया झाँगर र ४० वर्षीया तामाङ प्रदेश समिति सदस्य हुन् ।