सडक अलपत्र पार्ने कम्पनीको एक्स्काभेटर नियन्त्रणमा

खोटाङ । खोटाङमा ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण कम्पनीको एक्स्काभेटर र ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ ।

दिक्तेल हाटडाँडादखि लफ्याङ काफ्लेगाउँ घुम्तीबर सडक स्तरोन्नतिको ठेक्का लिएर अलपत्र पार्ने लगलगे कन्ट्रक्सनको एक्स्काभेटर र ट्याक्टर मंगलबार नियन्त्रणमा लिइएको हो ।

करिब ४६ लाख रुपैयाँको लागतमा असार मसान्तसम्म सक्नेगरी सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग २०७८ माघ २० गते सम्झौता गरेको थियो । उक्त म्यादसमेत गुजारेपछि फेरि पुससम्मका लागि म्याद थपिएको छ ।

थपिएको समयसम्म काम सक्नुपर्नेमा निर्माणस्थलमा ल्याइएको निर्माण सामग्री लिएर भाग्ने प्रयास गरेपछि एक्स्काभेटर र ट्याक्टरहरुमा ताला लगाएर नियन्त्रण लिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाअध्यक्ष दिनेश घिमिरेले बताए । सम्बन्धित निर्माण कम्पनी आएर काम सक्ने वातावरण नबनाइन्जेलसम्म नियन्त्रणमा लिने उनले बताए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका क्षेत्रभित्रका विभिन्न योजनाहरुको ठेक्का लिएर अलपत्र पारिएकाको भन्दै त्यसमा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयहरूले पनि नगरपालिकासँग आक्रोश पोख्दै आएका छन् । स्थानीयले योजना अलपत्र पार्नेलाई तत्काल काम गराउन र नगरे नगर प्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राईलाई नै थुन्ने चेतावनीसमेत दिएका छन् ।

बिहिबार, १५ मंसिर, २०७९, बिहानको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर